खाडामा ८७ होइन, ३२ घर मात्र जलेका हुन्

खाडामा ८७ होइन, ३२ घर मात्र जलेका हुन्


कालिकोट/सुर्खेत – कालिकोटको पलाँता गाउँपालिका–१ को खाडा न्यौपाने गाउँमा भएको आगलागीमा नष्ट भएका घर संख्याबारे विवादास्पद तथ्यांक सार्वजनिक भएका छन्। आगलागीको १० दिनपछि प्रहरीले त्यहाँ ३२ घर मात्र पूर्ण जलेको दाबी गरेको छ भने गाउँपालिका प्रमुखले ४२ घर जले रूपमा जलेको दाबी गरेका छन्। पुस ८ गते मध्यरातको आगलागीमा ८७ घर ९पूरै गाउँ० नै खण्डहरमा परिणत भएको खबर सार्वजनिक भएको थियो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले सार्वजनिक भएजस्तो परिमाणमा क्षति नभएको सूचना बिहीबार सार्वजनिक गरे। उनका अनुसार आगलागीमा खाडा न्यौपानेका ३२ घर मात्र जलेको पुष्टि भएको छ। ‘त्यसबेला म बिदामा भएकाले सम्पूर्ण विवरण एकिन रूपमा आउन सकेन’, उनले भने, ‘तर सूचना दिने प्रहरी र गाउँपालिकाका पदाधिकारीबाटै धेरैपल्ट एउटै विवरण जानुलाई सामान्य गल्तीका रूपमा मात्र लिन सकिँदैन।’ जिम्मेवार निकायबाटै बारम्बार गलत तथ्यांक दिइनुले पीडितका नाममा कमाउने दाउ रहेको उनले आशंका गरे।

थोरै घर जले पनि सञ्चारमाध्यममा संख्या धेरै आएपछि डीएसपी शर्माले आफैं संलग्न भएर अनुसन्धान गरेका थिए। अनुसन्धानपछि ३२ घर मात्र जलेको पुष्टि हुनुले धेरै जनाको मिलेमतोमा दोब्बरभन्दा बढी देखाइएको उनले दाबी गरे। अन्य आ िश्रत परिवारसमेत जोडेर जम्मा ४२ परिवार प्रभावित भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले गलत सूचना दिएर राहत पचाउने खेलमा लागेका सबैको विवरण केही दिनभित्रै सार्वजनिक गर्ने बताएको छ।

प्रहरीले ३२ घर मात्र पूर्ण जलेको पुष्टि गरिरहँदा पनि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले ४२ वटै पूर्ण क्षति भएको दाबी गरेका छन्। ‘मैले पहिलेदेखि नै ४२ घर भन्दै आएको हुँ, हल्लाको भरमा ८७ भनियो’, उनले भने, ‘प्रहरीले भनेजस्तो ३२ घर मात्रै होइनन्। ४२ नै पूर्ण रूपमा क्षति भएका हुन्।’

राहत ८७ परिवारलाई नै वितरण गरिएको जानकारी दिँदै आएको स्थानीय प्रशासनले अहिले ४२ घरपरिवार मात्र सम्पर्कमा आएको बताएको छ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले राहत बाँड्दा पीडित ४२ परिवार मात्र सम्पर्कमा आएको बताए। उनले भने, ‘राहत अहिलेसम्म ४२ घरलाई मात्र बाँडिएको छ, ४२ भन्दा बढी परिवार हामी पीडित हौं भनेर आएका पनि छैनन्।’

प्रदेश सरकारले दिने राहत प्रतिपरिवार २० हजार रुपैयाँ र जिल्ला प्रशासन कार्यालयले दिने प्रतिपरिवार १० हजार रुपैयाँका दरले वितरण गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल र जिल्ला प्रहरी प्रमुख डीएसपी शर्मालाई खाडा पठाइएको छ। राहत र पुर्ननिर्माणका लागि आर्थिक सहयोग पाइने भएपछि केहीले तत्कालै अंशबन्डा समेत गरेको बताइएको छ।

प्रदेश सरकारले उपलब्ध गराएको राहत प्रतिपरिवार २० हजार र जिल्ला प्रशासनले दिने राहत प्रतिपरिवार १० हजारका दरले २३ परिवारलाई मात्र वितरण गरिएको डीएसपी शर्माले जानकारी दिए। उनले भने, ‘आगलागीमा जलेका ३२ घरमध्ये ९ घरका परिवार कैलालीतिर स्थायी बस्दै आएका छन्, गाँउमा छैनन्। खाडामा रहेका वास्तविक अग्निपीडित २३ परिवारलाई राहत बाँडेका छौं।’

जनप्रतिनिधिबाटै गलत सूचना

आगलागीपछि सहयोग खाडान्यौपानेतर्फ केन्द्रित भएपछि जनप्रतिनिधिले नै जानाजान गलत जानकारी दिएको पाइएको छ। गाउँपालिका अध्यक्ष बम, उपाध्यक्ष दानादेवी न्यौपाने र वडाध्यक्ष मानबहादुर भण्डारीले नै ६५ घरधुरी नष्ट भएको सहीछापसहितको मुचुल्का जिल्ला प्रहरी कार्यालय कालिकोटमा पुगेको छ। तर अध्यक्ष र उपाध्यक्ष दुवैले एक सातासम्म सञ्चारमाध्यममा ८७ घर जलेको जानकारी दिँदै आएका थिए।

