‘उद्योगमा लगानी गर्नुहोस्, ग्यारेन्टी प्रदेश सरकारले गर्छ’

‘उद्योगमा लगानी गर्नुहोस्, ग्यारेन्टी प्रदेश सरकारले गर्छ’

सुर्खेत– कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वतावरण मन्त्री नन्दसिह बुढाले औद्योगिक क्षेत्रमा भएको लगानीको ग्यारेन्टी प्रदेश सरकारले लिने बताएका छन्।

बुधबार वीरेन्द्रनगर–४ भैरवस्थानस्थित ‘टिपटप लण्ड्री एण्ड ड्राइक्लिन हाउस’को उद्घाटन गर्दै मन्त्री बुढाले औद्योगिक विकासविना कर्णाली प्रदेशको समृद्धि सम्भव नभएको बताए।

‘उद्योग, कलकारखानामा लगानी गर्न सकेको अवस्था छैन्, राज्यले लगानीको सूरक्षा दिएको अनुभुति व्यवसायीले गर्न सकेका छैनन्’ उनले भने,‘औद्योगिक विकासका लागि प्रदेश सरकारले व्यवसायिक लगानीको सुरक्षा ग्यारेन्टी गर्छ, लगानी गर्नुहोस्।’ प्रदेशमा ठुला उद्योग सञ्चालन गर्ने खोज्ने व्यवसायीहरुलाई प्रोत्सहान गर्ने ऐन, कानून प्रदेशले बनाउने तयारी थालिएको उनले बताए।

कर्णालीबाट रोजगारीका लागि खाडी जानुपर्ने यूवाहरुको बाध्यता अन्त्यका लागि प्रदेशमा औद्योगिक विकास अपरिहार्य भएको उनले बताए।लण्ड्री हाउस सञ्चालनमा आएसँगै ७ जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन्। केही दिनभित्रै वीरेन्द्रनगर– ६ बुद्धपथमा कपडा संकलन तथा वितरणका लागि काउण्टर खोलिने सञ्चालक ईश्वरराज अधिकारीले बताए।

‘लण्ड्री एण्ड ड्राइक्लिन हाउसले अस्पताल, होस्टेल र होटलका लागि निःशुल्क ९फ्रि० डेलभरी सेवा दिइने छ’ उनले भने,‘झन्डै २० लाख लगानीमा सञ्चालनमा आएको लण्ड्रीमा कोट, पाइन्ट, सर्ट, सुट, ज्याकेट, लेदर ज्याकेट, तन्ना, कुर्थासलवार, बलाङ्केट, गलैंचा, सोफाकभर, सिटकभर, पर्दा तथा जिन्स र अन्य सबै खाले कपडा धुने सेवा प्रदान गरिने छ।’

कर्णाली प्रदेशमै पहिलो अत्याधुनिक प्रविधियुक्त टिपटप लण्ड्री एण्ड ड्राइक्लीन हाउसमा अस्पताल, होटल, होस्टेल र क्वाटरका सबै प्रकारका कपडा धुलाई, ड्राइक्लिन, कलरका साथै स्टिम आइरनको सेवा लिन सकिनेछ।

प्रतिक्रिया