पर्यटन तथा कृषिमा लगानी र लगनशीलता आवश्यक

दैलेख, कात्तिक १३ –
प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले राइलीको पर्यटन प्रवद्र्धन र कृषिमा आधुनिकीकरणका लागि नगरपालिकाको लगानी र स्थानीयको लगनशीलताले बिन्ध्यवासिनीको विकास सम्भावना रहेको बताउनुभएको छ ।
नारायण नगरपालिका–११ आयोजनामा आज बिन्ध्यवासिनीमा भएको तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर, प्रदेश र केन्द्र सरकारको बजेट व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नारायण नगरपालिका वडा नं. ३ का वडासदस्य हर्कबहादुर नेपालीले बिन्ध्यवासिनीको विकासका लागि नारायण नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।
त्यसैगरी निजामती कर्मचारीहरुको ट्रेड यूनियनका जिल्ला अध्यक्ष भीमबहादुर बिष्टले योजना तर्जुमा कार्यक्रम वा बैठकहरुमा श्रोत खोज्ने कुरा नारायण नगरपालिका वडा नंं. ११ को बिन्ध्यवासिनीलाई बजेट कार्यक्रम जुटाउने आफू पनि लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रेस संगठनका केन्द्रीय सदस्य गोबिन्ददेव भारतीले विकासको निम्ति राजनीतिक समझदारी आवश्यक रहेको बताउनुभयो । नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष तीर्थबहादुर जीसीले निर्वाचित जनप्रतिनिधिहरु निष्पक्ष भएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नारायण नगरपालिकाका कार्यपालिका सदस्य मनकुमारी सुनार, नेकपाका दानबहादुर महतारा, नेपाली काँग्रेसका दीर्घबहादुर मल्ल, राप्रपाका बिक्रम शाही, महिला सशक्तिकरण मञ्चका पूर्व अध्यक्ष डिलकुमारी चन्द लगायतले तिहार र छठ पर्वको शुभकामना दिनुभएको थियो ।
नारायण नगरपालिका–११ को वडाध्यक्ष टंकबहादुर बिष्टको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय पाकापुर्खाहरुले पैंचेरी नाँच प्रस्तूत गरेका थिए । त्यस बखत वडा नं. ११ ले गतवर्ष सञ्चालन भएको विकास गतिविधि र चालु आर्थिक वर्षमा सञ्चालन गर्न लागिएका कार्यक्रम बारे जानकारी गराइएको थियो ।
प्रतिक्रिया