कृषि र पशुपालनमा ‘किसान–स्थानीय तह साझेदारी’

कृषि र पशुपालनमा  ‘किसान–स्थानीय तह साझेदारी’

दैलेख मंसिर १७ ।
दैलेखको गुरासँ गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि किसान र स्थानीय तह सँगसँगै काम गर्ने भएका छन् । यसका लागि गुरासँ गाउँपालिका र किसान बिच साझेदारी गरिनेछ । कृषि र पशुपालन गर्ने किसानहरुसँग गाउँपालिकाले साझेदारी गर्ने गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । गाउँपालिकामा कृषि र पशुपालनको विकास संगै किसानलाई आत्मनिर्भर बनाई आर्थीक अवस्था सुधार गर्ने लक्ष सहित साझेदारी गर्ने कार्यक्रम ल्याएको अध्यक्ष ओलीको भनार्ई छ । ‘किसानको आधा लगानी र गाउँपालिकाको आधा लगानीमा पशु तथा कृषि फर्म संचालन गरेर गुराँस गाउँपालिकालाई कृषि र पशुको हव क्षेत्र बनाउने योजना छ’ अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीका अनुसार गाउँपालिकाले ५ जना किसानको समुह बनाएर कृषिमा आत्मनिर्भर बनाउने योजना समेत बनाएको छ ।
गुरासँ गाउँपालिकाको पशु शाखाका अनुुसार व्यवसायिक रुपमा कृषि र पशुपालन गर्ने व्यक्ति, फर्म र सहकारीसँग साझेदारी गर्न लागिएको हो । साझेदारीमा काम गर्दा किसान व्यवसायिक बन्ने र गाउँपालिकाको आन्तरिक आयमा बृद्धि हुने पशु शाखाका प्रमुख सुर्य बहादुर विकले बताउनुभयो । यस कार्यक्रम अन्तरगर्त कुखुरा, बाख्रा, गाई, भैसी, र बंगुर पालन व्यवसायलाई प्राथमिकता दिइएको छ । शाखा प्रमुख विकका अनुसार किसानहरुसँग साझेदारीका लागि आह्वान गर्न गाउँपालिकाले सूचना जारी गर्ने तयारी गरेको छ । यस्तै गाउँपालिकाले कृषि क्षेत्रमा पनि साझेदारी गर्ने गरी योजना बनाएको छ । तरकारी खेती, फलफुल खेती लगायतमा साझेदारी गर्ने गरी योजना बनाएको गाउँपालिका कृषि शाखा प्रमुख भविसरा खत्री बताउनुभयो । कृषिको नयाँ मोडेल अनुसार कृषकहरुसँग व्यक्तीगत, सामुहिक र सहकारीको माध्ययमबाट कृषिमा साझेदारी गर्न लागिएको हो ।
किसान र स्थानीय तहको लगानी
स्थानीय सरकार र किसान सँगसँगै मिलेर गरिने कार्यक्रममा किसान र स्थानीय तहको लगानी रहनेछ । उक्त कार्यक्रम अन्तरगर्त गाउँपालिकाले ५० प्रतिशत र व्यवसायीक व्यक्ती, समुह, सहकारीले ५० प्रतिशत लगानी गर्नेछन् । किसानले गरेको व्यवसायबाट हुने नाफाको २० प्रतिशत गाउँपालिकालाई बुझाउनुपर्नेछ । यस बर्ष गाउँपालिकाले कृषि र पशुपालन को क्षेत्रमा १ करोड ६५ लाख रकम विनियोजन गरिएको छ । गुराँस गाउँपालिकाले कृषि र पशुको क्षेत्रमा गाउँपालिकाले बनाएको योजनाले युवाहरुले उत्साहित बनेका छन् । गुराँस गाउँपालिका – ८ का खेमराज खड्काले साझेदारी कार्यक्रमले युवाहरुलाई व्यवसायीक बनाउनुका साथै विदेशीने युवाहरुलाई स्थानीय स्तरमै राजगारी सृजना हुने बताउनुभयो । स्थानीय युवा सुरत जिसीले रकमको अभावमा बेरोजगार बसेका व्यक्तीहरुलाई व्यवसायी बनाउने बताउनुभयो ।

प्रतिक्रिया