शान्ति सुरक्षा सहकार्यताबारे छलफल

शान्ति सुरक्षा सहकार्यताबारे छलफल

ज्वाला संदेश
डुङ्गेश्वर दैलेख –
माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीको शान्ति सुरक्षा प्रभावकारी बनाउन स्थानीयहरुको सहकार्यता बारे स्थानीय र प्रहरी चौकीबीच छलफल भएको छ । सहरी विकाससंगै युवाहरुमा लागू औषध दुव्र्यसनी र अनियन्त्रित मदिरा सेवन रोक्न मानव अधिकार निगरानी समूह डुङ्गेश्वरले आइतवार चौकी इञ्चार्जलाई भेटेर यस्तो छलफल गरेको हो ।
इएलपी कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवालमा डुङ्गेश्वर गाउँपालिकाले प्रवाह गरिरहेका सेवा सुविधाको गुणस्तर सुधार र जवाफदेहिता अभिबृद्धि विषयमा आपसी सहकार्यता अभिबृद्धिमा काम गरिरहेको मानव अधिकार निगरानी समूहले प्रहरीको सक्रियता बढाउन आग्रह गरेको हो ।
मानव अधिकार निगरानी समूह डुङ्गेश्वरका संयोजक पिपला शाही बुढाथोकीको नेतत्वमा पुगेको टोलीले माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीका कर्मचारीले लागू औषध दुव्र्यसनीमा लागेको युवाहरुलाई सुधार्न र मदिरा नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको थियो ।
टोलीको गुनासो सुनेपछि माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीका इञ्चार्ज सहायक इन्स्पेक्टर हरिराम शाहीले सुझावका धन्यवाद दिंदै प्रहरीको सेवामा सुधार ल्याउने प्रतिवद्धता जनाए । उनले गलत गरेका व्यक्तिलाई गिरफ्तार गरेको बेला स्थानीयले छुटाउन अनुचित दबाव दिने गरेको दुखेसो पोखे ।
महिला प्रहरी नभएको कारण महिला हिंसाका घटना लगायतमा पीडित भएका वा कुनै अरु घटनामा आरोपित महिलालाई गिरफ्तार गर्न वा छलफलमा सम्झाई बुझाई गर्न पुरुष प्रहरी कर्मचारी खटाउनु पर्ने बाध्यता भएको सहायक इन्स्पेक्टर शाहीले बताए । उनले भने ‘महिला प्रहरी नभएको कारण पनि महिला सवाल सन्तोषप्रद गराउन सकिएको छैन ।’
माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीले डुङ्गेश्वर गाउँपालिकाको वडा नं. ३, ४, ५, ६ पर्ने डाँडापराजुल, अवलपराजुल, बाले रेक्चा, गुराँस गाउँपालिकाको वडा नं. ४ बराह क्षेत्र, दुल्लू नगरपालिका वडा नं. १२ गौरी र १३ मालिकाको केही भाग समेत हेर्न एक सई, एक असई, दुई हवल्दार र ५ जना सिपाहीको दरबन्दी छ । यो चौकीले राजमार्ग सुरक्षा समेत चनाखो हुनुपर्ने जिम्मेवारी छ ।
सहकार्यता सम्वन्धी छलफल कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, इएलपी कार्यक्रम अन्तरगत गठित युवा समूहका संयाजक मनिषा केसी, महिला हिंसा बिरुद्धको अभियान डुङ्गेश्वरका अध्यक्ष अमृता भण्डारी समेतको उपस्थिति थियो ।

प्रतिक्रिया