जनप्रतिनिधिले ठेक्का लिने होइन – मन्त्री ज्वाला

जनप्रतिनिधिले ठेक्का लिने होइन – मन्त्री ज्वाला

–ज्वाला संदेश–

दैलेख, असोज १२ –
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनप्रतिनिधिहरुले व्यक्तिगत लोभ र मोह त्याग्न आग्रह गर्नुभएको छ । जिसस दैलेखद्धारा आयोजित आ.व. २०७४-०७५ को बार्षिक प्रगति समिक्षा गोष्ठिलाई सम्बोधन गर्नुहुँदै मन्त्री ज्वालाले जनप्रतिनिधिले ठेकेदारी होइन जनताको काम गर्नुपर्ने सुझाव दिनुभयो ।
मन्त्री ज्वालाले डोजर किन्ने र आफ्नै स्थानीय तहका सडक खन्ने ठेक्का लिंदा जनताले पार्टीलाई प्रश्न गरेका र सम्पूर्ण जनप्रतिनिधिहरुलाई दाग लागेको टिप्पणी गर्नुभयो । ‘पार्टी र जनताले गरेको विश्वास खेलवाड गर्न तपाईंहरुलाई छुट छैन’ उहाँले सचेत गराउनुभयो ।


जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा दैलेखका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०७४÷०७५ मा भए गरेका विकास गतिविधि र कार्य प्रगति बारे प्रस्तूती गरेका थिए । प्रस्तुत प्रतिवेदनमा स्थानीय तहको सडक विस्तार पहिलो उपलब्धीको रुपमा राखेका छन् ।
वार्षिक समीक्षा कार्यक्रममा कर्णाली प्रदेशका साँसदहरु अम्मरबहादुर थापा, हिमबहादुर शाही, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौला र नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष पूर्णबहादुर खत्रीले बोल्नुभएको थियो ।
सोहि अबसरमा सूचना शक्ति हो भने सूचनाको पहुँच शसक्तिकरण हो भन्ने नारा सहित सूचनाको विश्वव्यापी पहुँच सम्बन्धि अन्तराष्ट्रिय दिवस २०७५ बारे गैसस महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले जानकारी गराएका थिए । सूचनाको हक सम्बन्धि भएका व्यवस्थाहरुबारे जानकारी दिदै अध्यक्ष खत्रीले जिल्लाका हरेक स्थानीय तहहरुले नागरिकलाई सूचना उपलब्ध गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया