‘विद्यार्थी स्कुल नआए अभिभावकलाई फोन’

‘विद्यार्थी स्कुल नआए अभिभावकलाई फोन’

अभिभावकलाई फोन गर्दै आदर्श आधारभूत विद्यालयका प्रधानध्यापक योगेन्द्र राना


निर्मल अधिकारी
दैलेख माघ १४- सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु स्कुल आए वा आएनन् भन्ने बारे विद्यालयका शिक्षकले खासै वास्ता गर्दैनन् । नीजि विद्यालयहरुले आफ्ना विद्यार्थी स्कुल नआए, स्कुल नआउनुको कारणबारे खोजी गर्ने गरेपनि सामुदायिक विद्यालयले त्यति चासो दिएको पाइदैन् तर दैलेखको केहि सामुदायिक विद्यालयले विद्यालय नआउने विद्यार्थीको अभिभावकलाई फोन गरी विद्यालय नआउनुको कारण बारे सोध्ने गरेका छन् । भर्खरै बाल मैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको गुराँस गाउपालिका –६ पिलाडीको आदर्श आधारभूत विद्यालय चौताराले विद्यालयमा नियमित नआउने बालबालिकाका अभिभावकलाई फोन गर्ने गरेको छ ।
तीन दिन भन्दा बढी विद्यालयमा उपस्थित नहुने बालबालिकाका अभिभावकलाई फोन गरी विद्यार्थी विद्यालयमा नआउनुको कारणबारे जानकारी लिदैँ आएको छ । दिनँहु जसो विद्यालय नआउने अभिभावकलाई फोन गर्दा विद्यार्थीको नियमितता बढेको आदर्श आधारभूत विद्यालयका प्रधानध्यापक योगेन्द्र रानाले बताउनुभयो । विपन्न समुदायका बालबालिका नियमित विद्यालय नआउने गरेकोमा उनीहरुलाई विद्यालय शिक्षामा नियमितता गराउन फोन गर्दा प्रभाकारी हुने रानाको बुझाई छ । विद्यालयमा अहिले विद्यार्थी भर्ना भन्दा पनि टिकाउन समस्या छ । आर्थिक तथा पारिवारिक समस्याका कारण अधिकाँश विद्यार्थी विद्यालयमा भर्ना भएपनि नियमित विद्यालय आउने गर्दैनन् ।
विद्यार्थी के कति कारणले कक्षामा नियमित उपस्थित हुँदैन्न भन्ने कुरा विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव विकले बताउनुभयो । ‘विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल गरेपछि समस्याहरुको पहिचान हुन्छ,’ विकले भन्नुभयो ‘समस्याको पहिचान भईसकेपछि शिक्षक अभिभावकको संयुक्त बैठकमा छलफल गरी समस्याको समाधानका लागि पहल गरिरहेका छौ, जसले गर्दा अहिले विद्यार्थीको नियमिततामा बृद्धि भएको छ ।’ विद्यार्थीको उचित हेरचाह र निगरानीले गर्दा अभिभावकहरुमा नीजि विद्यालय भन्दा सामुदायीक विद्यालय प्रति आकर्षण बढेको उहाँको भनाई छ ।
उक्त विद्यालयमा अहिले झण्डै १ सय ५० भन्दा बढी बालबालिका अध्ययन गर्दछन् । आदर्श आधारभुत विद्यालय मात्र नभई सोहि गाउपालिकाको वडा नं ३ को शान्ति माध्यामिक विद्यालयले पनि नियमित विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गर्ने गरेको विद्यालयका प्रधानध्यापक विष्णु शर्माले बताए । दलित तथा जनजाति बालबालिकाको बाहुल्यता रहेको उक्त विद्यालयमा विद्यार्थीहरु विगतमा नियमित विद्यालयन आउने समस्या रहेको थियो । ‘विद्यार्थी नियमित नआउने समस्याको समाधानका लागि अभिभावकलाई फोन गरेपछि अहिले विद्यालयमा विद्यार्थीको नियमितता बढ्न थालेको छ,’ प्रधानाध्यापक शर्माले भन्नुभयो । यस विद्यालयमा पनि तीन दिन नियमित विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गरी विद्यार्थी नआउनुका समस्याहरुको बारे पहिचान गर्ने गरिएको छ ।
अभिभावकलाई फोन प्राय ः कक्षा शिक्षकले गर्ने गरेका छन् । एक महिनामा अभिभावकलाई गरेको फोनको रेकर्ड विद्यालयमा राख्ने गरिएको छ । सबै भन्दा बढी फोन सम्पर्क गरी विद्यार्थीको नियमितताका लागि पहल गरिएका अभिभावकलाई व्यवस्थापन समितिको बैठकमा बोलाई छलफल गरिने गरिएको प्रधानाध्यापक शर्माको भनाई । अभिावकलाई फोन गर्दा लाग्ने खर्च विद्यालयको आन्तरिक श्रोतबाट व्यहोर्ने गरिएको छ । गुराँस गाउँपालिकाको वडा नं ६ लाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा संगै वडा नं ३ लाई पनि घोषणा गर्ने तयारी गरिएको छ । बालमैत्री स्थानीय शासन युक्त वडामा बालबालिका विद्यालय बाहिर हुन नहुने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष तथा बाल अधिकारकर्मी हिरासिंह थापाले बताउनुभयो । ‘शत प्रतिशत विद्यार्थी भर्नामा कुनै समस्या नभए पनि विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षाको समस्या कायमै छ,’ अधिकारकर्मी थापाले भन्नुभयो ।

प्रतिक्रिया