गाउँपुगेका सांसदलाई स्वागतसंगै गुनासो

गाउँपुगेका सांसदलाई स्वागतसंगै गुनासो

क्याप्सन – दैलेखको गुराँस गाउँपालिकाका जेष्ठ नागरिकसंग भेटघाट गर्नुहुँदै प्रतिनीधि सभा र प्रदेशसभा सांसद ।

हिक्मत नेपाली
दैलेख– प्रतिनीधिसभा सदस्य रविन्द्रराज शर्मा यतिखेर दैलेखका विभिन्न गाउँहरुमा पुगिरहेका छन् । उनिसंगै प्रतिनीधिसभा सदस्य पार्वती कुमारी विशुन्के र कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मी गाउँ अभियानकै क्रममा छिन् । जिल्ला आएको समयमा गाउँ गाउँमा पुगेका सांसदलाई स्थानीयले भव्य स्वागत पनि गर्छन् । गुरासँ गाउँपालिकाको धरमपोखरामा पुगेका प्रतिनीधिसभाका सांसद रविन्द्रराज शर्मा, पार्वती कुमारी विशुन्के र कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीलाई फुलमाला सहित स्थानीयले भव्य स्वागत गरे, त्यसपछि सुरु भयो स्थानीयको आक्रोस र गुनासोहरु ।

स्वागत पछि स्थानीय नरविर केसीले सोधे ‘हाम्रो गाउँमा खानेपानीको समस्या कहिले टर्छ ?’ निर्वाचन अघि बृद्धभत्ता बढाउने आश्वासन दिनुभएको थियो, बृद्धभत्ता कहिले बढाउनुहुन्छ ? गुरासँ गाउँपालिकाको धरमपोखरा क्षेत्रमा अहिले पनि खानेपानीको समस्या छ । बस्ती भन्दा तल रहेको मुहानबाट पानी तानेर खान स्थानीय बाध्य छन् । उनि जस्तै स्थानीय नन्द विसीले सोधे ‘केन्द्रिय प्रशारण लाइनको बिजुली हामीले कहिले देखी बाल्न पाउँछौ ?’गुराँस गाउँपालिका लगाएत दैलेखका धेरै जसो क्षेत्रमा विद्युतको प्रशारण लाइन अहिले सम्म पुगेको छैन् । विद्युत नपुगेको क्षेत्रका स्थानीय बासिन्दा धिपधिपे उज्यालोमा बस्न बाध्य छन् । धेरैजसो ठाउँमा सोलार पुगेपनि घाम लागेको दिन मात्रै बल्छ, अरु दिन अध्यारोमा बस्न बाध्य छौ, नन्द विसीले भने ।
निर्वाचनको एक बर्ष पछि गाउँ फर्कीएका सांसद समक्ष स्थानीयले खानेपानी अभाव, बेरोजगारी समस्या, स्वास्थ्यमा लापरबाही भएका गुनासोहरु गरे । त्यस्तै गाउँमै प्राविधिक शिक्षा पढाईको पहल गर्नुपर्ने माग उनिहरुको छ । स्थानीयले पहिरोको जोखिममा रहेका स्थानमा तटबन्ध निर्माण, सडकको स्तरोन्ती हुनुपर्ने माग गरे । दैलेखका नगरपालिका र गाउँपालिकामा बहुमत र अल्ममतको आधारमा योजना तथा बजेट बिनियोजन गर्ने गरिएको भन्दै त्यस्तो प्रवृतिलाई रोक्न केन्द्र र प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरेका छन् ।
कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले मुलुक समृद्ध बनाउने अभियानमा सम्पूर्ण नागरिकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले कर्णाली प्रदेश सरकारले दैलेख जिल्लामा यस बर्ष संचालन हुने योजना र विनियोजित बजेट बारे स्थानीय नागरिकहरुलाई जानकारी गराउनुभयो । सांसद रेग्मीले प्रदेश सरकारले दैलेख क्षेत्र नं. १ (क) मा मात्रै करिब ३० करोड बराबरको बजेट बिनियोजन भएको बताउनुभयो । प्रतिनीधि सभा सांसद पार्वती कुमारी विशुन्केले दलित, महिला, बालबालिका, जेष्ठ नागरिक, पिछडावर्गको अधिकार संरक्षण गरि सामाजिक रुपान्तरणका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्माले निर्वाचन अघि गरेका बाचा पुरा गर्न र जनताका समस्या तथा गुनासोहरु सुन्न गाउँ—गाउँ पुगेको बताउनुभयो । ‘स्थानीय नागरिकको माग पुरा गर्न प्रतिबद्ध छौ, उहाँले भन्नुभयो,सबै माग एकैपटक पुरा गर्न नसकेपनि प्राथमिकतामा आधारमा मागहरु पुरा गर्दै जानेछौ ।’

जिल्लाको विकासका लागि आफुहरु दत्तचित्त भएर लागिपरेको बताउदै सांसद शर्माले आगामी बर्षको बजेटमा सामाजिक सुरक्षाभत्ता बृद्धि हुनेमा ढुक्क रहन जेष्ठ नागरिकहरुलाई आग्रह गर्नुभयो । अहिलेको सरकारले जनमतको कदर गरेको भन्दै सांसद शर्माले कर्णाली राजमार्गको स्तरोन्नती, पञ्चकोशी मानवनिर्मित ताल निर्माण गर्ने लक्ष आफुहरुले लिएको बताउनुभयो । उहाँले दैलेखमा २८ जातको खुला संग्रालय बनाउने, पंचकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन् र प्राविधिक शिक्षा संचालन गर्न पहल थालेको बताउनभयो । ‘जनताको सुझावले निर्वाचित जनप्रतिनीधिहरुलाई उत्साह थपेको छ, समृद्ध मुलुक बनाउने पहिलो खुड्किलो सामाजिक रुपान्तरण हो, सांसद शर्माले भन्नुभयो ।’

प्रतिक्रिया