विकासमा नागरिकको चासो जरुरी – सभामुख शाही

विकासमा नागरिकको चासो जरुरी – सभामुख शाही


दैलेख मंसिर ११ ।
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले हरेक विकास निर्माणका काममा नागरिकको चासो हुनुपर्ने बताउनुभएको छ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–९ भैरव मावि डौँसुरको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै सभामुख शाहीले यस्तो बताउनु भएको हो । मुलुकको समृद्धिका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ, सभामुख शाहीले भन्नुभयो ‘जबसम्म आम नागरिकहरु विकास निर्माणका लागि चासो दिदैनन् तबसम्म विकासले फट्को मार्न सक्दैन ।’ ‘एक/दुई जनाले मात्र विकास गर्न सक्दैनन्, विकासका लागि आम नागरिकहरु आ–आफ्नो ठाउँबाट जागरुप हुनुपर्छ तबमात्र मुलुकको समृद्धि र विकास सम्भव छ, उहाँले भन्नुभयो ।’
नगरपालिका र प्रदेश सरकारको साझेदारीमा स्थानीय डौँसुर बासीले भोग्दै आएका खानेपानीको समस्यालाई समधान गर्ने उहाँले बताउनुभयो । कर्णाली लिफ्टिङ खानेपानीलाई थप अध्ययन गरी साझेदारी गर्ने कार्यलाई अघि बढाउने उहाँको भनाई छ । साथै नमुना विद्यालयको लागि प्रदेश सरकारबाट भैरव माध्यमिक विद्यालयलाई चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजित भएको सभामुख शाहीले जानकारी दिनुभयो ।
सोही अबसरमा कर्णाली प्रदेश सभाका सदस्य अम्मरबहादुर थापाले स्थानीय स्तरमै रोजगारी सिर्जनका गर्नका लागि व्यवसायीक शिक्षाको आवश्यकता रहेको बताउनुभयो । ‘सैद्धान्तिक शिक्षाले रोजगारी सिर्जना गर्न सक्दैन, ‘रोजगार सिर्जना गर्न विद्यालयमा व्यवसायीक शिक्षाको आवश्यकता पर्छ, उहाँले भन्नुभयो ।’कार्यक्रममा पुर्व सांसद ललिता रेग्मीले सो विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउन सुझाव दिनुभयो । जिल्ला समन्वय समितिका उप–प्रमुख लक्ष्मीदेवी शाहले अब स्थानीय सरकारले सीप मुलुक शिक्षा तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
चामुण्डाविन्द्रासैनी नगरपालिका नगर प्रमुख सूर्यबहादुर शाहीले नगरपालिकाले चरित्रवान र श्रमलाई सम्मान गर्ने जनशक्ति उत्पादन गर्नका लागि स्थानीय पाठ्यक्रम र अभिभावक शिक्षामाला निर्माण गर्न लागिएको जानकारी दिनुभयो । युवाहरुलाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ आगामी वर्षको नीति तथा कार्यक्रममा व्यवसायीक तथा प्राविधिक शिक्षामा जोड दिएको उहाँको भनाई छ । गुणस्तरीय शिक्षामा नगरपालिकाले शिक्षकले लिएको कक्षा संख्या, अनुशासन, नियमितता, विषयगत उतिर्णाङ्कका आधारमा पारदर्शि रुपमा दण्ड तथा पुरस्कारको नीति अवलम्व सारेको छ । साथै डाँैसुर बासीको खानेपानीको समस्यालाई समाधान गर्न कर्णाली नदिबाट पानी तान्नका लागि डि.पि.आर तयार भईसकेको नगर प्रमुख शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया