काँग्रेस भित्र कुनै गुटउपगुट छैन – निधि

काँग्रेस भित्र कुनै गुटउपगुट छैन – निधि

दैलेख पुस ३० ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुटको अन्त्य भएको बताउनुभएको छ । पार्टीको ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुटको अन्त्य गर्दै काँग्रेस पार्टी थप मजबुद बनेको दाबी गर्नुहुँदै निधिले महासमिति बैठकबाट एकताको संदेश सहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको बताउनुभयो । आज प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको उद्घाटन गर्नुहुँदै उपसभापति निधिले भन्नुभयो ‘अब काँग्रेस भित्रको टिके प्रर्था अन्त्य हुन्छ ।’
निधिले वर्तमान सरकारले संघियतालाई खतरामा पार्ने गतिविधी संचालन गरेको बताउँदै संघिय प्रणाली नेपाली काँग्रेसको एजेन्डा भएको दाबी गर्नुभयो । जनताको चाहाना अनुसारको शासन प्रर्णालीको व्यवस्था हुनुपर्ने बताउँदै नेता निधिले भन्नुभयो ‘वर्तमान सरकारले लोकतन्त्रको खोक्रो भाषण गरेर मुलुकलाई अधिनायकवाद तर्फ लैजान खोजेको छ, त्यसप्रति सजग हुनुपर्छ ।’ निर्मला हत्यामा संलग्नलाई पत्ता लगाउन नसक्नु सरकारको असफलता भएको बताउँदै निधिले वर्तमान सरकार कार्यकर्ता बचाउनमा लागिपरेको आरोप लगाउनुभयो । निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्नुभयो ।
लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हुने बताउदै निधिले मुलुकको समृद्धिका लागि प्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । जनजिविकाको सवालमा काम गर्दा ज्यान गुमाएका दैलेखका स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको सम्झना गर्दै निधिले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा राख्नुभयो । उहाँले पत्रकारहरुको प्रेस स्वतन्त्रता खोस्ने काम नगर्न वर्तमान सरकारलाई आग्रह समेत गर्नुभयो ।


पछिल्लो समय सरकारमा रहेका नेताहरुबाटै समाचार लेखेका आधारमा धम्क्याउनुले पत्रकारहरुको असुरक्षा बढेको भन्दै निधिले प्रेस माथी सुनियोजित ढंगबाट आक्रमण भइरहेको दाबी गर्नुभयो । अर्को प्रसंगमा उपसभापति निधिले दैलेख जिल्ला प्राकृतिक रुपले उत्कृष्ठ रहेको बताउनुभयो ।

प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले नेपाली पत्रकारहरुले लोकतन्त्र प्राप्तीका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । अर्को प्रसंगमा अध्यक्ष सिग्देलले बाँके र बर्दियालाई कर्णालीमा जोड्नुपर्ने धारणा राख्नुभयो । काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसीले कुनै पनि राजनीतिक पूर्वाग्रहमा समाचार प्रकाशन प्रसारण गर्न दैलेखका पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले पत्रकारले सत्य र तथ्यमा आधारित समाचार प्रकाशन प्रशारण गर्र्नुपर्ने धारणा राख्नुभयो । कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाहीले नेपाली काँग्रेसको ७० बर्ष लामो इतिहासमा पत्रकारहरुको व्यवसायिक सुरक्षा र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले पत्रकारहरुको हकहितसँगै पेशागत सुरक्षाको आवश्यकता औल्याउनुभयो । प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु सिवाकोटीले प्रेस युनियनको केन्द्रिय अधिवेशन यसै बर्ष हुने जानकारी गराउँनुहुँदै पत्रकारहरुलाई जनजिविकाको सवालमा कलम चलाउन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले दैलेखको पत्रकारीता इतिहासलाई स्मरण गर्नुहुँदै जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले पत्रकारहरुको व्यवसायिक सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी रानाले नेपाली काँग्रेस पार्टी भित्रको आन्तरिक द्धन्द्ध चिर्नुपर्ने धारणा राख्नुभयो । तरुणदल दैलेखका अध्यक्ष लाल बहादुर चन्दले पार्टी भित्रको एकता मजबुद बनाउनु पर्ने धारणा राख्नुभयो । प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले प्रेस युनियनको गौरवमय इतिहासको स्मरण गर्नुहुँदै प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिने जानकारी दिनुभयो । प्रेस युनियनको चौथो जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

 

प्रतिक्रिया