छोरीको न्यायका लागि धर्ना बसेका निर्मलाका आमाबुवा बिरामी

छोरीको न्यायका लागि धर्ना बसेका निर्मलाका आमाबुवा बिरामी

महेन्द्रनगर ।
छोरीका निम्ति न्यायको खोजी गर्दै २५ कार्तिक देखि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मला पन्तका आमाबुवा बिरामी परेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्धार अगाडि अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका आमाबुवा चिसोका कारण बिरामी परेका हुन् ।

बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले धर्ना स्थलमै निर्मलाका बावु यज्ञराज, आमाहरु दुर्गादेवी र लक्ष्मीको स्वास्थ्य परीक्षण गरेका थिए । उनिहरुको रक्तचापमा कमी आएको महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले बताए । उनका अनुसार निर्मलाकी आमाको ब्लड प्रेसर कम र कान्छि आमाको बढि भएको देखिएको छ ।

खाना कम खाने, चिसोमा धर्ना बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकको भनाई छ । निर्मलाका बुबाआमाको दिसा–पिसाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । सडक किनारमा रातभर धर्नामा बस्दा लामखुट्टे लगायत झिंगाको टोकाइले पनि भाइरल ज्वरो लगायत समस्या देखिएको हुनसक्ने चिकित्सकले बताएका छन् ।

साढे तीन अघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२, की १३ बर्षीय निर्मला पन्तको न्यायको माग गर्दै ५ दिनयता देखि उनको परिवार अनिश्चितकालिन धर्नामा बसेको छ । तत्काल वास्तविक हत्यारा सार्वजनिक नगरिए आमरण अनसन बस्ने उनिहरु चेतावनी दिदै आएका छन् ।

स्वास्थ्य अवस्थाबारे जानकारी
निर्मलाको निम्ति न्यायको माग गर्दै अनिश्चितकालिन धर्नामा बसेका उनका आमाबुवाको स्वास्थ्य अवस्था बिग्रदै गएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुवेर कडायतले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिहिवार धर्नास्थल पुगेर उनिहरुले निर्मलाका आमाबुवाको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन । स्वास्थ्य अवस्था बुझ्दै उनीहरुले थप उपचारका लागि प्रशासन र सुरक्षा निकायका तर्फबाट सहयोग गर्ने बताए ।

गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना घटेको साढे तीन महिना भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । डिएनए परिक्षणका लागि थप ४ जनाको संकलन गरिएको रिपोर्ट आइसकेको छ । शुक्रबार मात्रै रिपोर्टको बारेमा जानकारी हुने एसपी कुवेर कडायतले बताए ।

प्रतिक्रिया