मतदान मार्फत गाउँपालिकाको केन्द्र निर्धारण

मतदान मार्फत गाउँपालिकाको केन्द्र निर्धारण

दैलेख माघ १३- स्थानीय तहको निर्वाचन भएको डेढ बर्ष पछि गाउँपालिकाको केन्द्र विवाद टुंगिएको छ । दैलेखको गुरासँ गाउँपालिकाले केन्द्र कहाँ राख्ने भन्ने लामो रस्साकस्सी पछि मतदान मार्फत केन्द्र निर्धारण गरिएको छ । गाउँपालिकाको चौथो गाउँसभा तथा हिउँदे अधिवेशनले गाउँपालिकाको स्थायी केन्द्र टुंगो लगाएको हो । गाउँसभाले केन्द्र निर्धारण गर्न सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रिया मार्फत टुंगो लगाइएको हो ।
गाउँपालिकाको स्थायी केन्द्र रानीमत्ता या रतीखोला भन्ने दुई स्थानको विकल्पमा गरिएको मतदान प्रक्रियामा गाउँसभाका दुई तिहाई मतले रानीमत्ता केन्द्र बनाउनु पर्नेमा सहमत भएका हुन् । गाउँसभामा कायम ४४ जना सदस्य मध्ये ३३ जनाले गुराँस गाउँपालिका –५ को रानीमत्तामा केन्द्र हुनुपर्ने भन्दै मतदान गरेको गुराँस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ललित कुमार थापाले जानकारी दिनुभयो । बाँकी १० जनाले वडा नं. ४ को रतीखोलाका लागि मतदान गरेका थिए भने एक जनाको मत रद्द भएको थियो ।
रानीमत्तामा केन्द्र निर्धारण गर्न दुई तिहाइ मत खसेका कारण अब गुराँस गाउँपालिकाको केन्द्र रानीमत्ता निर्धारण भएको छ । यसअघि गाउँपालिकाको अस्थायी केन्द्र वडा नं. ४ घोडाबासबाट सेवा प्रवाह गर्दै आएको थियो । लामो बहस र छलफलबाट गुराँस गाउँपालिकाको स्थायी केन्द्र कहाँ राख्ने भन्ने विषयमा टुङ्गो नलागेपछि अन्ततः निर्वाचन गराइएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।

प्रतिक्रिया