मैनबत्ति बालेर अभियानको समापन

मैनबत्ति बालेर अभियानको समापन


दैलेख मंसिर २५ ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गर्दै जिल्ला स्तरीय अभियान दैलेखमा सोमवार सम्पन्न भएको छ । मंंसिर ९ गते प्रभातफेरी गर्दै सुरु भएको अभियान जिल्लाका ११ वटै स्थानीय तहमा विभिन्न गतिविधि गर्दै १६ औं दिन सोमवार साँझ देवकोटा चौकमा मैनबत्ति बालेर समापन गरिएको   हो ।
मैनबत्ति बाल्नु अघि जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले जिसस प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सरकारी निकाय, स्थानीय तहहरु, गैससहरु र नागरिक समाजको सहकार्यमा प्रभावकारी रुपमा अभियान सञ्चालन गरिएकोमा धन्यवाद दिइन् ।
कार्यक्रममा जिसस प्रमुख प्रेमबहादुर थापाले महिला हिंसा रोकथाम गर्न मदिरा, युवाहरुमा लागू औषध दुव्र्यसनी रोकथाम लगायतका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याए । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले हिंसा पीडित महिलाको न्याय प्राप्तीमा सबैको सहयोग आवश्यक रहेको बताए ।
लैंगिक हिंसा रोकथामका लागि सञ्चालित १६ दिने अभियान अन्तरगत दैलेखमा जिल्ला स्तरमा मनाइएका कार्यक्रमहरुमा आईडिया नेपालको सडक नाटक, अभियानको पहिलो दिन र अन्तिम दिन रेडियो सम्वाद, सार्वजनिक यातायातमा यौन दुव्र्यवहार रोकथाम सम्वन्धी स्टीकर टाँस्ने लगायतका कार्यहरु बढी प्रभावकारी पाइएका थिए ।
स्थानीय तहहरु समेतले विभिन्न कार्यक्रम गरिएका कार्यक्रमहरुमा साँसद, प्रदेश साँसदहरु, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति र श्रोत परिचालनले पनि १६ दिने अभियानका कार्यक्रमहरु लैंगिक हिंसा रोकथाम बारे सामाजिक सचेतना बढाउन सघाएको नागरिक समाजका अगुवाहरुले बिश्लेषण गरेका छन् ।
हरेक वर्ष नोभेम्वर २५ तारिकदेखि अन्तरराष्ट्रिय मानवअधिकार दिवसको दिन डिसेम्वर १० तारिकसम्म १६ दिन विश्वभर मनाइने यो अभियानमा महिला माथि हुने हिंसा रोकथामका लागि सचेतनामूलक क्रियाकलाप गरी मनाउने गरिएको छ ।

प्रतिक्रिया