बाल विवाह बहिष्कार गर्ने अभियान चलाउन सुझाव

बाल विवाह बहिष्कार गर्ने अभियान चलाउन सुझाव


दैलेख पुस १६ ।
कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले बाल विवाहलाई बहिष्कार गर्ने अभियान चलाउनुपर्ने सुझाव दिनुभएको छ । दैलेख लगाएत कर्णालीका विभिन्न क्षेत्रमा बाल विवाहको दर अधिक रहेको बताउँदै सदस्य रेग्मीले भन्नुभयो ‘आफन्त, नातेदार होस् या अरु कसैको छोराछोरीको विवाहको निम्तो आयो भने दुलाहा दुलहीको जन्मदर्ता होस् वा नागरिकता हरेर बाल विवाह भए बहिष्कार गर्न सक्नुपर्छ ।’ यस्तो खाले अभियान सबै भन्दा पहिला जनप्रतिनीधिहरुबाट सुरुवात हुनुपर्ने रेग्मीको भनाई छ ।
सेभ द चिल्ड्रेन र सोसेक दैलेखको साझेदारीमा विगत ४ बर्षदेखि दैलेखमा संचालित सहयात्रा परियोजनाको बर्हिगमनका लागि उपलब्धी र सिकाई हस्तान्तरण कार्यक्रममा सदस्य रेग्मीले भन्नुभयो ‘बाल विवाह न्यूनिकरणका लागि विद्यालय शिक्षामा पनि उत्तिकै जोड दिनुपर्छ ।’ सदस्य रेग्मीले बढ्दै गएको बाल विवाह न्यूनिकरण गर्न स्थानीय सरकारले पाठ्यक्रम नै निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । स्थानीय तहले निर्माण गर्ने संरचनाहरु बालमैत्री र अपाङ्गमैत्री हुनुपर्ने बताउँदै सदस्य रेग्मीेले बालबालिकाको समस्या सबैको साझा समस्या भएको बताउनुभयो ।

कर्णालीका अर्का सदस्य अम्मर बहादुर थापाले मुलुकको विकास र समृद्धिका लागि समाज रुपान्तरणको आन्दोलन जरुरी रहेको बताउनुभयो । उहाँले कानुनमा उल्लेख भएका बालबालिकाका हक अधिकार कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपालको आन्तरिक स्रोत कमजोर रहेको भन्दै सदस्य थापाले स्थानीय तहले वितरणमुखि योजना बनाउन रोक्नुपर्ने धारणा राख्नुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले गैरसरकारी संस्थाहरुले गरेका कामहरुलाई निरन्तरता दिन स्थानीय सरकारले पहल थाल्नुपर्ने बताउनुभयो । सोसेकका अध्यक्ष हीरासिंह थापाले जिल्लामा क्रियाशिल गैससले गरेका राम्रा प्रयासहरुलाई स्थानीय सरकारले निरन्तरता दिन नसके ति प्रयासहरु नै हराउन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

४ बर्षे अवधीमा परियोजनाले जिल्लाका आठवीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका र गुरासँ गाउँपालिकाका विभिन्न वडामा काम गरेको सोसेकका कार्यक्रम निर्देशक नवराज विसीले जानकारी दिनुभयो । उहाँका अनुसार ति स्थानमा शिक्षा, बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा झण्डै १० करोड १९ लाख, ७० हजार ३ सय ७ रुपैयाँ बराबरको बजेट खर्च भएको छ ।

प्रतिक्रिया