बालबालिकाले मागे ‘छात्रबृति र अतिरिक्त कक्षा’

बालबालिकाले मागे  ‘छात्रबृति र अतिरिक्त कक्षा’

हिक्मत बहादुर नेपाली
दैलेख माघ ५ ।

बादी समुदायसँगै अन्य समुदायको बसोबास रहेको दैलेख सदरमुकाम स्थित नारायण नगरपालिका वडा नं. १ नमूना बस्तीका बालबालिकाले विपन्न बालबालिकाहरुका लागि छात्रबृति उपलब्ध गराउनुपर्ने माग राखेका छन् । सोसेक नमूना बाल चौतारीद्धारा शनिवार बस्तीमा आयोजित नमूना बस्तीका बालबालिकासँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो माग राखेका हुन् । बस्तीमा संचालित बाल चौतारीको आवश्यकताहरुमा उनिहरुले समुदायका विपन्न बालबालिकाहरुलाई छात्रबृति उपलब्ध गराउनुपर्ने स्थानीय सरकारसँग माग राखेका हुन् । गत कात्तिक महिना देखि उक्त बस्तीमा सोसेक नमूना बाल चौतारी संचालित छ ।
आर्थीक समस्याका कारण कतिपय बालबालिकाहरु विद्यालय जानबाट बञ्चित भएको भन्दै बालबालिकाको विद्यालय शिक्षामा निरन्तरताका लागि छात्रबृति उपलब्ध गराउनुपर्ने माग राखेका हुन् । यसका अलवा बालबालिकाले बस्तीमा रहेको प्रारम्भिक बाल विकास केन्द्रको भवन मर्मत तथा पुननिर्माण गर्न नारायण नगरपालिकासँग आग्रह गरेका छन् ।
बस्तीका बालबालिकाहरुको आवश्यकताबारे जानकारी गराउँदै बाल चौतारीका पुर्णीमा बुढामगरले बाल चौतारीलाई खेलकुद र मनोरञ्जनका सामग्रीहरु माग गरिन् । उनले सरसफाईका सामग्री, हरेक हप्ताको शनिवार संचालन हुने बाल चौतारीमा हुने क्रियाकलापमा पुरस्कारको व्यवस्था हुनुपर्ने, कार्पेट पिफर्मको व्यवस्था हुनुपर्ने बताइन् ।
ति बालबालिकाहरुले नियमित कक्षा बाहेकका अतिरिक्त थप कक्षा संचालनका लागि सहयोग गर्न नारायण नगरपालिकासँग आग्रह गरेका छन् । उक्त बस्तीमा प्रारम्भिक बाल विकास केन्द्र संचालन भएपनि अहिले बन्द छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले समुदायमा संचालित बाल चौतारीले बालबालिकाको व्यवहार परिवर्तनमा सहयोग पुगेको बताए । ‘बाल चौतारीमा समावेश भएका बालबालिकाहरुको व्यवहार परिवर्तनसँगै बादी बालबालिकालाई गरिने व्यवहार पनि परिवर्तन भएर जानेछ,’ उनले भने ।
नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले समुदायका लागि संचालित प्रारम्भिक बाल विकास केन्द्र तत्काल संचालनमा ल्याउने प्रतिबद्धता जनाउनुयभयो । समुदायका अभिभावकका कारण केन्द्र बन्द भएको बताउँदै नगर प्रमुख खड्काले केन्द्र बन्द भएकै कारण बाल विकास केन्द्रकी शिक्षिकालाई अर्कै विद्यालयमा पठाइएको बताए । ‘बाल विकास केन्द्र संचालनका लागि यहाँका अभिभावकको अग्रसरता जरुरी छ,’ उनले भने ‘त्यसका लागि नगरपालिका जस्तो सुकै समस्या समाधान गर्न तयार छ ।’ समुदायका बालबालिकाको व्यवहार परिवर्तन गर्ने उदेश्य सहित संचालन भएको बाल चौतारीलाई आवश्यक सहयोग गर्ने नगरप्रमुख खड्काले प्रतिबद्धता जनाए । नगरप्रमुख खड्काले नमूना बस्तीका महिलाहरुलाई व्यवसायिक तालिम प्रदान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्रीले बादी समुदायका बालबालिकाहरुमा आएको परिवर्तनले आफुलाई खुसी बनाएको प्रतिक्रिया दिनुभयो । सोसेकका अध्यक्ष हीरासिंह थापाले बादी समुदायका बालबालिकाहरुको अनुशासन, स्वास्थ्य, सरसफाई, शिक्षा र उनिहरुको आनीबानीमा परिवर्तन ल्याउने उनको उदेश्यले बाल चौतारी संचालनमा ल्याइएको बताए । सोसेक नमुना बाल चौतारीमा हाल बादी र अन्य समुदायका गरी ४० जना बालबालिका सहभागी हुने गरेका छन् । हाल सम्म १० वटा कक्षा संचालन भइसकेको बाल चौतारीलाई सहजिकरण गरिरहेकी युवा अभियान्ता सजना सुनारले बताइन् । उनका अनुसार बाल चौतारीमा १२ बर्ष मुनिका र १२ देखि १६ बर्ष उमेर समुहका बालबालिका गरी दुई वटा समुह छ ।
माथिल्लो उमेर समुहका बालबालिकाहरुले साना बालबालिकाहरुलाई अनुशासन लगाएतका विषयमा सहजिकरण गर्ने गरेको सुनारको भनाई छ । अभियान्ता सुनारका अनुसार अभियानलाई बालबालिकाका अभिभावकले समेत सहयोग गर्ने गरेका छन् । हरेक शनिवार विहान संचालन हुँदै आएको बाल चौतारीमा बालबालिकालाई सरसफाई बन्न, अनुशासित बन्न, नियमित विद्यालय जान तथा बालबालिकाको व्यक्तित्व विकाससँगै बोल्नेकला, चित्रकला र बालबालिकाको अन्तरनिहित प्रतिभाहरु उजागर गर्ने गरिएको सुनारले बताइन् । बादी समुदायका बालबालिकाहरु विस्तारै परिवर्तन हुँदै गएको सुनारको बुझाई छ । बालबालिकाहरु अनुशासित हुँदै गएका छन्, सरसफाईमा ध्यान दिन थालेका छन्, उनि भन्छिन् ‘यो मेरो लागि उपलब्धी हो ।’ सुनारले भनिन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र बाल हेल्पलाइन दैलेखको सहयोगमा आयोजित उक्त कार्यक्रम बाल चौतारी संरक्षण समितिका संयोजक पवित्रा बादीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया