‘समाज पञ्चायतकैै शैलीमा’

‘समाज पञ्चायतकैै शैलीमा’


दैलेख, २ पुस ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले अहिलेको नेपाली समाज अझै पञ्चायत कालकै शैलिमा अगाडी बढिरहेको धारणा राख्नुभएको छ । महिला माथी हुने हिंसा अन्त्यका लागि सरोकारवालाको भूमिका विषयक दैलेखमा गरिएको कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । महिला हिंसा सम्बन्धि जतिसुकै अभियानहरु संचालन भएपनि ठोस उपलब्धी हासिल गर्न नसकिएको प्रजिअ बास्कोटाको भनाई छ । महिला हिंसा, जातिय विभेद जस्ता सामाजिक विकृति र विसंगती निर्मुल पार्न आर्थीक तथा भौतीक विकासमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति दैलेखका सदस्य बालकृष्ण केसीले हिंसा रोक्न सरकारी तथा गैरसरकारी निकायहरुको हातेमालो जरुरी रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) ठाकुर प्रसाद पोखरेलले पिडितलाई न्याय र पिडकलाई काननी कार्बाहीको दायरामा ल्याउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरीले पिडितले न्याय नपाओस् भनेर कहिल्यै पनि सोच्दैन्, प्रहरी प्रमुख पोखरेलले भन्नुभयो ‘ पिडकलाई नै छुटाउनकालागि बाहिरबाट समेत दवाद आउने गर्छ ।’
उहाँले आव २०७५÷०७६ को पाँच महिनाको अवधीमा १६ वटा घरेलु हिंसाका घटनाको निवेदन आएको जानकारी दिनुभयो । प्रहरी प्रमुख पोखरेलका अनुसार सामाजिक हिंसाका २१ वटा निवेदन आएको छ । उहाँका अनुसार १० वटा मिलापत्रमा टुंगिएको, ७ वटा सम्पर्कमै नआएको तथा ५ वटा कानुनी कार्बाहीको दायरा आएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा गत आर्थीक बर्षमा १ सय १ वटा बाल विवाह रोकिएका छन् । प्रहरी प्रमुख पोखरेलले अझै पनि समाजमा घटना ढाकछोप गर्ने प्रवृति कायमै रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस दैलेखका युवा नेता विनोद श्रेष्ठले दलित महिला माथी हुने हिंसा न्यूनिकरणका लागि स्थानीय तहका दलित महिलाहरुलाई सशक्तिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले जातिय विभेद अन्त्यका लागि पुस्ता परिवर्तन सँगै दलित समुदाय शैक्षिक र आर्थीक रुपमा सशक्त हुनुपर्ने धारणा राख्नुभयो । संकल्पको सहयोग र दलित महिला संघको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाजको सहभागिता रहेको थियो ।

प्रतिक्रिया