गुमराहमा प्रदेश सरकार

कर्णाली प्रदेश सरकार गुमराहमा परेको देखियो। राहत वितरणका लागि खाडा पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समेत घर संख्या पुष्टि गर्ने प्रयास नगरेको पाइएको छ। ८७ घरका लागि नै राहत लिएर गएका उनले सुर्खेत फर्केपछि पनि ८७ घर जलेको नै बताएका थिए। प्रहरी प्रतिवेदन सार्वजनिक भएपछि प्रदेश सरकारका प्रवक्ता विमला केसीले भनिन्, ‘हामीलाई समेत गुमराहमा पारेको देखियो, ८७ होइन भन्ने आज मात्रै थाहा पाएँ।’

मन्त्रिपरिषद् बैठकले समेत खाडा पुनर्निर्माणका लागि भन्दै ८७ परिवारलाई ५ लाखका दरले आर्थिक सहयोग दिने निर्णय गरेको थियो। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेकी प्रवक्ता केसीले ८७ परिवार पीडित नभएको सही भए गलत सूचना दिने जोसुकै भए पनि कारवाही गरिने बताइन्।

धेरै राहतको लोभमा संख्या बढाइयो

धेरै राहत पाउने लोभमा क्षतिको विवरण बढाएको पाइएको छ। यसमा स्थानीय मानबहादुर भण्डारी, सूचना दिने प्रहरी, गाउँपालिका अध्यक्ष र उपाध्यक्षकै मिलेमतोमा राहत बढाउन तथ्यांक हेरफेर गरेको पाइएको हो। ‘मैले त मुचुल्कामा सहीछाप गरेकै छैन, फसाउन आरोप लगाइएको हो, तर उपाध्यक्षले चाहीं गाउँलेको दबाबमा आएर गलत सूचना दिनुभएको हो’, गाउँपालिका अध्यक्ष बमले भने, ‘वडाध्यक्ष र उपाध्यक्ष त्यहींकै हुनुहुन्छ, गाउँलेले नै जबर्जस्ती बोल्न लगाएपछि राहत धेरै आउने आसमा धेरै बोल्नुभएको हो।’

अनुसन्धानपछि प्रहरीले ३२ घर मात्र पूर्ण जलेको बताउँदा पनि ४२ घर जलेको गाउँपालिका अध्यक्षको दाबी।

आफूले भने बारम्बार ४२ घरधुरी मात्र क्षति भएको जानकारी दिएको दाबी गरे। विभिन्न मुुचुल्कामा आफ्नो सहीछाप भएको भन्दै फसाउन खोजिएको उनको दाबी छ। राहतकै आसमा केहीले आगलागीको भोलिपल्ट आफैंले घर भत्काएको समेत पाइएको छ। तराईमा पक्की घर बनाएर बसेकाहरू समेत राहतका लागि कालिकोट फर्केका छन्। घरमा कोही नबस्ने र अरूका जिम्मा लगाएर तराईमा बसेकाहरू राहत लिनकै लागि फर्केको अध्यक्ष बमले नै पुष्टि गरे।

गलत सूचना दिएर सञ्चारमाध्यम र सरकारलाई समेत झुक्याएको भन्दै इलाका प्रहरी चौकी थिर्पुमा कार्यरत प्रहरी हवल्दार यज्ञबहादुर खड्कालाई निलम्बन गरिएको छ। गलत विवरण टिपाएर राहत रकम बढाउने दाउमा लागेकालाई सघाएकाले उनलाई निलम्बन गरिएको डीएसपी शर्माले बताए। सुरक्षा निकायबाटै गलत सूचना दिएकाले राहत पचाउने समूहसँग मिलेको आशंका गरिएको छ।

रक्सीपार्टीका कारण आगलागी

घटनापछि विवरण बढाएको मात्र नभएर आगो लगाउनमा समेत जनप्रतिनिधि र कर्मचारीको हात देखिएको छ। प्रहरी अनुसन्धानले त्यसरात केही जनप्रतिनिधि र कर्मचारीले नै खाली घरमा रक्सीभोज खाएर आगो लगाएको पाइएको छ। ‘को–को व्यक्तिले कहाँ रक्सीभोज खाएर आगलागी भयो केही दिनमा सार्वजनिक गर्छौं, मान्छेहरु पनि पहिचान गरिसकेका छौ’, डिएसपी शर्माले भने, ‘केही जनप्रतिनिधि र कर्मचारी नै संलग्न पाइएको छ, उनीहरूलाई पक्राउ गर्ने तयारी गरिएको छ।’ उनले अनुसन्धानपछि नाम नै सार्वजनिक गर्ने बताए। रक्सीभोजमा खाएको चुरोटका ठुटाबाट आगो सल्किएको र गाउँलाई आगलागीको चपेटामा पारेको प्रहरीको निष्कर्ष छ।

(कालिकोटबाट बिस्नप्रसाद न्यौपाने र सुर्खेत गोविन्द देवकोटा)

प्रतिक्रिया