शिक्षाका लागि विश्व अभियानको छैठौँ सम्मेलनको शुरु 

शिक्षाका लागि विश्व अभियानको छैठौँ सम्मेलनको शुरु 

विश्वभरका एक सय भन्दा बढी देशवाट ३०० भन्दा बढी नागरिक समाज तथा शिक्षा अधिकारकर्मीहरुले संयुक्त रुपमा शिक्षाका लागि विश्व अभियानको छैठौँ विश्व सम्मेलनमा “न्याय, समानता र समावेशीताको लागि सार्वजनिक शिक्षा पद्दतिको रुपान्तरण“ भन्ने नारामा प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रमकी प्रमुख वक्ता संयुक्त राष्ट्रसंघकी उपमहासचिव महामहिम अमिना मोहम्मदले सार्वजनिक शिक्षा विश्वव्यापी रुपमा जोखिममा पर्दै गएको दर्शाउँदै शिक्षाको रुपान्तरण गर्न स्थानिय तहमा कार्यरत अधिकारकर्मी तथा सरकार संयुक्त रुपमा लागि पर्नुपर्ने कुरा बताउनुभयो । दिगो विकास लक्ष्य ४ र सन् २०३० सम्मको शिक्षा कार्यान्वयनको तीन वर्ष वितिसक्दा शिक्षामा पहुँच वृद्धि तथा लैङ्गिक विभेद कम भएको छ । तर विद्यालयमा भर्ना भएका लाखौँ वालवालिकाको शिक्षाको गुणस्तर अझैपनि जोखिममा छ । आजको शिक्षाले अविभावक तथा समाजको आशा पूर्ति गर्ननसकेको तथ्य उजागर गर्दै उहाँले सार्वजनिक शिक्षाको रुपान्तरणका निमित्त सम्पूर्ण युवा समुदाय जगरुक रुपमा लागि पर्नुपर्ने कुरा दर्शाउँनुभयो ।

शिक्षा, ज्ञान तथा संस्कृति नै नेपालको परिचय रहेको बताउँदै नेपालमा यस विश्व सम्मेलनको आयोजना हुनु गर्वको विषय रहेको कुरा माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दर्शाउनुभयो । नेपालमा विगत १० वर्षमा धेरै वालवालिका विद्यालयमा आएको र शिक्षाका केही सुचाङ्कहरुमा प्रगति गरेको भएपनि वालवालिकाहरु यौन दुव्र्यवहार, वलत्कार तथा अन्य जोखिमहरुको शिकार वन्न पुगेको तथ्याङ्क बढ्दो क्रममा छ । शिक्षाले समाजमा सभ्यता र शान्ति ल्याउनुपर्नेमा यस किसिमका घटनाहरुले शिक्षाले निर्माण गरिरहेको नैतिक मूल्यमा नै प्रश्न चिन्ह खडा गरेको छ । तसर्थ यस्ता गहन विषयहरुलाई समेत यस तीन दिनको विश्वव्यापी सम्मेलनमा प्रमुख विषयको रुपमा छलफल गरी नेपाललाई मार्गदर्शन गर्न आग्रह समेत गर्नुभयो ।

शिक्षाका लागि विश्वव्यापी अभियानकी अध्यक्ष क्यामिला क्रोसोले आजको युगमा, विश्वलाई शिक्षाले नै परिवर्तन गर्नसक्ने र यसका निमित्त सवैले रचनात्मक, अर्थपूर्ण र प्रभावकारी कार्य गरेमा मात्र सवैका निमित्त मर्यादित र सभ्य समाज निर्माण निर्माण गर्नसकिने कुरा बताउँदै यस नविन कार्यका लागि यस विश्व सम्मेलनले कोशेढुङ्गाको रुपमा रहने बताउनुभयो ।

शिक्षामा रहेको लैङ्कि विभेदलाई सम्वोधन गर्दै संयुक्त राष्ट्रसंघ वालिका शिक्षा अभियान (UNGI) की निर्देशक नोरा फ्लाइसले वालिका शिक्षाले वालिकाको जीवनमात्र नभएर उनीहरुको परिवारको, समाजको र सम्पूर्ण विश्वकै स्वरुप परिवर्तन गर्ने तथ्य उजागर गर्दै शिक्षामा गुणस्तरता ल्याउनका निमित्त शिक्षा प्राप्त गर्ने पद्दतीको र समग्र शिक्षा प्रणालीको परिवर्तन गर्न आवश्यक रहेको वताउनुभयो ।

कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै एनसिई नेपालका अध्यक्ष कुमार भट्टराईले शिक्षामा कुशल रुपमा आन्तरिक श्रोत परिचालन गरी पर्याप्त लगानी सुनिश्चित गर्न सरकार, शिक्षा अधिकारकर्मी, नीति निर्माताहरु, राजनीतिक दल तथा समग्र शिक्षा सरोकारवालाहरुको ध्यानाकर्षण गर्नुभयो । सुदृढ सार्वजनिक शिक्षा विना लोकतन्त्रको मर्म साकार नहुने वताउँदै उहाँले सार्वजनिक शिक्षाको रुपान्तरण गर्दै समाजमा समानता, समावेशिता र न्याय सुनिश्चित गर्न एनसिई नेपाल सदैव प्रतिवद्ध रहेको वताउनुभयो ।

गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली विना न्याय र समानता स्थापित नहुने बताउँदै शिक्षामा नीजिकरणलाई बढावा दिँदा लोकतन्त्र खतरामा पर्ने कुरा सम्पूर्ण महादेशवाट प्रतिनिधित्व गर्ने शिक्षाविद् तथा अधिकारकर्मी हरुले बताउनुभयो । उहाँहरुले नेपाल सरकारले अन्तराष्ट्रिय मञ्चमा जनाएका प्रतिवद्धता अनुसार शिक्षामा लगानी र गुणस्तर बढाउन आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया