बालबालिकाका खास समस्या पहिचान भएका छैनन्

बालबालिकाका खास समस्या पहिचान भएका छैनन्

दैलेख, असोज १६
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका इकाई प्रमुख खगेन्द्रबहादुर मल्लले बालबालिकाको खास समस्या पहिचान नगरी सञ्चालन गरिएका बृतिविकासका कार्यक्रमहरु परिणाममुखी हुन नसकेका बताएका छन् ।
इन्सेकको इएलपी परियोजना अन्तरगत गठित बालअधिकार चेतना समूहका लागि क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम समापन कार्यक्रममा आज उनले वास्तविक समस्या पहिचान गर्न हुन नसकिएका धारणा राखेका हुन् ।  इकाई प्रमुख मल्लले भोको पेट र अझैं पनि शौचालय समस्याले बालबालिकाहरु कक्षा छोड्ने गरेको, कमजोर विद्यार्थीको सिकाई सुधारका कार्यक्रम प्रभावकारी हुन नसकेका बताए ।
बालबालिकाहरुलाई अधिकारको जानकारी गराउने यस्ता तालिमले अधिकारको सचेतना बढाउन सहयोग पुग्ने उनले आशा व्यक्त गरे ।
त्यस बखत अनौचापरिक क्षेत्र सेवा केन्द्र इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बालअधिकार तालिमले बालबालिकालाई अधिकारप्रति सेचत हुने र कर्तव्य पालनाको दायित्व समेत बोध गराइएको बताए ।
कार्यक्रममा सहजकर्ता युवा जागरण अभियन्ता सजना सुनारले विद्यार्थीहरुलाई यस्ता तालिम र अतिरिक्त क्रियाकलापले औपचारिक शिक्षा प्राप्तीमा समेत विवेचनात्मक तारिकाबाट बुझ्न सक्ने क्षमताको विकास हुने बताउनुभयो ।
त्यस क्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने ‘इएलपी परियोजना’का जिल्ला सहजकर्ता उदय थापाले परियोजनाले पैरवी गर्ने शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षा विषयसंगै बालअधिकार प्रवद्र्धनमा इन्सेकले गरेका काम बारे प्रकाश पारेका थिए ।
त्यसैगरी त्रिबेणी संगम मावि चुप्राका शिक्षक रामप्रसाद यादवले तालिमका विषय बस्तु, सहजकर्ताको बुझाउने सीप र प्रस्तूतीले तालिमले बालबालिकालाई जीवन उपयोगी सीप विकास गराएको बिश्लेषण गरेका थिए ।
रेडक्रस बालअधिकार चेतना समूहका अध्यक्ष विपना रेग्मीको अध्यक्षतामा तालिम समापन कार्यक्रम भएको थियो ।
इन्सेकले सञ्चालन गरेको इएलपी परियोजना अन्तर्गत गठित सरस्वती मावि तर्ताङ्ग, देवीस्थान आवि डुंगेश्वर, त्रिवेणी संगम मावि चुप्रा र रेडक्रस मावि भूर्तीका बालअधिकार चेतना समूहका २४, युवा समूहका २ र शिक्षक ४ समेत गरी २१ महिला र ९ जना पुरुषहरुको सहभागिता थियो ।
बालअधिकार अवधारणा, बालमैत्री विद्यालय तथा दण्डरहित शिक्षा, बाल न्याय र बाल मनोविज्ञान, बालअधिकार प्रवद्र्धनमा स्थानीय तहको भूमिका, बालअधिकार चेतना समूह सञ्चालन व्यवस्थापन लगायतका विषयमा अभिमुखीकरण गराइएको बताइएको छ ।

प्रतिक्रिया