कक्षा १० मा पढ्ने सुर्खेतका खरालले बनाए मोटर

कक्षा १० मा पढ्ने सुर्खेतका खरालले बनाए मोटर

मंसिर ६, सुर्खेत–पञ्चपुरी नगरपालिका वडा नं. ९ स्थायी घर भएका दर्पण खरालले मोटरसाइकलको इन्जिन प्रयोग गरी कार बनाएका छन् ।विद्याज्योती सहकारी विद्यालयमा कक्षा १० मा अध्ययन गरिरहेका दर्पणले एक महिना लगाएर तीन लाख रुपैंयाँको लगानीमा कार बनाएका हुन् । सानैदेखि प्रविधिमा रुचि राख्ने गरेका खराललाई वुवा आमाले सहयोग गरेका थिए । परिवारको सहयोगमा आफूले कार बनाउन सकेको उनको भनाइ छ ।

‘सानैदेखि मलाई गाडीहरु बनाउन मन लाग्थ्यो’ उनले भने, ‘अहिले फलामका टुक्राहरु, मोटरसाइकलको इन्जिन, काठ,पुराना टायरहरुको प्रयोगबाट मैले कार बनाउन सके ।’

उनले विद्यालयले समेत बेला बेलामा आफूलाई प्रोत्साहन गरेको बताए । ‘मलाई कार बनाउन विद्यालयका सरहरुले पनि बेला बेलामा सहयोग गर्नु भएको थियो’ उनले भने, ‘अब म उडाउन मिल्ने प्यारामोटर बनाउन चाहन्छु ।’
प्यारासुटमा मोटरसाइकलको इन्जिन जडान गरेर प्यारामोटर बनाउने उनको योजना रहेको छ ।

खरालले प्यारामोटर बनाउ साढे तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरे । ‘घरमा अब त्यति रकम छैन’ उनले भने, ‘कतैबाट सहयोग पाएको खण्डमा एसइई पश्चात प्यारामिटर बनाउने थिएँ ।’ प्यारामोटर बनाउने सपना पुरा गर्न स्थानीय तथा प्रदेश सरकारले पुरा गर्छ की भन्ने आशा लागेको उनले बताए ।

यता, प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले पञ्चपुरीमा रहेको उनको घरमा नै गएर उक्त, कार हेरिसकेको बताए । ‘मैले कार हेरिसकेको छु ’ उनले भने, ‘मन्त्रालय यस्ता क्षमता भएका युवा विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्न तयार छ ।’ उनले दर्पणसँग छलफल गरेर कहाँ, के र कसरी सहयोग गर्न सकिन्छ त्यसबारेमा सल्लाह गर्ने बताए । मन्त्रालयले कर्णाली प्रदेशका हरेक क्षमतावान युवा विद्यार्थीहरुलाई आवश्यकता अनुसार सहयोग गर्ने जानकारी दिए ।

‘हामी कर्णालीलाई समृद्ध बनाउन चाहन्छौं । चाहे त्यो सूचनाको क्षेत्रमा होस चाहे प्रविधिको क्षेत्रमा होस्’ मन्त्री रावलले भने, ‘यस्ता रचनात्मक काम गर्ने क्षमतावान विद्यार्थीहरुका लागि मन्त्रालय सहयोग गर्न तयार छ । हामी सहयोग गर्छौं ।’ गाडी बनाउने खराल पञ्चपुरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष शान्तिराज खरालका छोरा हुन् ।

प्रतिक्रिया