‘सुनचोर’ पछ्याउँदै भारतीय प्रहरी सुर्खेतमा

‘सुनचोर’ पछ्याउँदै भारतीय प्रहरी सुर्खेतमा


श्रीमान्–श्रीमती पक्राउ, दुई फरार, ३,८७ केजी सुन चोरी भएकोमा ६५० ग्राममात्रै बरामद
पुस २४, सुर्खेत – कर्नाटक राज्यको बैंगलोरबाट सुन चोर्ने नेपालीलाई पिछा गर्दै भारतीय प्रहरी सुर्खेत आइपुगेको छ । नेपाल प्रहरीको समन्वयमा ‘सुनचोर’ पक्राउ परेपछि भारतीय प्रहरी यहाँ आइपुगेको हो ।

कर्नाटक प्रहरीका इन्स्पेक्टर मेलविन फ्रान्सीसको पाँच सदस्यीय टोली अहिले सुर्खेतमा छ। उत्तर प्रदेश प्रहरीको अर्को टोली रुपैडियामा रहेको फ्रान्सीसले बताए। उनका अनुसार डिसेम्बर २६ ९पुस ११० मा बैंगलोरका रियलस्टेट व्यवसायी प्रवीन कुमारको घरमा काम गर्ने नेपाली कामदारले ३ दसमलब ८७ केजी सुनसहित चारवटा घडी, एउटा आइफोन र एउटा ल्यापटप चोरेका थिए।

सुनको मूल्यमात्र भारु १ करोड रहेको उनको भनाइ छ। ‘घरमालिक आफ्ना मरेका आफन्तको घरमा भेट्न गएका बेला उनीहरुले दिउँसो सुनलगायत सम्पत्ति चोरेर भागेका रहेछन्,’ इन्स्पेक्टर फ्रान्सीसले भने, ‘घरमा काम गर्ने एकजनालाई लकरमा थुनेर भागेछन्।’

कर्णाली प्रदेश प्रहरीको अनुसन्धान व्युरोले चोरीमा संलग्न चार जनामध्ये दुईजनालाई पक्राउ गरेको छ। ब्युरोले शनिबार मंगल शाहीलाई कालीकोटको लालुबाट र उनकी श्रीमतीलाई सुर्खेत पदमपुरबाट पक्राउ गरेको हो। ‘हाम्रो टोलीले आरोपितलाई पक्राउ गरी ल्याइसकेको छ, भारतीय प्रहरी पनि सुर्खेत आइसकेको छ,’ कर्णाली प्रदेश प्रहरीप्रमुख डीआइजी महेशबिक्रम शाहले भने, ‘विदेशमा काम गर्न गएर चोरी गर्ने प्रवृत्तिले नेपालकै बेइज्जत भइरहेको छ।’

वर्तमान कानुनअनुसार भारतमा गएर चोरी गर्ने व्यक्ति नेपालमा पक्राउ परेमा आरोपितलाई भारतमा बुझाउन मिल्दैन। नेपालमा समेत मुद्दा चलाउन कानुनी जटिलता छ। त्यसैले चोरी भएको सुन–सम्पत्ति दुरुस्त बरामद गरी बुझाउन सके ठूलो सफलता मानिन्छ।

भारतीय प्रहरीका इन्स्पेक्टर फ्रान्सीसले नेपाल प्रहरीबाट सोही अपेक्षा गरिएको बताए। नेपाल प्रहरीले भने सुर्खेतमा रहेकी शाहीको श्रीमतीबाट ६ सय ५० ग्राममात्र सुन बरामद भएको जनाएको छ। कालीकोटबाट समेत सुनका गहना बारमद भएका र नापतौल भइरहेको सुर्खेतका निमित्त प्रहरीप्रमुख डीएसपी प्रदीप क्षेत्रीले बताए।

‘भेटिएको सुन पनि नक्कली हो कि सक्कली छुट्याउन सकिएको छैन,’ उनले भने, ‘बाँकी सुन कहाँ छ भन्नेबारे अनुसन्धान भइरहेको छ।’ ल्यापटप र आइफोन नभेटिए पनि चोरिएका चारमध्ये एउटा घडी बरामद भएको उनले बताए।

सुन चोरीमा शाही दम्पत्तिका साथै उनका छोरा र भान्जा संलग्न रहेको भारतीय प्रहरीको आरोप छ। नेपाल प्रहरीले भने छोरा र भान्जालाई पक्राउ गर्न सकेको छैन। बाँकी सुन कहाँ छ भन्नेबारे अनुसन्धान भइरहेको आरोपितलाई पक्राउ गर्न खटिएका व्युरोका सई नारायण शर्माले बताए।
शाही दम्पत्तिका साथै उनका छोरा र भान्जा प्रवीणको घरमा घरेलु कामदारको रुपमा कार्यरत थिए। इन्स्पेक्टर फ्रान्सीसले भारतमा नेपाली कामदारबाट चोरीका यस्ता घटना निकै हुने गरेका बताए। ‘उता चोरेर यता आइहाल्छन्, त्यसपछि त चोरबाट धनसम्पत्ति असुल गर्नै चुनौती हुन्छ,’ उनले भने, ‘नेपाल प्रहरीले सहयोग गरेमा कम्तीमा पीडितले न्याय पाउँछन्।’ कान्तिपुर

प्रतिक्रिया