कच्चा पदार्थ पाउनै मुस्किल

कच्चा पदार्थ पाउनै मुस्किल


दैलेख मंसिर ५ ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा बोइलर कुखुराको लागि दाना उत्पादन मिल संचालनमा आएको ६ महिना बित्यो । चामुण्डाविन्द्रासैनी नगरपालिका र यहाँको एक गैससको आर्थीक सहयोगमा संचालित दाना मिलले हाल सम्म ५ क्विन्टल भन्दा बढि दाना उत्पादन गरिसकेको छ । तर स्थानीय स्तरमै कच्चा पदार्थ पाउनै मुस्किल हुने गरेको मिल संचालक समिति बताउँछन् ।

स्थानीय चाल्ने चौतारामा संचालित ज्वाला दाना मिल उद्योगमा स्थानीय कच्चा पदार्थ मात्रै नभई बिद्युतको समस्या पनि उस्तै छ । १८ देखि २२ बर्ष उमेर समुहका युवायुवतीले संचालन गरेको उक्त दाना मिलमा बिद्युत सेवा नपुगेका कारण डिजेलबाट संचालन भइरहेको छ ।संचालक समितिका अनुसार दाना मिलमा चाहिने धरैजसो कच्चा पदार्थ बाह्य जिल्लाबाट खरिद गर्नुपर्ने बाध्यता छ ।
विकट क्षेत्र भएका कारण कच्चा पदार्थ ढुवानीका लागि समस्या हुने गरेको संचालन समितिका अध्यक्ष ज्ञावलीले बताउनुभयो । मिल संचालनका लागि बिद्युत सेवा नहुनु, आधा भन्दा बढी कच्चा पदार्थ बाहिर बाट ल्याउनु पर्ने जस्ता समस्याले चुनौती थपेको संचालक समितिको बुझाई छ । संचालक समितिले बोइलर पालनका लागि नगर भित्र बाहिर बाह्य जिल्लाबाट ल्याइने दानामा प्रतिबन्ध लगाउनुपर्ने माग समेत राखेको छ ।

करिब ४ लाख बराबरको तीन वटा मेसिन खरिद गरेर संचालनमा ल्याइएको दाना मिल झण्डै १५ लाख बराबर लागत रहेको संचालन समितिका अध्यक्ष चन्द्रा ज्ञावलीले जानकारी दिनुभयो । सुलभ दररेटमा दाना स्थानीयलाई उपलब्ध गराई स्थानीय स्तरमै विपन्न युवाहरुलाई रोजगारी सृजना गर्ने लक्ष सहित दाना मिल संचालनमा ल्याइएको हो ।

दाना मिलमा उत्पादन बढाएर बंगुर, गिरीराज जातको कुखुराको दाना उत्पादन गर्ने लक्ष लिइएको संचालन समितिका अध्यक्ष ज्ञावलीको भनाई छ । चामुण्डानगर भित्र मात्रै मासिक करिब २० हजार बोइलरका लागि दाना माग हुँदै आएको छ ।

प्रतिक्रिया