नेकपा दैलेख भित्रको गुटबन्दी, सम्बन्ध सुधार अभियान बहिष्कार

नेकपा दैलेख भित्रको गुटबन्दी, सम्बन्ध सुधार अभियान बहिष्कार

हिक्मत नेपाली, दैलेख ।

नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश कमिटिको अन्तरपार्टी निर्देशन १ अनुसार नेकपा दैलेखले पार्टी र सरकारको सम्बन्ध सुधार गर्न गाउँ अभियानका सुरु ग¥यो ।
पार्टी र सरकार सम्बन्ध सुधार तथा सुदृढीकरण अभियान अन्तर्गत कार्यदलको संयोजक लक्ष्मीप्रसाद पोखरेलको संयोजकत्वमा बसेको बैठकले जिल्लाका ११ वटा स्थानीय तहमा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

स्थानीय, प्रदेश र संघिय निर्वाचन भए पश्चात नेकपाले पार्टी र सरकार बिचको सम्बन्ध सुधार गर्न उक्त अभियान संचालन गर्ने भएको थियो । प्रतिनीधिसभा निर्वाचन क्षेत्र नं। १ र २ का लागि छुट्टा छुट्टै दुई वटा टोली निर्माण गरी यहि पुस १६ देखि २४ गते सम्म दैलेख जिल्लाका ११ वटै स्थानीय तहमा अभियान संचालन गर्ने कार्यक्रम तय पनि गरियो ।

निर्धारित कार्यक्रम अनुसार निर्वाचन क्षेत्र नं। १ को जिल्ला सदरमुकाम नारायण नगरपालिकामा सोमवार अभियानको कार्यक्रम आयोजना भयो । जिल्ला समन्वय समिति दैलेखको हलमा गरिएको उक्त कार्यक्रममा नेकपा दैलेखका आधा भन्दा बढी नेताहरु सहभागि भएनन् । पार्टी र सरकारबीचको सम्बन्ध सुधार गर्न यो अभियान सुरु गरेको नेकपा दैलेखमा चरम गुटबन्दी देखिएको छ ।

पार्टी र सरकारबीच सुमधुर सम्बन्ध निर्माण गर्ने र पार्टी एकतालाई मजबुत ढंगबाट अगाडि बढाउने अभियान सुरु गरेको नेकपा दैलेखको पहिलो कार्यक्रमलाई असन्तुष्ट नेताहरुले बहिष्कारनै गरे । नारायण नगरपालिका दैलेखको कार्यक्रमका लागि पार्टीका प्रदेश संगठन कमिटीका सदस्य गोपाल नेपालीलाई संयोजक जिम्मा तोकिएको थियो ।

नारायण नगरपालिका दैलेखमा कार्यक्रम गर्न गोपाल नेपाली, लोमन शर्मा, ताराकेर धमलालाई जिम्मा दिएको भएपनि संयोजक नेपालीले आफू जान नसक्ने बताए । त्यति मात्र होइन् सह–संयोजक लोमन शर्मा पनि कार्यक्रम स्थलमा ढिला पुगे । अर्का नेता ताराकशेर धमलाले पनि आफ्नो असहमति भएको बताएपछि नेकपाका नेता वीरबहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भयो ।

अभियानको कार्यक्रम जिससको हलमा भइरहँदा नेकपाका असन्तुष्ट नेताहरु सहभागि भएनन् । दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखमा पार्टीले दुवै निर्वाचन क्षेत्रमा विभिन्न टोली निर्माण गरी अभियान सञ्चालन गरेको थियो । पार्टी प्रदेश कमिटीले एकलौटी रूपमा कार्यदल निर्माण गरेपछि आफूहरूले त्यसको विरोध गरेको कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाले बताए । पार्टीका केहि नेताहरुले एकलौटी गर्न खाजेको भन्दै पार्टी प्रदेश कमिटी र केन्द्रीय कमिटीमा समेत लिखित रूपमा असहमति पत्र पठाएको थापा भनाई छ ।

उनले प्रदेश कमिटीले एकाधिकार प्रयोग गरी निर्माण गरेको कमिटीले गरेको कार्यक्रममा आफूहरू जान नसक्ने बताएका छन् । उनले पार्टी भित्रको गुटबन्दी अन्त्य हुनुपर्ने माग समेत गरेका छन् । पार्टी भित्रको गुटबन्दी अन्त्य नभएसम्म नेकपाले गरेको सम्बन्ध सुधार अभियानमा सहभागि नहुँने थापाको भनाई छ ।
संस्थापन पक्षले भने पार्टी प्रदेश कमिटीले गरेको निर्णयलाई स्विकार्दै कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ । ‘ठूलो पार्टीमा सबैलाई समेटेर लैजान समस्या पक्कै हुन्छ, कोही साथी छुट्नुभएको छ, प्रदेश संगठन कमिटीमा हेर्दा समेत उहाँहरू र हामीहरू बराबर छौं,’ नेकपा दैलेखका एक नेताले भने ।

सोमवार भएको उक्त कार्यक्रममा पार्टीका प्रदेश संगठनका कमिटीका सदस्य तथा दैलेख निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा, दैलेख प्रदेशसभा ‘क’ का प्रदेश सभाका सदस्य धर्मराज रेग्मी, प्रदेश सभाका सदस्य मीनासिंह रखाल, प्रदेश संगठन कमिटीका सदस्य सूर्यकुमारी श्रेष्ठ लगायत नेताले पार्टीले गरेका काम र आगामी कार्यदिशाबारे जानकारी गराएका छन् ।

प्रतिक्रिया