जेष्ठ नागरिकलाई यातायात भाडामा सहुलियत

जेष्ठ नागरिकलाई यातायात भाडामा सहुलियत


दैलेख मंसिर १७ ।
दैलेखका सबै यातायात व्यवसायीहरुले हरेक गाडीमा कम्तीमा २ जना जेष्ठ नागरिकलाई प्रचलित भाडामा ५० प्रतिशत सहुलियत दिने भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेखमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायीहरुले सहुलियत दिने सहमती जनाएका हुन् । जेष्ठ नागरिकहरुले सहुलियत नपाएका भन्ने जनगुनासोपछि आयोजना गरिएको छलफलपछि नागरिकता वा जेष्ठ नागरिक परिचयपत्रका आधारमा ६० वर्ष पुगेका जेष्ठ नागरिकलाई सुविधा दिइने सर्वपक्षीय छलफलबाट निर्णय गरिएको छ ।

कुनै सवारी साधनमा एकै पटक धेरै जेष्ठ नागरिक यात्रु भएमा अशक्त, अपाङ्ग, दलित र महिलालाई बढी प्राथमिकता दिएर कम्तीमा २ जना जेष्ठ नागरिकलाई प्रचलित भाडामा ५० प्रतिशत सहुलियत दिने मापदण्ड तोकिएको छ । निर्णयमा प्रत्येक सार्वजनिक यातायातका साधनले महिला, जेष्ठ नागरिकको आरक्षित सीट राख्नुपर्ने, गाडीभित्र यात्रुले देख्ने गरी गाडीको नम्वर लेखिनुपर्ने, यात्रुहरुसंग सरल र नम्र व्यवहार गर्न सुझाव दिइएको छ ।

अन्तरक्रिया कार्यक्रममा नारायण नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रप्रसाद उपाध्याय, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा, नेकपाका नेता बरुनाथ योगी, जेष्ठ नागरिक संघका कर्णाली प्रदेश उपाध्यक्ष बीरबहादुर भण्डारी, अधिवक्ता खड्गबहादुर सिजापती, पत्रकार भूपेन्द्र शाही समेतले जेष्ठ नागरिकहरुलाई यातायात सहुलियत र सार्वजनिक यातायात सेवाको प्रभावकारिता बारे राय सुझाव दिएका थिए ।

त्यसबखत उनले जेष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ अनुसार सार्वजनिक सवारी यातायातमा जेष्ठ नागरिकहरुलाई भाडामा ५० प्रतिशत सहुलियत र त्यसको प्रभावकारी कार्यान्वयन प्रणालीका विषयमा इन्सेकका जिल्ला प्रतिनिधि अमर सुनारले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया