‘हिटलर’देखि ‘हेल्थ हिरो’सम्म

          |   प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५     ::: 346 पटक पढिएको   |  

दैलेख अस्पतालमा उनी कार्यरत रहँदाको प्रसंग हो । रगतमा जम्मा एक दशमलव आठ प्रतिशत हेमोग्लोबिन बाँकी रहेकी गर्भवती महिलालाई आकस्मिक रूपमा भर्ना गरियो । ती गर्भवतीेको प्राण करिबकरिब जानै लागेको थियो र उनले आँखा फर्काउन थालिसकेकी थिइन् । पेट चिरेर बच्चा निकाल्नुपर्ने अत्यन्त जटिल अवस्था थियो । तर, शरीरमा हेमोग्लोबिनको मात्रा न्यून । दैलेख अस्पतालका प्रमुख डा।गुणराज अवस्थीले फटाफट एफएममा सूचना प्रसारण गरेर सेना र अन्य मानिसहरूमार्फत तिन युनिट रगतको व्यवस्था मिलाए । डा।आशा पुनले गर्भवतीलाई रगत चढाउन थालिन् । डा। विमल ढकाल र डा। अवस्थीले पेटे चिरेर बच्चालाई निकाले । यसरी आमा र बच्चा दुवैलाई बचाए ।

‘रगत दिएर पेट चिर्न चार मिनेट मात्र ढिलो भएको भए गर्भवतीको ज्यानै जान सक्थ्यो’, डा। अवस्थी सम्झन्छन् । २७ वर्ष लामो स्वास्थ्य सेवाका दौरान डा।अवस्थीले यस्ता धेरै आमा र बच्चाहरूलाई बचाएका छन् । सात, आठ घण्टासम्म हिउँ नै हिउँले ढाकिएका अक्करे भीर उक्लिँदै उनले बच्चाहरूलाई खोप दिलाएका छन् । सरकार पनि जहाँ स्वास्थ्य समस्या छ, उनलाई त्यही खटाउँथ्यो । यही कारण २७ वर्षे सेवा अवधिमा उनले श्रीमती र परिवारसँग बिताएको समय भनेको त्यस्तै ६ वर्ष मात्र हो । बाँकी समय उनी बिरामीकै सेवामा दत्तचित्त रहे । तैपनि परिवारको उनलाई पूरापूर सहयोग रह्यो । स्वास्थ्य क्षेत्रमा उनको योगदानको कदर गर्दै विश्व स्वास्थ्य संगठन ९ डब्लूएचओ० ले २०७२ सालमा उनको एउटा वृत्तचित्र समेत बनाएको छ, ‘हेल्थ हिरो’ । नेपाल सरकारले २०७० सालमा उत्कृष्ठ स्वास्थ्यकर्मी अवार्डबाट सम्मानित गरिसकेको छ । यिनै स्वास्थ्य नायक २०७४ साल फागुनमा एघारौं तहमा बढुवा भएका छन् र अहिले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशक भएका छन् । तर, संघीयतापछिको जनस्वास्थ्य सेवामा ‘दाल एकातिर, भात अर्कोतिर’ भएको उनलाई पटक्कै मन परिरहेको छैन । केन्द्र, प्रदेश र स्थानीय सरकारबीच स्वास्थ्य सेवाको कुनै सेतु नै नभएकोमा उनलाई दिक्क लागेको छ । मुलुकको स्वास्थ्य क्षेत्रको विकासमा घोडाझैं दौडन उनी अझै तयार छन्, उनको उत्साह पनि उत्तिकै छ, तर भन्छन्, ‘नीति निर्माताले ढंग नपु¥याएकाले मुलुकका तीन तहका सरकार यस्ता नदी भएका छन्, जसमा स्वास्थ्य सेवाको कुनै पुल नै छैन । अनि कसरी तर्ने रु’

रहर त वकिल बन्ने थियो

२०१९ साल कात्तिक २१ गते दार्चुलाको शंकरपुर गाविस–४ गोठ्यौडी भन्ने गाउँमा पिता विष्णुभक्त अवस्थी र गोमती अवस्थीका जेठा छोराका रूपमा डा।गुणराज अवस्थीको जन्म भएको हो । उनीपछि चार बहिनी र दुई भाइ जन्मिएका हुन् । दार्चुला, पस्तीस्थित शंकरपुर माविबाट प्रवेशिका तह उत्तीर्ण गरेपछि डा।गुणराजको रहर थियो, कानुन विषय पढ्ने र वकिल बन्ने ।

यो रहर उनमा पलाउनुको खास कारण के थियो भने घरमा सधैं जग्गा, जमिन मिचेका लगायत अनेक मुद्दा, मामिलाका कुराहरू भइरहन्थे । ‘छोराले कानुन पढ्छ भने पढोस् न त’ भनेर घरमा मातापिता पनि सहमत भइसकेका थिए र उनी नेपालगन्जस्थित महेन्द्र ल क्याम्पसमा भर्ना हुने तयारीमा जुटिसकेका थिए । ठीक त्यसैताक उनका ठूलो बुबाका छोरा अंगे्रजीका प्रोफेसर डा।जयराज अवस्थी ९सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति० ले घर आएको बेला भनेछन्, ‘पढाइमा यति अब्बल केटोले कानुन हैन, मेडिकल डाक्टर पो पढ्नुपर्छ ।’

हक्की स्वभावका गुणराजले दाजुको सल्लाहलाई त्यसबेला मानेनन् र कानुन नै पढ्ने अड्डी कसे । कलेजको पढाइ ग्याप गरेर उनले महेन्द्रनगरको एउटा स्कुलमा पढाएरै एक वर्ष बिताए । आखिर, डा। गुणराजको जन्म कानुनका नौ सिङ केलाएर बहस गर्न हैन बरु आर्तहरूको चह¥याइरहेको घाउमा मल्हम दल्न पो भएको रहेछ । घरका प्रायः सबै सदस्यले ‘डाक्टरी नै पढ्नुपर्छ’ भनेर अति नै जोडबल गरेपछि अन्ततः गुणराजलाई विसं २०३६ सालमा महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा भर्ना हुन करै लाग्यो । आईएस्सी पढ्दै गर्दा उनले स्कुल र साल्ट ट्रेडिङमा काम पनि गरे । आईएस्सी पास गरेपछि २०३९ सालमा उनी सोभियत सरकारको छात्रवृत्ती अन्तर्गत मेडिसिन पढ्न तत्कालीन सोभियत संघ पुगे । एमबीबीएस पूरा गरेर २०४७ सालमा मस्कोबाट एरोफ्ल्ट नाम गरेको जहाज चढी काठमाडौं ओर्लंदा नै उनको मनमा मुलुकको स्वास्थ्य क्षेत्रमा केही नौला काम गर्ने जोस, उत्साह र लगाव पलाइसकेको थियो । डा। अवस्थीको पहिलो पोस्टिङ २०४७ मा अस्थायी मेडिकल अधिकृतका रूपमा भेरी अञ्चल अस्पतालमा भयो, जहाँ उनले लगातार नौ वर्षसम्म काम गरे ।

अस्पताल खोल्दा ‘कारबाही सिफारिस’

४० वर्षको उमेर हुन्जेलसम्म डा।गुणराजले लोकसेवा परीक्षा नै दिएनन् । किन त रु ‘धेरै वर्षसम्म सरकारी नोकरी गरेर पेन्सन बढाउने पक्षमा म थिइनँ । ४० को उमेरमा लोकसेवा दिने, २० वर्ष मात्र सरकारी नोकरी खाने र ६० को उमेरमा सेवानिवृत्त हुने । यही भएर मैले १३ वर्षसम्म लोकसेवा नै दिइनँ’, डा।गुणराज भन्छन् । २०५७ सालमा लोकसेवा पास गरे । त्यसको एक वर्षपछि २०५८ सालमा उनको सरुवा टीकापुरमा भयो, जहाँ त्यतिबेला प्राथमिक स्वास्थ्य केन्द्र मात्र थियो । जनसंख्या धेरै भएकाले टीकापुरमा रोगीहरूको चाप बढिसकेको थियो र अस्पताल अपरिहार्य भइसकेको थियो । डा।गुणराजलाई लाग्यो, प्राथमिक स्वास्थ्य केन्द्रमै सीमित भएर बिरामीको बढ्दो चाप थेग्न सकिन्न । अनि उनले प्राथमिक स्वास्थ्य उपचार केन्द्रको साइनबोर्डलाई ‘टीकापुर अस्पताल’मा परिणत गरे, जसले टीकापुरका जनतालाई अस्पताल खोल्न उत्प्रेरित ग¥यो ।

यो खबर स्वास्थ्य मन्त्रालयमा पुगेपछि ‘मन्त्रालयले स्वीकृति नदिई अस्पताल खोल्ने अधिकार कसले दियो रु’ भन्ने प्रश्न गर्दै उनीमाथि कारबाहीको सिफारिस गरियो । तर, कारबाहीको सिफारिस त्यसबेला निरर्थक भयो, जब उनको पहललाई जनताले साथ दिए । कोरियन सहयोग संस्था कोयकाले अस्पतालका लागि चाहिने भवन निर्माण तथा उपकरण दिएर सहयोग ग¥यो र अस्पताल बनेरै छाड्यो । यति उत्तम काम गरेबापत अन्ततः मन्त्रालयले पनि उनलाई बोलाएर धन्यबाद दिन करै लाग्यो ।

जुम्ला अस्पतालका ‘हिटलर’

दुई वर्षसम्म टीकापुर अस्पतालमा प्रभावकारी काम गरेपछि सरकारले डा।गुणराजलाई विकट जिल्ला जुम्ला पठायो । अन्य अञ्चलहरूमा अञ्चल अस्पतालहरू थिए, तर कर्णालीमा अञ्चल अस्पताल थिएन । डा।गुणराजकै पहलमा कर्णालीमा पनि अञ्चल अस्पताल स्थापना हुनुपर्ने माग अगाडि बढाइयोे, यसको पनि एउटा रोचक संयोग रहेछ । त्यसबेला शाहीशासन थियो र राजा ज्ञानेन्द्रको जुम्ला सवारी भएको थियो । राजाले जुम्लाका विभिन्न सरकारी निकायका प्रतिनिधिहरूलाई दर्शनभेट दिएका थिए । ‘मलाई तत्कालीन अञ्चल प्रशासकले राजासमक्ष एउटा मात्र माग राख्न सल्लाह दिएका थिए । सोहीबमोजिम मैले राजासमक्ष अञ्चल अस्पतालको माग राखेँ, नभन्दै शाही सरकारका पालामा कर्णालीमा अञ्चल अस्पताल स्थापना भयो’, डा। अवस्थी सम्झन्छन् ।

अञ्चल अस्पतालका कारण कर्णालीका धेरै बिरामीले राहत पाए । अचेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै स्थापना भएको छ र यसमा पनि डा।अवस्थीको ठूलो देन रहेको स्थानीय जनता अझै पनि सम्झने गर्छन् । कर्णालीमा हुँदा उनले २७ महिनासम्म गाउँगाउँमा खोप क्लिनिक र गाउँघर क्लिनिक चलाए । स्वास्थ्यकर्मीहरू वर्षमा चार महिना मात्र जुम्ला अस्पतालमा बस्थे । दसैंमा घर गएकाहरू जेठ नभई फर्कंदैनथे । डा।अवस्थीले कर्मचारीलाई अनिवार्य रूपमा समयमै अस्पताल हाजिर हुनै पर्ने कडिकडाउ नियम लागू गरे । कहाँसम्म भने कुनै पनि स्वास्थ्यकर्मीले जुम्ला एयरपोर्टबाट बाहिर जाँदा डा। अवस्थीको अनुमति लिएको हुनुपर्ने, नलिएको भए जान नदिनेसम्मको तारतम्य मिलाए । यसले गर्दा ‘कामचोर’ कर्मचारीहरूले सुरुका दिनहरूमा उनीमाथि ‘हिटलर’को आरोपसमेत लगाए । ‘सरकारी कर्मचारीले तलबमात्र खाने हैन, समयमै कार्यालय आएर आफूलाई दिइएको जिम्मेवारी इमानदारीतापूर्वक निर्वाह गर्नुपर्छ भन्ने मेरो मान्यता हो’, डा। अवस्थी भन्छन्, ‘सुरुसुरुमा हिटलर भने पनि स्वास्थ्य सूचकांकहरू सकारात्मक आउन थालेपछि सबै कर्मचारी मप्रति सकारात्मक भए । स्थानीय जनताको पनि मैले साथ पाएँ ।’

