जनताको सक्रियताले पारदर्शिता बढ्यो

जनताको सक्रियताले पारदर्शिता बढ्यो

चुप्रा, दैलेख– बजेटको खर्च प्रणालीमा आएको सुधार र जनताको सक्रियताले सरकारी काममा पारदर्शिता बढ्दै गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखको आयोजनामा डुंगेश्वर गाउँपालिका वडा नं. १ बेलपाटामा भएको सेवाप्रदायक र सेवाग्राहीबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो सुनाएका हुन् ।
इन्सेकको इएलपी परियोजना अन्तरगत गएको भदौमा भएको एक कार्यक्रममा वडा नं. १ र ६ का जनप्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवाल सम्वन्धी जनाएका प्रतिवद्धतापछि व्यवहारिक परिवर्तन आएको सेवाग्राहीले बताए ।
त्यसबेला उठेको सवाल मध्ये विद्यालयमा कम्प्यूटर कक्षा सैद्धान्तिक पक्ष मात्र पढाइन्छ भनी समस्या दर्शाएका विद्यार्थीहरु अहिले विद्यालयमा कम्प्यूटर सम्वन्धी अभ्यास गर्न पाएको त्रिबेणीसंगम मावि चुप्राकी छात्रा टीका खत्रीले सुनाइन् ।
अन्तरक्रियाकै क्रममा डुंगेश्वर गाउँपालिका वडा नं. १ बेलपाटाकी मनकुमारी बिकले गाउँगाउँमा सिंहदरवार नारा लगाएर स्थानीय तहमा बजेट बढाएपछि सडक निर्माण, लक्षित समुदायको क्षमता विकास र सामाजिक विकृति बिरुद्ध सचेतना अभियान बढेका अनुभव सनाइन् । उनले भनिन् ‘हाम्रोमा गाडी छैनन् तर सडक पुगिसक्यो ।’
डुंगेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लोकबहादुर डाँगीले गाउँपालिकाको श्रोतले भ्याएसम्म निःशुल्क स्वास्थ्य सेवा, कृषिमा व्यवसायिकता, शिक्षाको गुणस्तर अभिबृद्धि गर्न लगानी गरिरहेको बताए । उनले भने ‘जनताको खवरदारीले हामीलाई उत्साह थपेको छ, पारदर्शिता पनि बढाएको छ ।’
मानवअधिकार निगरानी समूह बेलपाटाका सदस्य लक्ष्मी डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य संचिता बिक, सदस्यहरु प्रमिला सुनार, कमला केसी, चन्द्रबहादुर थापा, नेकपाका नेता श्याम राना, काँग्रेस नेता एकबहादुर राना लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र इएलपी परियोजनाको जिल्ला सहजकर्ता उदयबहादुर थापाले गरेका थिए । इन्सेकले इएलपी परियोजनाको कार्यक्षेत्र डुंगेश्वर गाउँपालिका वडा नं. ६ वडास्तरीय सेवाप्रदायक र सेवाग्राही अन्तरक्रिया कार्यक्रम शनिवार डुंगेश्वरमा गर्ने जनाइएको छ ।

प्रतिक्रिया