एकताबद्ध नभएसम्म स्वतन्त्ररुपमा पत्रकारिता गर्न सकिदैन् – महासचिव विष्ट

एकताबद्ध नभएसम्म स्वतन्त्ररुपमा  पत्रकारिता गर्न सकिदैन् – महासचिव विष्ट


दैलेख कात्तिक २८ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले पत्रकारहरुलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दैलेखद्धारा आयोजित “नागरिकको नजरमा संचारमाध्ययम” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै महासचिव विष्टले यस्तो बताउनुभएको हो । व्यवसायिक पत्रकारितामा लागेका पत्रकारहरु एकताबद्ध नभएसम्म स्वतन्त्र रुपमा पत्रकारिता गर्न सकिदैन्, महासचिव विष्टले भन्नुभयो, “विभिन्न विचारमा आस्था राखे पनि पत्रकारहरु आफ्नो पेशागत सुरक्षा र हक अधिकारका लागि एक भएर अगाडि बढ्नुपर्छ ।”
नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै महासचिव विष्टले प्रेस स्वतन्त्रता अझै पनि खतरामा रहेको औल्याउनुभयो । पत्रकारिताको स्वतन्त्रताका संगै पेशागत सुरक्षा र हक अधिकारका लागि मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघ सम्मिलित संयन्त्र गठन हुन लागेको उहाँले जानकारी .दिनुभयो । उहाँले पत्रकारहरुलाई कसैको दवावमा नपरेर सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । संचारमाध्ययमको सुद्धिकरण गर्न नेपाल पत्रकार महासंघले देशव्यापी रुपमा नागरिकको नजरमा संचारमाध्ययमको अभियान थालेको महासचिव विष्टको भनाई थियो ।
कार्यक्रममा सहभागि प्रतिनीधि सभा सदस्य, स्थानीय तहका प्रमुख, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, नागरिक समाजले पत्रकारहरुलाई जिम्मेवार बन्न समेत सुझाव दिएका छन् । प्रतिनीधि सभा सदस्य राज बहादुर बुढाले पेशागत मर्यादालाई ख्याल गरेर मुलुक समृद्ध बनाउने महान अभियानमा लाग्न सुझाव दिनुभयो । प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले दैलेख जिल्लाका पत्रकारहरुले गरेको योगदानको स्मरण गर्दै पत्रकाहरुलाई सरकारले दिने सेवा सुविधामा दैलेखका पत्रकारहरुलाई उपलब्ध गराउन पत्रकार महासंघ केन्द्रिय समितिले विशेष पहल गर्नु आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले जिल्लाको संचार क्षेत्रलाई संस्थागत रुपमा विकास गरेर पत्रकाहरुले सेवामुलक भावना लिएर पत्रकारिता गर्न सुझाव दिनुभयो । नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले राष्ट्र निर्माणमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै पत्रकारहरु इमान्दार हुनुपर्ने औल्याउनुभयो । अहिलेका तीन वटै तहका सरकारले गरेका कमीकमजोरीलाई औल्याइदिएर सचेत बनाउने अभिभारा संचारमाध्ययमको रहेको नगर प्रमुख खड्काको भनाई छ ।
भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले जिल्लाको संचार क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले भष्ट्राचार, सामाजिक रुपमा रहेका कुरिति र कु–संस्कार विरुद्ध कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले समाजको पहरेदार बन्न पत्रकारहरुलाई सुझाव दिनुभयो । भष्ट्रचार, विकृती र विसंगती विरुद्ध पत्रकारहरु शसक्त हुनुपर्ने बताउदै प्रजिअ बासकोटाले संचार माध्ययमहरुमा भइरहेको हुबहु प्रवृती रोक्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी दैलेखका सभापति खेमराज केसीले सामाजिक संजालले संचार माध्ययमलाई समस्यामा पारेको बताउदै सामाजिक संजालमा देखिएको उच्छृंखल प्रवृतिलाई सरकारलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश कुृमार हमालले पत्रकारहरुलाई पुर्वाग्राही नहुन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष कृष्ण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रनिधी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, जिल्ला स्थित पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया