निर्मला बलात्कार तथा हत्या प्रकरण : थप चार जनाको डिएनए मिलेन

निर्मला बलात्कार तथा हत्या प्रकरण : थप चार जनाको डिएनए मिलेन

कञ्चनपुर– निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा शंकास्पद चार जनाको पछिल्लो डिएनए परीक्षण म्याच नभएको कञ्चनपुर प्रहरीले जनाएको छ । ‘पछिल्लो पटक शंकास्पद चार जनाको डिएनए परीक्षण रिर्पोट नेगेटिभ आयो, अनुसन्धान जारी नै छ आवश्यक्ता अनुसार अरुको पनि परीक्षणका लागि पठाउन सकिन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।

शंकास्पद चारजनाको रगत संकलन गरि कार्तिक दोस्रो साता विधिविज्ञान प्रयोगशाला पठाएको र आज जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएपनि त्यो म्याच नभएको प्रहरी नायव उपरिक्षक ओझाले जानकारी दिए । प्रहरीले उनीहरुको नाम भने खुलाउन चाहेन ।

यसअघि दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गराएको थियो । ती सवै रिपोर्ट नेगेटिभ थिए । १० गते साथी रोशनी वमको घरमा निस्किएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

निर्मलाको परिवारको स्वास्थ्य बिग्रँदै

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म न्याय नपाएको भन्दै धर्नामा बसेका निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । गत ६ दिनदेखि जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको हो । पीडित परिवारमा रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएपछि बिहीबार स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्दा उनीहरुको स्वस्थ्य बिग्रदै गएको पाइएको महाकाली अञ्चल अस्पतालका डा। किशोर बोहराले बताए । निर्मलाका बाबु यज्ञराजको रक्तचाप घटेर ६७ पुगेको छ ।

प्रतिक्रिया