गर्भवतीको घरमा नीलो झन्डा

२०६१ सालमा उनी एम।पी।एच ९मास्टर अफ पब्लिक हेल्थ० पढ्न बंगलादेश गए । पढेर फर्केपछि उनको सरुवा सोझै दैलेखमा भयो । ६२ गाविस भएको पहाडी जिल्ला दैलेखमा बाल मृत्युदर र मातृ मृत्युदर सबैभन्दा उच्च थियो । अतः उनले आमा र शिशुको अकालमा हुने मृत्यु रोक्नमै आफूलाई बढी केन्द्रित गरे । गाउँगाउँमा ‘बर्थिङ सेन्टर’ स्थापना गराउँदै गए । सरकारले प्रसूतिका लागि आउनेलाई यातायात खर्चसमेत दिने निर्णयले उनको अभियानलाई थप टेवा दियो । पञ्चकोसी एफएममार्फत समुदाय तहबाटै सुरक्षित मातृत्वका बारेमा प्रभावकारी कार्यक्रम चलाए । यतिमात्र हैन, सबै राजनीतिक दलका प्रतिनिधिलाई यसका पक्षमा प्रतिबद्ध गराई त्यसलाई रेडियोमार्फत प्रसारितसमेत गराए । यही मेसोमा डा। अवस्थीले मातृ शिशु स्वास्थ्यका क्षेत्रमा एउटा नौलो र प्रभावकारी अभियान चलाए । त्यो अभियान थियो, गर्भवती भएका हरेक घरको कौसीमा नीलो झन्डा राख्ने । यसरी नीलो झन्डा राखेपछि सबैलाई यो घरमा गर्भवती छिन् भन्ने थाहा हुने भो । अनि गाउँका राजनीतिक अगुवा, बुद्धिजीवी, पत्रकार, शिक्षक, स्वास्थ्यकर्मीहरू त्यो घर भएर जाँदा केहीबेर रोकिएर भन्न थाले, ‘आइरन चक्की खायौ कि खाएनौ रु नियमित स्वास्थ्य परीक्षण गरायौ कि गराएनौ रु ल है, बच्चा जन्माउन त स्वास्थ्य केन्द्र नै जानुपर्छ ।’

यो अभियानले हरेक गर्भवतीमा एउटा चेतना जगायो । आफ्नो र बच्चाको स्वास्थ्यको ख्याल गर्न घचघच्यो । संयुक्त राष्ट्रसंघले समेत यसलाई मान्यता दियो । यो कार्यक्रम कुन हदसम्म लोकप्रिय भयो भने बेलायत र जर्मनीको संसद्मा समेत यसको चर्चा भयो । बर्थिङ सेन्टर अनि नीलो झन्डा अभियानकै कारण अचेल दैलेख नै सबैभन्दा बढी संस्थागत सुत्केरी हुने जिल्लामा गनिएको छ । २०६६ सालमा जाजरकोट र रुकुममा धेरै महामारी फैलियो, तर दैलेखमा फैलिन पाएन । यसलाई डा।अवस्थीको सफल नेतृत्वकै प्रतिफलका रूपमा लिने गरिन्छ ।

टाँटे स्वास्थ्य चौकीमा रक्त सञ्चार केन्द्र

२०६६ साल पुसमा उनलाई बाजुरा सरुवा गरियो । उनको स्वभाव कस्तो भने, सरुवाको पत्र पायो कि तत्काल सम्बन्धित क्षेत्रमा हाजिर भइहाल्ने र काम थालिहाल्ने । उनी पुग्दा स्वास्थ्य सूचकांकमा बाजुरा ७४ नम्बरमा थियो । पचहत्तरै जिल्लामा सबैभन्दा कमजोर स्वास्थ्य अवस्था बाजुराकै थियो । त्यसैले काम लगाउने मात्र हैन, साधन र स्रोत पनि दिनुपर्छ भन्ने मान्यताका साथ उनले स्वास्थ्यकर्मी र कर्मचारीलाई परिचालन गरे । उनले २०६७ असारमा आफ्नै पहलमा टाँटे स्वास्थ्य चौकी बाजुरा आकस्मिक रक्त सञ्चार केन्द्र नै स्थापना गरे । उनको कामको सर्वत्र प्रशंसा हुन थालेपछि मन्त्रालयले उनलाई स्त्री रोग विशेषज्ञ ९डीजीओ० पढ्न प्रसूति गृह पठायो ।

