खुला दिसामुक्त घोषणामै सिमित

खुला दिसामुक्त घोषणामै सिमित

 दैलेख जिल्लाभर १७ सय घरधुरीमा शौचालय सुविधा समेत छैैन् । भएका शौचालय समेत प्रयोग बिहिन हुँदै गएका छन् ।

क्याप्सन – दैलेखको पुर्वमा पर्ने भगवतीमाई गाउँपालिका ६ बाहुन गाउँमा खरले बारेर निर्माण गरिएको अस्थायी शौचालय । तस्विरः हिक्मत नेपाली

दैलेख कात्तिक २६ ।
तिन बर्ष अघि दैलेखलाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो । २०७२ असार ७ गते निकै तामझामका साथ गरिएको खुला दिसामुक्त घोषणामै सिमित भएको छ । २०६८ को जनगणना अनुसार जिल्लाभर कुल ४८ हजार ९ सय १९ घरधुरी मध्ये ४८ हजार ६ सय ९० घरधुरीमा पक्की र १ सय ५५ घरधुरीमा कच्ची शौचालय निर्माण भएको भन्दै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । ८४ वटा साझा, ५ सय ८२ संस्थागत र १३ वटा सार्वजनिक शौचालय बनेको तथ्यांक सार्वजनिक गरि खुलादिसामुक्त घोषणा भएको दैलेखमा अनुगमनको पाटो शुन्य भएको छ ।

जिल्ला समन्वय समिति दैलेखले गत बर्ष गरेको सर्वेक्षण अनुसार जिल्लाभर १७ सय ३४ घरधुरीमा शौचालय सुविधा समेत छैनन् भने भएका शौचालय समेत प्रयोग विहिन बन्दै गएका छन् ।जिल्लाका ग्रामिण क्षेत्रका अधिकांश घरधुरमिा शौचालय सुविधा समेत छैन् ।सरकारले लिएको लक्ष पुरा गर्नका लागि जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा स्वास्थ्य तथा सरसफाईका कार्यक्रमहरु संचालन गरिएको थियो । नेपाल सरकारले सन २०१७ सम्म नेपाललाई खुला दिसामुक्त बनाउने लक्षलाई पच्छ्याउदै दैलेखले पनि खुला दिसामुक्त जिल्ला बनाउने अभियान चलाएको थियो ।

सन २०१४ भित्र खुला दिसामुक्त जिल्ला गर्ने लक्ष लिएर संचालन गरिएको अभियानले एक बर्ष पछि अन्तिम रुप लिएको थियो । खुला दिसामुक्त जिल्ला घोषणा हुनुपुर्व बनाइएका शौचालय समेत स्थानीयले प्रयोग गर्न छाडेका छन् ।जिल्लामा सबैभन्दा अगाडी खुला दिसामुक्त घोषणा गरिएको तत्कालिन लाँकुरी गाविसको हातल पनि उस्तै छ । सरसफाईको निगरानी राख्ने जिल्लाको सरकारी निकाय खानेपानी तथा सरसफाई डिभिजन कार्यालय खारेज भइसकेको छ । ग्रामिण क्षेत्रमा शौचालय भए नभएको बारे अनुगमन गर्ने निकाय नहुँदा सदरमुकाम वरिपरी संगै अधिकांस गाउँमा जथाभावी खुला शौच हुने गरेको नारायण नगरपालिकाका युवा विनोद खड्काले बताउनुभयो । सरकारी तथा गैरसरकारी संघ संस्थाको बजेट खेर गएको उहाँको भनाई छ ।

‘त्यतिबेला गाउँमा एउटा पनि सार्वजनिक शौचालय बनाइएन्, सदरमुकामकै सार्वजनिक शौचलय पनि अपायक पर्ने ठाउँमा छ, कुनै काम लिएर जिल्ला सदरमुकाम आएको कुनै एक नागरिक शौच गर्नकै लागि कुनै होटलमा खाना वा खाजा खाएमात्र शौचालय गर्न पाउँछ, खड्काले भन्नुभयो ।’ जिल्ला सदरमुकाममा बनेका सार्वजनिक शौचालयहरु पनि अपायक स्थानमा बनाएका कारण निर्माण भएदेखि प्रयोगमा छैन् भने सदररमुकामकै सार्वजनिक स्थलहरु खुला शौचका कारण दुर्गन्धित हुँदै गएको छ । स्थानीय सरकारको रुपमा रहेका गाउँपालिका र नगरपालिकाले सरसफाईका स्पष्ट कार्यक्रम संचालन गर्न सकेका छैनन् ।

नागरिक अगुवा लक्ष्मी विकका अनुसार अधिकांश बस्तीका शौचालय प्रयोग विहिन भएका छन् । उनले स्थानीय बासिन्दाको बानी व्यवहारमा परिवर्तन नआउदा अधिकांंश बस्तीहरु खुला शौचमय बनेको जनाए । स्थानीय तह मार्फत सरसफाई प्रवद्र्धनका कार्यक्रमहरु संचालन गर्न जरुरी रहेको उहाँको भनाई छ । जिल्लाका गाउँपालिका र नगरपालिकाको केन्द्रमा समेत सार्वजनिक शौचालय बन्न सकेको छैन् ।  खुला दिसामुक्त जिल्ला घोषणाका लागि भएको अभियानमा शौचालय निर्माणले तिब्रता पाएको थियो । अधिकांश स्थानमा सरकारी तथा गैससको अनुदानमा शौचालय निर्माण पनि भए ।

आर्थीक अवस्था कमजोर भएका घरपरिवारलाई पेनसिट, बालुवा, सिमेन्ट लगाएतका निर्माण सामग्री दिएर निर्माण गरिएका शौचालयहरु अहिले प्रयोग विहिन हुँदै गएका छन् । खुला दिसामुक्त अभियानमा तत्कालिन गाविसहरुले १ देखि ५ लाख सम्म खर्च गरेका थिए । कतिपय स्थानमा पानीको समस्या भएका कारण पनि शौचालयहरु प्रयोग विहिन भएपनि सुधार हुँदै गएको गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले बताउनुभयो । तीन बर्ष अघि गरिएको खुला दिसामुक्त घोषणा हात्तिको देखाउने दाँत जस्तै भएको छ ।

 

प्रतिक्रिया