बाल विवाह र छाउपडी विरुद्ध प्रहरीको घरदैलो

बाल विवाह र छाउपडी  विरुद्ध प्रहरीको घरदैलो

 
दैलेख मंसिर ५ ।
दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिकाको वडा नं. २ सिगौडीमा बाल विवाह र छाउपडी प्रथा विरुद्ध प्रहरीले घरदैलो अभियान चलाएको छ । प्रहरीले घरदैलो संगै विद्यालयमा पनि समेचतनामुलक कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यालय राकमकर्णालीले बढ्दो बाल विवाह न्यूनिकरण तथा छाउपडी प्रथा रोकथाम गर्ने उदेश्यले अभियान चलाइएको हो । यो क्षेत्रमा छाउपडी प्रथाले जरो गाडेर बसेको थियो ।

ईलाका प्रहरी कार्यालय राकमकर्णालीका प्रहरी नायव निरिक्षक (सई) झुपेन्द्र बहादुर शाहीका अनुसार २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संंहितामा बाल विवाह र छाउपडी प्रथालाई कानुनी रुपमा भएका व्यवस्था बारे समुदाय र विद्यालयमा अध्ययनरत बालबालिकालाई जानकारी गराइएको छ ।
अपराध संंहितामा यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई कानुनी रूपमै अपराध मानिएको छ ।

मुलुकी ऐनलाई विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडीलाई अपराध मानेको छ । अब कसैलाई महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिए, त्यो अपराध हुनेछ र त्यसै अनुसार सजाय पनि हुनेछ । उनका अनुसार अभियानको प्रमुख उदेश्य बाल विवाह र छाउपडीबारे अभिभावक र बाल बालबालिकालाई घरदैलोमा पुगेर सचेत बनाउने हो ।
इलाका प्रहरी कार्यालय राकमकर्णालीका प्रहरी नायव निरिक्षक (सई) झुपेन्द्र बहादुर शाही सहितको प्रहरी टोली र सामाजिक अभियान्ताहरुको टोलीले हुलाकडाँडा टोलमा रहेको छाउगोठ समेत भत्काएको छ । यस्तै अभियान अन्तरगर्त आठवीस नगरपालिकाको वडा नंं. २, सिगौडीको हुलाकडाँडा टोलको २० घरमा पुगेर छाउपडी र बाल विवाहबारे सचेतना कार्यक्रम गरेको छ । सिगौडीमा रहेको सरस्वती माध्यामिक विद्यालयका २ सय बालबालिका लाई बाल विवाह र छाउपडी प्रर्था बारे अभिमुखिकरण गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय राकमकर्णालीको आयोजना, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजना र सरस्वती बाल क्लबको सहयोग र सहजिकरण रहेको कार्यक्रममा बोल्दै सरस्वती माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर विकले बाल विवाह र छाउपडी प्रथा विरुद्धको अभियान समय सान्दर्भीक रहेको बताए ।

सोहि विद्यालयको कक्षा ८ मा अध्ययनरत हिमानी खनालले बाल विवाह नगर्ने र छाउपडी प्रथा नबार्ने प्रतिबद्धता जनाइन् । अभियानमा क्रममा संचालन भएका गतीविधीहरुले अहिले उक्त टोलमा छाउगोठको अन्त्य भएको परियोजनाका सामाजिक परिचालक लक्ष्मी चलाउनेले जानकारी दिइन् । उनका अनुसार उक्त समुदायमा बाल विवाह न्यूनिकरण भएको छ ।

प्रतिक्रिया