स्थानीय तहको गाडी दुरुपयोग

स्थानीय तहको गाडी दुरुपयोग

शनिवार विहान दैलेख सदरमुकामको काँडाचौरमा सिक्नका लागि प्रयोग गरिँदै महाबु गाउँपालिकाको बा २ झ ४१५३ नम्बरको गाडी ।

हिक्मत नेपाली, दैलेख।
अधिकार सम्पन्न स्थानीय तहमा सवारी साधन खरिद गर्ने होडबाजी नै चल्यो । ११ वटा स्थानीय तह रहेको दैलेखमा अधिकाँश स्थानीय तहले सवारी साधन खरिद गरिसकेका छन् । खरिद गरिएका सवारी साधनहरु दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । नियमनकारी निकायले वास्ता नगरेका कारण समेत सरकारी नम्बर प्लेटका सवारी साधानको दुरुपयोग बढ्दै गएको छ । माघ १९ गते सार्वजनिक बिदाको दिन शनिबार विहान जिल्लाको महाबु गाउँपालिकाको गाडी सिक्नलाई प्रयोग गरिएको पाइएको छ ।

महाबु गाउँपालिकाको भर्खरै मात्र खरिद गरि ल्याइएको बा २ झ ४१५३ नम्बरको गाडी कार्यालयका कर्मचारी लगाएतले सिक्नका लागि प्रयोग गरेको पाइएको हो । शनिवार विहान दैलेख सदरमुकामको काँडाचौरको खुल्ला मैदानमा उक्त गाडी सिक्नका लागि प्रयोग गर्दै गरेको भेटिएको हो । यो प्रतिनिधीमुलक घटना मात्रै हो । यस्तै जिल्लाका अन्य सरकारी गाडी पनि दुरुपयोग भइरहेका छन् । नारायण नगरपालिका वडा नं। ११ को मोटरसाइकल दुरुपयोग भइरहेको छ । उक्त मोटरसाइकल स्थानीय एक विद्यालयका शिक्षकले चलाउँदै आएका छन् ।

महाबु गाउँपालिका अध्यक्ष जंग बहादुर शाहीले गाडी बिग्रीएको कारण ग्यारेजमा मर्मतका लागि लगिएको बताउनुभयो । उक्त गाडीको फोरविल भाँचिएको र ग्यारेजमा लगिएको अध्यक्ष शाहीको भनाई छ । बिग्रीएको गाडी काडाँचौरको खुला चौरमा सिक्नका लागि प्रयोग कसरी गरियो भन्ने पश्नमा उहाँले भन्नुभयो ‘गाडी बिग्रीएपछि बनाउन लगिएको हो, दैलेखमा गाडी मर्मत नहुँने भयो, बाहिर लैजानुपर्नेभयो ।’

सार्वजनिक बिदाको दिन शनिबार अत्यावश्यक परेमा जिल्ला प्रशासन कार्यालयबाट अनुमतीपत्र लिएर मात्रै सरकारी सवारी साधन चलाउन पाइने प्रावधान रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताउनुभयो । जिल्लाका सरकारी कार्यालयका सवारी साधनहरु दुरुपयोग नगर्न पटक–पटक आग्रह गरिरहेको बताउँदै सरकारी गाडी दुरुपयोग भएको पाईएमा पहिलो पटक दुरुपयोग नगर्न आग्रह गर्ने र पुःन दोस्रो पटक त्यसो गरेको पाईएमा सरकारी गाडी दुरुपयोग भएको बारे गृह र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पत्र पठाइने प्रजिअ बास्कोटाको भनाई छ ।

उहाँले जिल्लामा सार्वजनिक बिदाको दिन शनिबार प्रशासनबाट अनुमतिपत्र नलिकन कार्यालयको काम भन्दा व्यक्तिगत कामका लागि सरकारी सवारी साधन चलाएको पाइएमा नियन्त्रणमा लिन सकिने बताउनुभयो ।

प्रतिक्रिया