प्राथमिकतामा सडक र प्राविधिक शिक्षा

प्राथमिकतामा सडक र प्राविधिक शिक्षा


दैलेख कात्तिक २८ ।
दैलेख निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनीधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखहरुले सडक विस्तार र प्राविधिक शिक्षालाई प्राथमिकता दिएका छन् । आर्थीक बर्ष २०७५/०७६ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत यस क्षेत्रमा सडक विस्तार र प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको हो । दैलेख क्षेत्र नं. २ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगर्तको कार्यक्रम परामर्श समितिका संयोजक प्रतिनीधिसभा सदस्य राज बहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले सडक र प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छ । प्रतिनीधि सभा सदस्य राज बहादुर बुढाले क्षेत्र नं. २ को पाँच वटा स्थानीय तहमा सडक विस्तारका लागि २ करोड ९३ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको बताउनुभयो ।
कर्णाली राजमार्गसंगै जोडिएको तल्लोडुङ्गेश्वर बजार देखि खर्चेगैरा दुल्लु नगरपालिकाको वडा नं. १३ हुँदै बैंक सडक बिस्तारका लागि ४० लाख, भैरवी गाउँपालिकाको कालगौडा सडक स्तरोन्तीका लागि ६० लाख, गाडाजिउला, बुढेली हाडाकोट मटेला हुँदै रामघाट जोड्ने सडकका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको प्रतिनीधिसभा सदस्य बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार ठाँटीकाँध पाचाला आग्र सडक खण्डमा ७५ लाख, भित्रिखोला पिपलकोट वडा कार्यालयसम्म सडक विस्तार ४३ लाख, मटेला कोसेडी प्याडुली सडक विस्तारका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरि प्राविधिक शिक्षा संचालन गरेका विद्यालयमा प्रयोगशाला भवन निर्माण, विद्यालयको मैदान निर्माण लगाएतका क्षेत्रमा १ करोड ५ लाख रकम बिनियोजन गरिएको छ । प्रतिनीधि सभा सदस्य बुढाका अनुसार चामुण्डामावी हाडाकोट प्रयोगशाला भवन निर्माणका लागि २५ लाख, आदर्श मावी घुम्नेखालीमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै कालिका मावी तिलेपाटा २५ लाख, दुल्लु नगरपालिकाको नेरा आधारभुत विद्यालयमा २० लाख र पञ्चकोशी ज्वाला मावीको मैदान निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । “स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको कुल ४ करोड बजेटमा ३ करोड ९८ लाख रुपैयाँ सडक र शिक्षाको क्षेत्रमा विनियोजन गरिएको हो, बाँकी २ लाख रुपैयाँ प्रशासनिक खर्च रहेको, प्रतिनीधि सभा सदस्य बुढाले भन्नुभयो ।”
क्षेत्र नं. २ का पाँच स्थानीय तह र कर्णाली प्रदेश सरकारले समेत विभिन्न सडक विस्तार र स्तरोन्तीका लागि बजेट विनियोजन गरेको बताउदै प्रतिनीधिसभा सदस्य बुढाले एउटै सडकमा दोहोरा बजेट नपर्ने गरि बजेट विनियोजन गरिएको बताउनुभयो । विनियोजित बजेट र योजना जुन स्थानीय तहमा परेको छ सोहि स्थानीय तह मार्फत योजना संचालन हुने उहाँको भनाई छ । आफुले प्रत्यक्ष निगरानी गरेर परिणाम देखिने गरि योजना सम्पन्न गर्ने बुढा बताउनुभयो । यस क्षेत्रमा तीन नगरपालिका र २ गाउँपालिका रहेका छन् । जसमा दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, आठवीस नगरपालिका, भैरवी गाउँपालिका र ठाटीकाँध गाउँपालिका पर्दछन् ।

प्रतिक्रिया