सामाजिक अभियान्ता थापालाई ‘एनपीस अवार्ड’

सामाजिक अभियान्ता  थापालाई ‘एनपीस अवार्ड’


दैलेख मंसिर ९ ।विगत दुई दशक देखि सामाजिक अभियान्ताको रुपमा सक्रिय रहनु भएका सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापा एनपीस अवार्ड –२०१८ बाट सम्मानित हुनुहुने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान पहिलो दिन यूएनडीपीको एनपीस नेटवर्कले जारी गरेको सूचनामा उहाँ एनपीस अवार्डको ‘क्याम्पेनिङ्ग फर एक्सन’ मा विजयी हुनुभएको उल्लेख गरेको छ ।  एनपिस अवार्डको ‘क्याम्पेनिङ्ग फर एक्सन म्यान’ क्याटागोरीमा नेपालबाट हीरासिंह थापा मनोनित हुनुभएको थियो भने पाकिस्तान र श्रीलंकाबाट एक/एक जना मनोनित हुनुभएको थियो । एनपिस अवार्डको ‘क्याम्पेनिङ्ग फर एक्सन’ क्याटागोरीमा मनोनितान परेका तीन मध्ये नेपालका हीरासिंह थापालाई उक्त अवार्ड प्रदान गरिएको यूएनडीपीको एनपीस नेटवर्कले जनाएको छ ।

दैलेख जस्तो ग्रामिण क्षेत्रमा जन्मिएर जिल्लामा बाल विवाह, छाउपडी प्रर्था, महिला हिंसा, बाल अधिकार, सामाजिक कुरिति र कुसंस्कार विरुद्ध अभियान चलाउँदै विभेद रहित समाज निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै थापा उक्त अवार्डमा विजयी हुनुभएको नेटवर्कले जनाएको छ । सामाजिक अभियान्ताको रुपमा सक्रिय थापा लैंगिक हिंसा, कुरीति, अन्धविश्वास विरुद्ध सशक्त आवाज उठाउदै आउनुभएको छ ।नेपाली समुदायका पुरुषहरुलाई जिम्मेवार बनाउँदै समाज रुपान्तरणमा योगदान पु¥याएको भन्दै थापालाई उक्त अवार्ड प्रदान गरिने भएको हो ।
२०५४ सालमा स्थापित सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संस्थापक अध्यक्ष भई सामाजिक काममा सक्रिय बन्नुभएका थापा जिल्लामा सामाजिक अभियन्ताको रुपमा समेत परिचित हुनुहुन्छ ।

जिल्लामा महिला, दलित, जनजाति, बालबालिका र पिछडा वर्गका समस्याहरुको समाधानका लागि सहजीकरण तथा सामाजिक परिचालनको माध्यमबाट राज्यका हरेक निकायहरुमा वकालत तथा पैरवी गर्दै आएको दैलेखको सक्रिय संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापा ‘एनपीस अवार्ड २०१८’ को ‘क्याम्पेनिङ्ग फर एक्सन म्यान’ मा विजयी हुनुभएको हो । उहाँ विगत ४ बर्ष देखि ज्वाला संदेश अनलाइनको प्रधान सम्पादक भई सामाजिक कुसंस्कार र कुरितिको सवालमा कलम चलाउदै आउनुभएको छ भने बाल संरक्षण संजाल नेपालको कर्णाली प्रदेशका संयोजक समेत हुनुहुन्छ ।
के हो एनपीस अवार्ड ?
यूएनडीपीको थाइल्याण्डस्थित एसिया क्षेत्र हेर्ने कार्यालयले एसियाली क्षेत्रमा शान्ति निर्माण र समुदायको सशक्तिकरणमा उच्च योगदान पु¥याउँदै आएका व्यक्तिलाई सन् २०११ देखि एनपीस अवार्ड दिन शुरु गरेको हो । यूएनडीपीले ‘अनटोल्ड स्टोरी’, ‘क्याम्पेनिङ फर एक्सन’ र ‘द पीस जेनेरेशन‘ क्याटागोरीमा हरेक वर्ष अवार्ड दिँदै आएको छ । यस अन्तरगत नेपाल, फिलिपिन्स, इन्डोनेसिया, पाकिस्तान, अफगानस्थान, म्यानमार र श्रीलंकालाई समेट्दै आएको छ ।

प्रतिक्रिया