यसरी बदलियो बैतडी

२०६७ साउन १ बाट डीजीओ पढन थालेका डा।अवस्थीले कोर्स पूरा गर्दै थिए । एक दिनको कुरा हो । डा। अवस्थी प्रसूति गृहमा काम गरिरहेका थिए । तत्कालीन स्वास्थ्यसचिव डा। सुधा शर्मा, प्रसूति गृहकी तत्कालीन डाइरेक्टर डा। लता वज्राचार्य, तत्कालीन स्वास्थ्य सेवा विभागका डीजी डा। यशोवर्धन प्रधान र सुदूरपश्चिम स्वास्थ्य निर्देशक महेन्द्र श्रेष्ठले डा।अवस्थीलाई भने, ‘तपाई सुदूरपश्चिमको हुनुहुँदो रहेछ । अब तपाईंले बैतडीमा गएर काम गर्नुपर्छ ।’ सुदूरपश्चिमका नौ जिल्लामा बैतडी स्वास्थ्य सूचकांकमा सबैभन्दा अन्तिममा थियो । त्यसैले पढाइ सकिनासाथ २०६८ भदौमा डा।अवस्थीलाई बैतडी पठाइयो । त्यहाँ पुगेपछि उनलाई लाग्यो, साँच्चिकै बैतडी स्वास्थ्यका दृष्टिले धेरै पिछडिएको रहेछ । हुन त बैतडी सहिद दशरथ चन्द, नेपालकै प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको जिल्ला हो । तर, स्वास्थ्य सूचकांकमा बैतडी ६८ औं नम्बरमा थियो ।

‘म पुग्दा त्यहाँका अस्पताल मानौं डम्पिङ साइटजस्तै देखिन्थे । ६ वटा कोठामध्ये पाँचवटा कोठा पुराना काम नलाग्ने सामानले भरिएका थिए । कार्यालयहरू सहयोगीहरू गेटमा हुन्थे, सिस्टर र मिस्टरहरू अस्पतालहरु बाहिर बस्थे, फोहोर उठाउँदैनथे’, डा।अवस्थी सम्झन्छन्, ‘कर्मचारीहरू हाजिर गर्थे र टाप ठोक्थे । राउन्ड ड्युटी गर्नुपर्ने बिरामीलाई सकेसम्म भर्ना नै गर्दैनथे । पोस्टमार्टमा गर्न मात्र त्यहाँ डाक्टर देखिनुपर्ने अवस्था थियो ।’ उनले यी सारा बेथितिमा सुधार ल्याउने संकल्प गरे । २०६८ असोज १८ गते उनका पिताजीको देहान्त भयो । १५ दिनको किरिया बिदा पनि छोट्ट्याएर उनी १२ दिनमै कार्यक्षेत्र फर्किएका थिए । किनकि उनलाई तत्कालमा एक्सनमा उत्रनु थियो । २०६८ साल भदौ ११ परिचयात्मक कार्यक्रम, १२ गते दातृ निकायका प्रतिनिधि, १३ गते राजनीतिक दलका नेता र १४ गते पत्रकारसँग बैठक राखेर जिल्लाको स्वास्थ्यस्थितिको अवस्थाका बारेमा बुझे । त्यसपछि उनले एउटै घोषणा गरे, बैतडीको स्वास्थ्य सूचकांक ६८ बाट टप टेनमा ल्याउने । मंसिर १० गते सबै इलाका स्वास्थ्य चौकीका प्रमुखहरूलाई बोलाएर आफ्नो टपटेनमा ल्याउने लक्ष्यबारे जानकारी गराएर यही लक्ष्यमा दत्तचित्त भएर कर्मक्षेत्रमा होमिन हौसला र आवश्यक निर्देशन दिए । तत्काल नवजात शिशु कार्यक्रम र खोप कार्यक्रम सुरु गराइहाले । त्यसका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई प्रभावकारी परिचालन गराए । कतिपय महिला स्वास्थ्य स्वयंसेविका बच्चालाई छुन मान्दैनथे । त्यसरी बच्चालाई नछुने स्वास्थ्य सेविकालाई उनले हटाइदिए ।

प्रधानमन्त्रीलाई भने, ‘हैन भने सरुवा पाऊँ’

