राउटे समुदायको सामाजिकीकरण अभियान

राउटे समुदायको सामाजिकीकरण अभियान

सुर्खेत पुस २२
आफुलाई बोटको राजा र ग्रैह् राउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् । राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगर्तको कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् । मन्त्रालयले चिसो मौषमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालक देखि बृद्ध सम्मका पुरुषहरुलाई लगाएका थिए । राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगत राउटे बस्तीमा सहभोज पनि गरीएको छ । सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. १ लेकफर्सा रातेखोलामा बसोबास गर्दै आएका राउटे बस्तीमा सहभोज गरीएको हो ।
प्रदेश नं. ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदायको सामाजिकीकरण अभियानकै क्रममा सहभोजको आयोजना गरिएको हो । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सहभोजमा राउटे र ग्रैहराउटेहरु सहभागि भए । माघीको चटारोमा रहेका फिरन्ते जाति राउटे समुदायका नागरिकको सिप र संस्कृति संरक्षण सहितको सामाजिकीकरण गर्न कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अभियान थालेको हो ।
राउटे बस्तीमा सहभोजसँगै स्वास्थ्य शिविर संचालन गरिएको छ । चिसो मौषमसंगै समुदायका नागरिकहरुलाई संकमण देखिन थालेपछि उनिहरुको स्वास्थ्य परिक्षण गरिएको हो । समुदायका बालबालिका देखि बृद्धबृद्धाहरुमा विभिन्न समस्या देखिएको बस्तीमा स्वास्थ्य परिक्षणका लागि पुगेका कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा.लोकेन्द्र थापाले बताउनुभयो । डा.थापाका अनुसार समुदायका नागरिकहरुमा घाउ चोट पटक लागेर ठुलो घाउ भएको, बाल बालिकाहरुमा सुकेनास र फुकेनासको समस्या देखिन थालेको, बृद्धबृद्धाहरुमा रक्तचाप बढेको पाइएको छ । डा. थापाले बस्तीमा हरेक हप्ता विशेषज्ञ स्वास्थ्यकर्मीबाट चेकजाँच तथा राउटे समुदायलाई स्वास्थ्य शिक्षाबारे जनचेतना जगाउनुका साथै स्वच्छ खानेपानीको व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।
बस्तीमा मन्त्रालयले ३ वटा सोलार जडान पनि गरेको छ । यस्तै राउटे बालबालिकालाई खेलौना, चामल वितरण गरेको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत तथा लैङ्गिक मुलप्रवाहिकरण शाखा प्रमुख अनिता ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार राउटेका प्रति परिवार एक÷एक वटा पिफर्म प्रदान वितरण गरिएको हो । राउटेलाई स्थायी बसोबास, नागरिकता प्रदान, राउटेको लिपी र भाषाको खोजी र संरक्षण गर्ने मन्त्रालयले योजना अगाडी बढाएको ज्ञवालीले बताउनुभयो । उनिहरुको बस्तीलाई होमस्टे अवधारणा अनुसार बस्ती विकास गर्न सकिने ज्ञवालीको धारणा छ ।
समुदायमा सहभोज, स्वास्थ्य जाँच, खाद्यान्न वितरणसँगै राउटेलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । गत असारमा राउटेलाई अस्थायी परिचय पत्र वितरण गरेको दैलेखको गुरासँ गाउँपालिकाले बस्तीमा पुगेर यहि पुस महिनाको भत्ता वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार समुदायका १ सय ४५ जनालाई २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिइएको हो ।


कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे समुदायलाई सामाजिकीकरण गर्ने नीति तथा कार्यक्रम राखेर अभियाननै थालेको मन्त्रालयका सचिव डा. मान बहादुर विकले बताउनुभयो । राउटेलाई सामाजिक मुल प्रवाहीकरणमा ल्याउन उनिहरुको संस्कारनै मूख्य चुनौती रहेको सचिव विकको भनाई छ ।
स्थायी बसोबास, लेखपढ र खेतीपाती महाशत्रु मान्दै आएका राउटे समुदायको सामाजिकीकरण अभियान सुर्खेतको लेकबेसी नगरपालिका, दैलेखको गुरासँ गाउँपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख र लोपोन्मुख राउटे सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया