६ महिनामा ४ जना फरार अभियुक्त पक्राउ

६ महिनामा ४ जना फरार अभियुक्त पक्राउ

हिक्मत बहादुर नेपाली
दैलेख माघ ७ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले ६ महिनाको अवधीमा ४ जना फरार अभियुक्त पक्राउ गरेको छ । अदालतबाट विभिन्न समयमा दोषि ठहर भएपनि फरार रहेका अभियुक्तलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले आर्थीक बर्ष २०७५/०७६ को ६ महिनाको अवधीमा सम्पादन गरेका कामहरु जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । अदालतले विभिन्न समयमा दोषि ठहर गरी कैद सजाय र जरिवाना फौसला गरेपनि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलले बताउनुभयो ।


प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार यो अवधीमा ८५ जना बालबालिका हराएको भन्ने निवेदन आएको थियो । जसमध्ये २५ जना बालबालिका मात्रै फेला गरेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकमा अहिले पनि ५९ जना बालबालिका हराएको सूचीमा छन् । हराएका मध्ये धेरै जसो बालबालिकाहरु सवारी साधनमा सहचालक तथा अन्य ठाउँमा काम गरेको अवस्थामा फेला परेको नायब उपरीक्षक पोखरेलले बताउनुभयो । ‘हाम्रो तथ्यांकमा हराएको सूचीमा रहेका बालबालिकाहरुमध्ये अभिभावकको सम्पर्कमा आइसकेपनि प्रहरीलाई जानकारी नआएको हुन सक्छ, नायब उपरीक्षक पोखरेलले भन्नुभयो ।’

गत श्रावण देखि पुस महिनाको अवधीमा ८१ वटा मुद्धा जिल्ला प्रहरी कार्यालय दैलेखमा दर्ता भएको थियो । जसमध्ये ४२ वटा मुद्धामा प्रहरी सफल भएको छ भने एउटा मुद्धा असफल भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । उक्त मुद्धामा छानवीन भइरहेको उहाँको भनाई छ । यस्तै ३४ वटा मुद्धा प्रहरीले अनुसन्धान गर्न नपर्ने (भवितव्य) रहेका छन् भने ४ वटा मुद्धा चलिरहेका छन् । यो अवधीमा दर्ता भएका मुद्धाहरु सफल भएको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख न्याय सम्पादनमा ९७ प्रतिशत सफल भएको प्रहरी नायब उपरीक्षक पोखरेलको दावी छ ।
६ महिनाको अवधीमा भएको कार्यसम्पादनहरुको बारेमा जानकारी गराउनुहुँदै प्रहरी नायब उपरीक्षक पोखरेलले समुदाय प्रहरी साझेदारी कार्यक्रम र अन्य कार्यक्रम गरि जिल्लामा प्रहरीले ७ सय बढी विभिन्न चेतनामुलक कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुले यो अवधीमा १३ सय ६५ लिटर अबैध मदिरा र ७ सेट मदिरा बनाउने भाडा बरामत गरी नष्ट गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त जिल्लाभर ३ सय ६० टोल मध्ये ३ सय ३० वटा टोल समिति गठन गरेको छ भने ८२ वटा माध्यामिक विद्यालयमा प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिएको छ ।
‘अन्यायमा परेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन लिएर आउने तर भोली पल्ट मिलापत्र भयौ भन्नेको संख्या बढी छ,’ प्रहरी नायब उपरीक्षक पोखरेलले भन्नुभयो ‘त्यस्ता निवेदन मात्रै ४२ वटा छन् ।’ धेरै जसो लेनदेनका मुद्धामा मिलापत्र हुने गरेको उहाँको भनाई छ । निवेदन दिएका तर सम्पर्क विहिन भएका १७ वटा र सम्बन्धित निकायमा पठाएको ६ वटा मुद्धा रहेको उहाँको भनाई छ । ट्राफिक कार्यालय तर्फ ६ महिनाको अवधीमा २ हजार ४ सय ८३ सवारी साधनलाई कार्बाही गरी रु १४ लाख ५७ हजार राजश्व संकलन भएको नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधीमा भएका विभिन्न सवारी दुर्घटनामा ८ जना पुरुष र २ जना महिला गरी १० जनाको ज्यान गएको छ । नायब उपरीक्षक पोखरेलका अनुसार धेरैजसो ट्याक्टर, जिप र मोटरसाइकल दुर्घटना हुने गरेको छ । ‘जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य छ,’ प्रहरी नायब उपरीक्षक पोखरेलले भन्नुभयो ‘शान्ति सुरक्षा कायम गर्न स्थानीय नागरिकहरुको सहयोग पनि उत्तिकै छ ।’


जिल्ला प्रहरी कार्यालय दैलेखद्धारा भएका कार्यसम्पादन बारे जानकारी गराउनुहुँदै प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेल

प्रतिक्रिया