कर्णालीका पत्रकारलाई स्वास्थ्य बिमा

कर्णालीका पत्रकारलाई स्वास्थ्य बिमा


सुर्खेत – कर्णालीका पत्रकारहरुलाई व्यवसायीक तथा उत्प्रेरित बनाउन कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। पत्रकार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन कार्यविधी २०७५ स्वीकृत गरेर प्रक्रिया अघि बढाइएको हो।

पत्रकार स्वास्थ्य बिमाको लागि १५ दिने सुचना आह्वान भइसकेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी हित प्रसाद पौडेलका अनुुसार कर्णाली प्रदेशमा रहेका क्रियाशिल पत्रकारहरुलाई व्यवसायीक बनाउन उत्प्रेरणा दिन र पत्रकारीता पेशामा दिगोपना कायम राख्नका लागि यो स्वास्थ्य बिमा कार्यक्रम अघि सारीएको हो।यसले कार्यस्थलमा पत्रकारहरुको दुर्घटना जोखिम न्युनिकरण गर्न सहयोग पुग्नुका साथै पत्रकारीतामा सुरक्षाको अनुभति गराउने पौडेलले बताए। सुचना अधिकारी पौडेलले भने,“कर्णाली प्रदेश सरकारले थालेको यो कार्यक्रमले सार्थकता पाउने छ। कर्णालीका पत्रकारलार्इ दुःख, बिरामी पर्दा सास्ती बेहोर्नु पर्नेछैन, यो कार्यक्रम कार्यन्वयन गर्न पत्रकार साथीहरुले साथ दिन जरुरी छ।”

मन्त्रालयले चालु आर्थिक बर्षमा पत्रकार स्वास्थ्य बिमाको लागि ५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ। उनले भने,“कुनैपनि कर्णालीमा काम गर्ने पत्रकार कामको शिलशिलामा दुर्घटना भएको खण्डमा उपचार सेवा पाउनेछन, मृत्यु भएको खण्डमा पाँच लाख रुपैयाँ सम्म बिमाङ्क बमोजिमको रकम क्षतिपुर्ति स्वरुप पाउने गरी स्वास्थ्य बिमा कार्यक्रम कार्यन्वयन हुन लागेको हो।”स्वास्थ्य विमा कार्यक्रम कार्यन्वयनका लागि कानुन मन्त्रालयका सचिवको अध्यक्षतामा ५ सदस्यीय बिमा समन्वय समिती बनेको छ।

स्वास्थ्य बिमाको लागि आबेदन संकलन कर्णाली प्रदेश पत्रकार महासंघले गर्नेछ। स्वास्थ्य बिमा कार्यक्रममा सहभागि हुने पत्रकारको योग्यता प्रेसपास भएको, महासंघको सदस्य भएको र कर्णाली प्रदेशमा कार्यरत हुनुपर्ने, आवश्यक परेको खण्डमा चिकित्सकले चेकजाँच गरेको प्रमाण पत्र संलग्न गरेको हुनु पर्ने कार्यविधिले व्यवस्था गरेको छ।

कानुनमन्त्री नरेश भण्डारीले पत्रकार स्वास्थ्य बिमा कार्यक्रमले यहाँका पत्रकारको उन्नती र प्रगतिमा टेवा पुग्ने बताए। उनले देशमै पहिलो पटक कर्णाली सरकारले पत्रकार बिमा सुरु गरेको भन्दै अब कुनै पनि पत्रकारले पत्रकारीता क्षेत्र छोड्नु नपर्ने बताए। नागरिक

प्रतिक्रिया