सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक

सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक

सुर्खेत, मङ्सिर २८ 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज ‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक गरेको छ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत सुरक्षा अवधारणा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले विकास सँगसँगै बढ्दै गएको विकृतिको रोकथाम सुरक्षाको पहिलो सर्त भएको बताउनुभयो । “प्रदेश राजधानी सुर्खेतमा शहरीकरण र आर्थिक कारोवारसँगै आपराधिक गतिविधि पनि बढ्न थालेका छन्”, प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो, “यस्ता आपराधिक गतिविधि न्यूनीकरणमा अहिले नै पाइला चाल्नु आवश्यक छ ।” उहाँले यसको न्यूनीकरणका लागि प्रभावकारी जाँच गर्ने कार्यमा जोड दिने विचार व्यक्त गर्नुभयो ।

नाकामा सिसीटिभी जडान, त्यसमार्फत मानिस तथा सवारी साधनको गतिविधि निगरानी, सवारी साधन र यात्रुलाई वैज्ञानिक जाँच र सवारी चालकसहित त्यसमा यात्रा गर्ने हरेकको अभिलेखका लागि प्रवेश स्लिपको व्यवस्था गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा कम्प्युटरमा आधारित अभिलेख तयार गर्ने, तथ्याङ्क केन्द्र स्थापना, सवारी चापलाई व्यवस्थित गर्नका लागि नियन्त्रण कक्षको व्यवस्था, तत्काल अपराध अनुसन्धानका निम्ति सवारी साधन तथा सञ्चार सञ्जालको विस्तार, प्रदेशका १० वटै जिल्लाका हिरासतमा सिसीटिभीको व्यवस्था र यस प्रदेशका सम्पूर्ण प्रहरी कार्यालयलाई प्रविधियोग्य बनाउने जनाइएको थियो । रासस

?रमष्खश्र

प्रतिक्रिया