राउटे समुदायलाई कम्मल

राउटे समुदायलाई कम्मल

राउटे समुदायकी महिलालाई कम्मल वितरण गर्दै कर्णाली प्रदेश प्रहरी महिला संघकी अध्यक्ष महिमा शाह ।

सुर्खेत, मंसिर १० ।
जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायलाई कर्णाली प्रदेश प्रहरी श्रीमती संघले कम्मल र खानेकुरा वितरण गरेको छ । लेकवेशी नगरपालिका–७ स्थित थोत्रीखोलामा पुगेर संघले राउटे समुदायलाई ७० वटा कम्मल र खानेकुरा वितरण गरेको हो । राउटे समुदाय एकसरो कपडामा जंगलमा पाल टाँगेर बस्छ । ‘जाडो मौसमलाई ध्यानमा राखेर राउटे समुदायका लागि कम्मल वितरण गरेका हौं’ कर्णाली प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष महिमा शाहले भनिन्, ‘आगामी दिनहरुमा पनि यो समुदायलाई सहयोग गर्दै जानेछौं ।’
अध्यक्ष शाहले अहिलेको जमानामा पनि जंगलमा कष्टकर जीवन विताउँदै आएको राउटे समुदायलाई सबैको सहयोगको खाँचो रहेको बताइन् । ‘राउटे समुदायलाई समाजको मूलधारमा ल्याउन आवश्यक देखिन्छ’ कम्मल वितरण कार्यक्रममा उनले भनिन्, ‘२१ औं शताब्दीमा पनि नाङ्गै, भोकै जंगलमा जीवन विताउने समुदायका बारेमा राज्यका निकायहरुले ध्यान दिन आवश्यक छ ।’
लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले दाङदेखि अछामसम्म बस्ती सर्दै हिंड्ने राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आवश्यक रहेको बताए । उनले राउटे समुदायका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले एकीकृत कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । ‘उनीहरुको पेशा, संस्कृति र भाषालाई बचाउँदै सहज जीवनयापनका लागि राज्यका तीन वटै तहले एकीकृत कार्यक्रम ल्याउन आवश्यक छ’ मेयर सुनारले भने, ‘अहिलेकै अवस्था रहेमा केही वर्षभित्र यो समुदाय लोप हुने देखिन्छ ।’

प्रतिक्रिया