दैलेखमा केन्द्रविन्दु बनाएर लगातार भूकम्पको धक्का

दैलेखमा केन्द्रविन्दु बनाएर लगातार भूकम्पको धक्का

दैलेख : जिल्लाको नारायण नगरपालिका १० भवानीलाई केन्द्रबिन्दु बनाएर शुक्रबारबाट  लगातार दैलेखमा भूकम्पको धक्का महसुस भइरहेको छ। जिल्ला सदरमुकाम दैलेखदेखि १४ किलोमिटर टाढा पर्ने भवानी वडालाई केन्द्र बनाएर लगातार भूकम्प जान थलेपछि सदरमुकामका बासिन्दाहरु चिन्तित हुन थालेका छन्।

शुक्रबार दिउँसो ११ बजेर ५५ मिनेट जाँदा पहिलो धक्का महसुस भएको थियो १२ बजेर ५३ मिनेट जाँदा ४ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिए। पुनः १ बजे र ३ बजे सानो धक्का महसुस भए पनि शुक्रबार राती ९ बजेर ४५ मिनेटमा ३.७ रेक्टरको भूकम्पको धक्का महसुस भएको थियो।

शुक्रबार साँझ पुनः भूकम्प जानसक्ने भन्दै स्थानीयहरु राती १ बजेसम्म सडकबाहिर बसेका थिए। शनिबार बिहान पुनः १० बजेर ५३ मिनेट जाँदा शुक्रबारभन्दा ठूलो ४.३ रिक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ। शुक्रबारको धक्काभन्दा शनिबारको धक्का ठूलो आएपछि सदरमुकामका बासिन्दाहरुमा झनै त्रास उत्पन्न भएको छ। लगातार भूकम्प जान थालेपछि स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया