विपन्न बालबालिकालाई न्यानो कपडा

विपन्न बालबालिकालाई न्यानो कपडा


दैलेख मंसिर २६ ।
दैलेखको नारायण नगरपालिका–८ स्थित सरस्वती मावीमा अध्ययनरत ६८ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । संयुक्त राज्य अमेरीकामा बस्दै आएका समाजसेवी जयन्ती कुमारी थापाको आर्थीक सहयोग तथा विद्यालयका सहायक प्रधानाध्यापक लोकेन्द्र जिसी कुमारको समन्वयमा आर्थीक रुपमा विपन्न तथा साहारा विहिन बालबालिकाहरुलाई न्यानो कपडा (सुइटर) वितरण गरिएको हो ।

सरस्वती मावीमा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकालाई न्यानो कपडा अमेरिका निवासी समाजसेवी जयन्ती कुमारी थापाले उपलब्ध गराएको सहायक प्रधानाध्यापक लोकेन्द्र जिसी कुमारले बताउनुभयो । चिसोका कारण बालबालिकाहरु बिरामी पर्न सक्ने भन्दै न्यानो कपडा प्रदान गरिएको सहायक प्रधानाध्यापक जिसीको भनाई छ । चिसोको समयमा न्यानो कपडा पाएसँगै उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरु खुसी देखिएका छन् ।

कार्यक्रममा प्रतिनीधि सभा सदस्य पार्वती कुमारी बिशुन्केले आर्थीक रुपमा विपन्न बालबालिकालाई चिसो मौषममा न्यानो कपडा वितरण गर्दा बालबालिकाहरुको विद्यालयमा नियमितता हुने र उनिहरुका लागि ठुलो सहयोग भएको बताउनुभयो । ‘आर्थीक रुपमा विपन्न र साहारा विहिन बालबालिकालाई सहयोग गर्नु हामी सबैको दायित्व हो,’ उहाँले भन्नुभयो ‘अमेरीकामा बस्दै आएका समाजसेवी जयन्ती कुमारी थापाले गरेको सहयोगले विपन्न र साहारा विहिन बालबालिकालाई ठुलो सहयोग पुगेको छ ।’ जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख खगेन्द्र बहादुर मल्लले बालबालिकाको शैक्षिक अवस्था सुधारका लागि अभिभावकको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले विपन्न तथा गरिबीको रेखामुनी रहेका बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।

विद्यालयका विव्यस अध्यक्ष भुपाल बहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक लोकेन्द्र जिसी कुमारले समाजसेवी जयन्ती कुमारी थापाले प्रदान गर्दै आएको सहयोगबारे जानकारी गराउनुभयो । उहाँका अनुसार समाजसेवी जयन्ती कुमारी थापाले हाल सम्म दैलेख, सुर्खेत, रुकुम, जाजरकोट र कैलाली जिल्लामा सहयोग गर्दै आएकी छिन् । समाजसेवी थापाको सहयोगमा सुर्खेत, रुकुम र जाजरकोटका २० जना विपन्न बालबालिकालाई छात्रबृति, सुर्खेतका २ वटा विद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना भइसकेको छ ।

त्यसका साथै सुर्खेतको अमरज्योती मावीमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना, क्यान्सर, पक्षघात, बहिरा तथा दृष्टि विहिन बालबालिकालाई आर्थीक सहयोग र छात्रबृति उपलब्ध भएको छ । बृद्धबृद्धालाई सहयोग तथा रुकुम जिल्लामा सरसफाई अभियानका लागि सहयोग पनि समाजसेवी थापाले उपलब्ध गराउँदै आएकी छिन् । जिसीका अनुसार समाजसेवी थापाले दैलेखका सरस्वती मावीसँगै अन्य तीन विद्यालयमा शैक्षिक सामग्री, छात्रबृति तथा न्यानो कपडा यसअघि वितरण गरिएको थियो । समाजसेवी थापाले कैलाली जिल्लाका मानसिक रोगबाट पिडित बालबालिकालाई आर्थीक सहयोग र शैक्षिक सामग्री वितरण तथा उपचारमा समेत सहयोग गर्दै आएकी छिन् ।

प्रतिक्रिया