सार्वजनिक सम्पति सुरक्षा जरुरी – थापा

सार्वजनिक सम्पति सुरक्षा जरुरी – थापा

दैलेख माघ २० ।
कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले सार्वजनिक सम्पतिको सबैले सुरक्षा गर्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा बेलपाटामा भएको सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
प्रदेशसभा सदस्य थापाले कमाउनका लागि उपभोक्ता समितिका बस्न होडबाजी गर्ने, ठेकेदारले गुणस्तरहीन काम गर्ने र नेता कर्मचारीले घुस खाने प्रबृति नरोकिएसम्म सुशासन र पारदर्शिता नारामा मात्र सीमित हुने टिप्पणी गरे । सुशासनका निम्ति सबै इमान्दार हुनुपर्ने उनको सुझाव थियो ।
त्यस बखत इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले निरन्तर अभ्यास र खवरदारीले मात्र सुशासन र पारदर्शिता कायम गर्न सकिने बताए । उनले दैलेखका नागरिक समाज र जनप्रतिनिधिहरु दुबैको तत्परताले मानव अधिकार प्रवद्र्धनका काममा उल्लेख्य प्रगति भएको आफ्नो अनुभव सुनाए ।
कार्यक्रममा डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लोकबहादुर डाँगीले जनताको चेतनास्तर उठाउन इन्सेकले गरेको प्रयासले विकास कार्यक्रममा सहज भएको बताए । वडा नं. ६ का वडा सदस्य कलमबहादुर शाहीले इएलपी परियोजनाले सरोकार राख्ने शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवाललाई वडाको विकास कार्यक्रममा समेट्ने गरिएको प्रट्याए ।
उठेका प्रश्नहरुको जवाफ दिंदै डुङ्गेश्वर गाउँपालिकाका शिक्षा इकाई इञ्चार्ज शाखा अधिकृत इन्द्रप्रसाद उपाध्यायले विद्यालयमा कम्प्यूटर शिक्षा र आधुनिक प्रविधिको प्रयोग गरेर शैक्षिक गुणस्तर सुधारका प्रयत्न गरिरहेको बताए ।
मानव अधिकार निगरानी समूह बेलपाटाका सदस्य लता सुनारको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता उदयबहादुर थापाले कार्यक्रमको सहजीकरण गरेका थिए ।
इन्सेकको इएलपी परियोजना अन्तरगत डुङ्गेश्वर गाउँपालिका वडा नं. १ बेलपाटा र वडा नं. ६ डुङ्गेश्वरमा गठित मानव अधिकार निगरानी समूह, युवा समूह र बाल अधिकार चेतना समूहका पदाधिकारी, विभिन्न पेशा व्यवसायका व्यक्ति र सर्वसाधारणको कार्यक्रममा सहभागिता थियो । सहभागीहरुले जिम्मेवार निकायलाई प्रश्न जिज्ञासा र सुझाव दिएका थिए ।

प्रतिक्रिया