‘गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा सहज’

‘गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा सहज’


दैलेख मंसिर १० ।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य चौकी अवलपराजुलमा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा सहज हुँदै गएकाे छ । स्वास्थ्य चौकीका लागि सेभ द चिल्ड्रेन द्धारा सहयोग गरिएका औजार तथा उपकरणबाट गुणस्तरिय मातृ शिशु स्वास्थ्य सेवा प्रवाहमा सहज हुन थालेकाे हाे। दुईवटा प्रसुती केन्द्रबाट सेवा दिईरहेको उक्त स्वास्थ्य चौकीमा गुणस्तरिय स्वास्थ्य सेवा संगै सेवा ग्राहीको संख्यामा पनि बृद्धि भइरहेको स्वास्थ्य चौकीमा प्रमुख दिपक रावतले बताउनुभयो । १ बर्ष अघि देखि लागु भएको मातृ शिशु स्वास्थ्य परियोजना (नेपाल स्वास्थ्य परियोजना)ले गरेको सहयोगले स्वास्थ्य चौकीको सेवा प्रवाहमा सहज हुँदै गएको स्वास्थ्य चौकी प्रमुख रावतको भनाई छ ।
परियोजनाले प्रशुती केन्द्रमा आवश्यक औजार तथा उपकरण, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलाई तालिम, दक्ष प्रसुतीकर्मीलाई तालिम, प्रशुती केन्द्र मर्मत तथा सम्भार, महिला स्वास्थ्य स्ंयम सेवीकालाई जिवन सुरक्षा सम्बन्धि तालिम,मातृ शिशु स्वास्थ्य सम्बन्धि होडिङ्ग/फ्लेक्स बोर्ड प्रदान तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ । ‘स्वास्थ्य संस्था तथा प्रशुती केन्द्रको मर्मत सम्भारपछि गुणस्तरिय सेवा प्रवाहमा सहज भएको छ, स्वास्थ्य चौकी प्रमुख रावतले भन्नुभयो ।’ सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक राकेश यादवका अनुसार मातृ शिशु स्वास्थ्य परियोजना (नेपाल स्वास्थ्य परियोजना) मातृ शिशु तथा ५ बर्ष मुनीका बालबालिकाको स्वास्थ्यको स्थितीमा सुधार गर्न सहयोग गर्ने उदेश्यले संचालनमा ल्याइएको हो ।

परियोजनाले उक्त स्वास्थ्य चौकीमा संचालन गरेको गतिवीधीलाई जिल्ला परियोजना सल्लाहकार समितिले अनुगमन समेत गरेको छ । अनुगमनमा क्रममा गरिएको छलफलमा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशिल रहेको बताउँदै स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका विपन्न नागरिकको स्वास्थ्य उपचारको ग्यारेन्टी सरकारले लिनुपर्ने धारणा राख्नुभयो । ‘त्यसको प्रमुख दायित्व स्थानीय सरकारको हो, जिसस प्रमुख थापाले भन्नुभयो ।’ अर्को प्रशंगमा जिसस प्रमुख थापाले समाज परिवर्तनमा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउदै कर्णाली प्रदेशमा अन्तराष्ट्रिय गैसस भित्याउन र संचालन भइरहेका कार्यक्रम÷परियोजनालाई निरन्तरता दिन प्रदेश, स्थानीय सरकार र स्ंयम जिससले पनि आग्रह गरिरहेको औल्याउनुभयो ।
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले बाल विवाह न्यूनिकरण भए मात्रै महिलामा हुने जोखिम न्यूनिकरण हुने बताउदै बाल विवाह न्यूनिकरणका लागि गाउँपालिका भित्रका विद्यालयमा विशेष कक्षा संचालन गरिने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञवालीले स्वास्थ्य चौकीका अभाव भएका सामग्रीहरु माग भई आएमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका भित्रका नागरिकहरुको स्वास्थ्य सेवामा सुविधा दिन गाउँपालिकाले एम्बुलेन्स खरिद गरिसकेको उहाँको भनाई थियो । उहाँका अनुसार गाउँपालिकाले छाउपडी गोठ र हिंसा पिडित महिलाहरुको तथ्यांक संकलन गर्न लागेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा.निरन्जन पन्तले सेभ द चिल्ड्रेनले सहयोग गरेको भौतीक तथा औषधी उपकरणका कारण स्वास्थ्य चौकीको स्वास्थ्य सेवा प्रवाहमा उपलब्धीपूर्ण रहेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयमा बेला बेला अभाव भइरहने औषधहरु पनि यस स्वास्थ्य चौकमा देख्यौ, डा. पन्तले भन्नुभयो ‘उमेर नपुगी गर्भवती र सुत्केरी हुनेको संख्या बढी छ, त्यसले स्ंयम आमा र शिशु जोखिममा छन् ।’ उहाँले कर्मचारीमा देखिएको बेतीथी रोक्न गाउँपालिकालाई आग्रह गर्नुभयो । छलफलमा स्वास्थ्य चौकी अवलपराजुलका स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष बखत सापकोटाले यस्ता अनुगमनले गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा उर्जा प्रदान गरेको बताउनुभयो । उहाँले उक्त स्वास्थ्य चौकीमा कर्मचारी आबास गृह निर्माणका लागि गाउँपालिका संग माग गरेका छन् ।

प्रतिक्रिया