बैतडीमा उनी कार्यरत रहँदा मुलुकमा डा।बाबुराम भट्टराई प्रधानमन्त्री थिए । त्यसबेला ‘हेलो सरकार’ कार्यक्रम सुरु भएको थियो र त्यसमा प्रधानमन्त्रीले जनताका समस्याहरू सुन्ने गर्थे । डा।अवस्थीले सोही कार्यक्रममा प्रधानमन्त्री भट्टराईलाई आफंैले फोन गरेर भने, ‘जिल्लामा शल्यक्रिया गरि बच्चा जन्माउने ९ऋक् ० उपकरणको अभाव छ । त्यसको अभावमा म यहाँ काम गर्नै नसक्ने अवस्थामा पुगेको छु, या त ती सामग्री जिल्लामा पठाइदिनुस्, या मेरो सरुवा गरिदिनुस् ।’ प्रधानमन्त्रीलाई ठाडै यसो भनेको केही समयभित्रै जिल्लामा सिजरिङ उपकरण ९सुत्केरीको आकस्मिक शल्यक्रियाका लागि चाहिने औजार० को व्यवस्था गर्न सरकार बाध्य भयो । उनको कामबाट प्रभावित भएर युनिसेफ, जी।आई।जेड, यू।एन।एफ।पीए र सेभ द चिल्ड्रेन आदि सबैले सहयोग गरे । बैतडी अस्पतालमा बर्थिङ सेन्टर मात्र बनेन, लोडसेडिङको बेलामा पनि विद्युत् आपूर्ति सुचारु होस् भनेर जि।आइ।जेड को सहयोगमा ४००० वाट को सोलार प्यानल नै जडान गरियो । यसले सकारात्मक परिणाम ल्यायो । डा।अवस्थीले काम थालेको दुई वर्षमै बैतडी पूर्ण खोप जिल्ला बन्न पुग्यो । पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी सहित स्वास्थ्य मन्त्रालयका अधिकारी बैतडी पुगेर बैतडीलाई पूर्ण खोप जिल्ला घोषणा गरे । अर्को वर्ष बैतडी स्वास्थ्य सूचकांकमा ६८ बाट उत्कृष्ट १० भित्र पर्न सफल भयो । यसैगरी सबैभन्दा बढी संस्थागत सुत्केरी हुने जिल्लामा पनि यो दरिन पुग्यो । त्यसको अर्को वर्ष बैतडी स्वास्थ्य सूचकांकमा तेस्रो नम्बरमा पर्न सफल भयो ।

सीडीओलाई समयको पाठ

डा। अवस्थी समयमा पक्का छन् । र उनी चाहन्छन्, अरूले पनि समयको उत्तिकै ख्याल गरून् । डी।पी।टी अर्थात् डेट ९मिति०, प्लेस ९स्थान० र टाइम ९समय० मा प्रतिबद्ध नहुने मानिसलाई उनी खासै रुचाउँदैनन् ।बैतडीमा एक पटक डा।अवस्थीको कार्यालयमा स्वास्थ्यसम्बन्धी बैठक थियो र त्यसमा प्रमुख जिल्ला अधिकारी पनि सहभागी हुनुपर्ने थियो । तर, सीडीओ साब निर्धारित समयभन्दा पाँच मिनेट ढिलो आए । प्रमुख जिल्ला अधिकारीले नै समयको पालना नगरेपछि अरूले के सिक्ने रु डा।अवस्थीले ढिलो आएको भन्दै सीडीओ साबलाई आफ्नो कार्यालयमै छिर्न दिएनन् । यसरी समयमै उपस्थित नहुँदा सीडीयो फर्किनुपरेको घटनालाई सञ्चार माध्यमले सकारात्मक रूपमा प्रचार गरे । यसले जिल्लाभरि एउटा सकारात्मक सन्देश प्रवाहित ग¥यो । त्यसपछि त जिल्लाका सबै स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी सजग भए र समयमै कार्यालय आई ड्युटी गर्न थाले ।

हुन त सदरमुकाममा रहेका ‘कामचोर’ कर्मचारीहरू उनलाई सरुवा गर्न विभिन्न आरोप लगाएर धपाउने भरमग्दुर कोसिस नगरेका हैनन् । तर, जनताले साथ दिएकाले ती प्रयासहरू सफल भएनन् । किनकि, कामलाई बाहेक अन्य कुनै पनि कुरालाई उनले प्राथमिकता दिएनन् । उनी हरघडी अस्पताल भित्रै हुन्थे ।२०७४ साल फागुनमा एघारौं तहमा बढुवा भएर २०७५ श्रावण देखि उनी अहिले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशक भएका छन् । र उनको काम गर्ने जाँगर कायमै छ । सरकार र नीति निर्माताले बुद्धि विवेक पु¥याएर तीन तहका सरकारबीच स्वास्थ्य सेवाको पुल कायम गर्न सके पहिलेझैं दत्तचित्त भएर कर्मयुद्धमा होमिन यी ‘हेल्थ हिरो’ तयार छन् । सुदूरपश्चिम प्रदेशलाई स्वास्थ्यमा देशकै उत्कृष्ठ प्रदेशको रुपमा चिनाउने उनको अहिले एउँटै मिसन छ ।

हेल्थ टुडेबाट



Leave a comment

Your email address will not be published.


*