माथिल्लो कर्णाली जलविद्युत आयोजना : जीएमआरले छोडे प्रदेश सरकारले निर्माण गर्छ – मुख्यमन्त्री शाही

माथिल्लो कर्णाली जलविद्युत आयोजना : जीएमआरले छोडे प्रदेश सरकारले  निर्माण गर्छ – मुख्यमन्त्री शाही

दैलेख, १९ मंङ्सिर 
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माथील्लो कर्णाली जलविद्युत आयोजना प्रदेश सरकारले निर्माण गर्न तयार रहेको बताउनुभएको छ । पटक–पटक म्याद थप्दा पनि लगानी जुटाउन नसकेको भारतीय जीएमआर कम्पनीले तत्काल लगानी जुटाएर निर्माण कार्यलाई तिब्रता दिनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले जीएमआरले लगानी जुटाउन नसके उक्त आयोजना प्रदेश सरकारले निर्माण गर्ने बताउनुभएको हो ।

प्रेस चौतारी र प्रेस सेन्टरद्धारा आज दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘नौं सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले लगानी जुटाउन असफल देखिएको छ, ‘लगानी जुटाउन असफल भएकै कारण पटक–पटक म्याद समेत थपिएको छ, अब पनि जीएमआर कम्पनीले लगानी जुटाउन नसके जीएमआरले छोड्नु पर्छ, कर्णाली प्रदेश सरकारले निर्माण गर्छ ।’ त्यसका लागि कर्णाली प्रदेश सरकारले विज्ञहरुको टोली सहित समग्र कर्णाली नदिकै सम्भाव्यता अध्ययन गरिरहेको मुख्यमन्त्री शाहीको भनाई छ ।

अर्को प्रसंगमा मुख्यमन्त्री शाहीले भारतसँग सिमा जोडिएको बाँकेको जमुनाह नाकादेखि चिनसँग जोडिएको हुम्लाको हिल्सा नाका सम्म जोड्नेगरी निर्माण गर्न लागिएको दु्रतमार्गको सम्भाव्यता अध्ययन भइरहेको बताउदै उक्त दु्रतमार्ग दैलेखहुँदै जानेमा विश्वस्त रहन आग्रह समेत गर्नुभयो ।
कर्णाली प्रदेशको समृद्धिको आधार पर्यटन रहेको बताउँदै मुख्यमन्त्री शाहीले त्यसको लागि सम्भावनाहरुको खोजी भइरहेको बताउनुभयो । दैलेखको दुल्लु क्षेत्रलाई ‘पर्यटकिय स्थल बन्दिपुर’ जस्तै बनाउनुपर्छ भनेका छौ, मुख्यमन्त्री शाहीले भन्नुभयो ‘कर्णालीको गरीबी हटाउन स्रोतको खोजीसँगै सम्भावनाहरुको खोजी भइरहेको छ ।’
मुख्यमन्त्री शाहीले भन्नुभयो ‘कर्णालीको विकासका लागि तिनवटै तहका सरकार र यहाँ कार्यरत गैरसरकारी संघसंस्थासँग हातेमालो गर्छौ ।’ गैरसरकारी संघसंस्थाले होटलहरुमा कार्यक्रम गरेर खर्च गर्ने रकम विकासका काममा लगाउने बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘गैरसरकारी संघसंस्थाले गर्ने कार्यक्रमका लागि सरकारले निःशुल्क हल उपलब्ध गराउँछ, खानाको रुपमा ‘सातु’ खुवाउँछौ ।’

आत्मनिर्भर मानसिकताको विकास गर्न जरुरी रहेको उहाँको भनाई छ । नयाँ संरचना भएका कारण प्रदेशको बजेट कार्यान्वयनमा चुनौती रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिमा जोडिएको कारण बजेट कार्यान्वयनका कुनै कसर बाँकी नराख्ने बताउनुभयो । कर्णाली प्रदेशका १० जिल्लाको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडी बढाइने मुख्यमन्त्री शाहीको भनाई छ । यसैविच जिल्लाका सरकारी कार्यालयका कर्मचारीसँग गरिएको छलफलमा बजेट कार्यान्वयनमा कुनै कसर बाँकी नराख्न, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती नगर्न, नागरिकको सेवालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । (रासस)

प्रतिक्रिया