मेरी सोझी आमामाथि बुबाको दादागिरी

मेरी सोझी आमामाथि बुबाको दादागिरी

पुष्पा विष्ट

सोह्र वर्ष अगाडिको कुरा हो।म कक्षा छ पढ्थेँ। घरमा आमा रोइरहनु भएको थियो। दिदीहरू आमाको मलिन अनुहार नजिकै बसेका। ओल्लोपल्लो घरका बज्यैहरू कानेखुसी गर्दै थिए।घरमा सबै जना थिए, एक जनाबाहेक। त्यही दिन हराएको थियो त्यो व्यक्ति। वातावरण यस्तो थियो, घरमा भुइँचालो ल्याएर सदाका लागि हरायो।आमा क्षतविक्षत हुनुन्थ्यो। भुइँचालोपछिका भग्नावशेषले भनिरहेझैं लाग्थ्यो, ‘श्रीमानलाई खुसी बनाउन घरधन्दासँग पौठेजोरी खेलेको जस्तो सजिलो हुँदैन अस्तित्व जोगाउन।’

त्यो दिन हराएको मान्छे मेरा बुबा थिए। केही दिनपछि फर्किए। आमा झनै रुनुभयो। बज्यैहरू आमाको कर्मलाई दोषी देखाउँदै भन्न थाले, ‘तेरो भाग्यमा छोरा लेखेको भए उसले सौता ल्याउने थिएन।’ उनीहरू घर फर्केको मान्छेका पक्षमा बोलिरहेका थिए।यो सब मेरा लागि भने सामान्य थिए। सायद त्यति धेरै बुझिनँ। तर यसको छ महिनापछि एकाएक यति असामान्य भयो, हाम्रो भोक, निद्रा सबै हरायो।बिहानीपख। घरको आँगनमा दुइटी आमा एकआपसमा लडिरहेका। आमालाई जोगाउन दिदीले कान्छी आमालाई कुचोले हानिरहेकी।

झगडा देख्नेबित्तिकै पल्लो घरका ठूला बाहरूले हप्काउँदै बुबालाई भने, ‘कस्तो पागल रहेछ। दुवैलाई सम्झाउने पो हो त। जेठीलाई कुट्न सुहाउँछ?’उनीहरू बुबालाई ढोकाभित्र जान रोकिरहेका थिए। जुन ढोकाभित्र बुबाको कुटाइबाट जोगाउन आमालाई लुकाइएको थियो।

छ महिनाअघि आमाको अस्तित्वमाथि धावा बोल्दै कान्छी आमा भगाएर गायब भएका बुबा। त्यो दिन चैतको चर्को खडेरीमा अकस्मात आउने हावाहुरी र चट्याङभन्दा कम थिएनन्।आज म महशुस गरिरहेकी छु, त्यो दिन पक्कै आमाको होसहवास उडेको थियो। मुटुले ठाउँ छोडेको थियो। डरले ओठमुख सुकेर कलेटी परेको थियो। आमासँग आफू जोगिन दुई हातबाहेक केही थिएन। जसले प्रतिकार गर्न झिनो प्रयासबाहेक अरु केही गर्न सक्थेनन्।

आमाका त्यसपछिका वर्ष सौता र सौतालाई वैधानिकता प्रदान गर्ने सामाजिक संरचनाको हेपाइमा बिते। सौतेनी आमाको छोरा पनि दुई वर्ष भइसक्यो।घरमा श्रीमान र सौताको चुरिफुरि ज्यामितीय दरले बढेपछि आमा दुःखी चलचित्रको निरीह पात्र जस्तो हुनुभो। एकपछि अर्को गर्दै आइरहने हरेक महिनाले २५ दिन हाम्रो घरमा आमाबुबाका लागि झगडा गर्न छोडेर गएका दिन जस्तो लाग्थ्यो। हरेक रातको झगडापछि हामी घर उताको जंगलमा रुखका हाँगा चहार्दै हिँड्यौं। कतै आमा हाँगामा झुन्डिनु भएको त छैन? मनले भयानक प्रश्न गरिरहन्थे।

मनभरि पीडा र आँखाभरि डर बोकेर आमा खोज्न हिँडेका हामी रुखको हाँगामा डरको पहाड बिराजमान देख्थ्यौं। रातभर आमा घरमा नहुँदा आतंकित भएका हामी बिहान चुल्होमा बलेको आगो देखेपछि आमा जिउँदै भएकोमा विश्वस्त हुन्थ्यौं।पुस महिनाको एक बिहान।

खाली खुट्टामा च्यातिएको पछ्यौरी ओडेर आमा बुबासँग छुट्टिएर बस्न मानो चामलको भाग मागिरहनु भएको थियो। बिहान गयो। दिन ढल्कियो। आमाको माग सुनुवाइ भएन।छिमेकी बाजेको आँखा सायद आमामाथि परेछ। बाजेको आग्रहका कारण आमाले बुबाबाट (अर्काकी जैरे छोरीलाई पनि भाग दिनपर्ने भन्दै) केही पाथी चामल, केही टुक्रा जमिन र एक कोठे खरले छाएको घर पाउनुभयो।

जेठी दिदीको बिहे केही समयअघि भइसकेको थियो। आमाले हामी चार बहिनीलाई बाढीपीडितले राहत पाउँदा लगाउने जस्तो अनुहार लगाएर त्यही घरमा भित्र्याउनु भयो। ढुंगे घर चलन बढेका बेला बेवास्तामा परेको खरे घर। जीर्ण भए पनि आमालाई सहारा दिनै भनेर प्रतीक्षामा बसेको थियो सायद। घरको काम र सौताको पीरले थिचिएकी आमा र साउन-भदौरे झरीले थिचिएर बसेको त्यो घर। उस्तै उस्तै लाग्थे।

हेपाइको चुटाइले दुवैका अनुहारमा मुजा परेका थिए। जब वर्षा र शिशिर ऋतु आउँथ्यो तब घर आमाभन्दा अब्बल देखिन्थ्यो। आमाले उसको लागि केही गर्न नसके पनि ऊ आमाका लागि उहाँ सुतेको बिस्तारासम्म पुगेर पानी र शीतका थोपाले तिर्खा मेटाउन सक्षम थियो।

घरको सामर्थ्य कति थियो भने, हामी छुट्टिँदा बुबासँगै बसेकी बज्यै पनि बिरामी भएपछि उसैको शरणमा आइनपुग्नुभो। बज्यैलाई आमाले गरेको घरेलु उपचारले छोएन। बाहिर लगेर उपचार गर्न सक्ने अवस्थै थिएन। बज्यै नाजुक हुनुभो। हामीसँग आएको एक वर्षमै बज्यैको दिमागले काम गर्न छोड्यो। कोपरामा गरेको दिशापिसाबले भुइँ लिप्न थाल्नुभो। हाम्रो सुताइ, खुवाइमा खुब सकस भयो। सकसमै अभ्यस्त हुन थाल्यौं। करिब दुई वर्ष अचेत अवस्थामा रहेकी बज्यैसँग बितायौं।२०६७, वैशाख।

बज्यैको मृत्यु भयो। कान्छी आमा महिनावारी भएकोले आमाको किरीया गर्न नहुने भन्दै बुबा बसेनन्। कान्छा बाजेका छोरा किरीया बसे। हामीले भने महिनावारी बार्न छोडेका थियौं। बाँकी जिम्मेवारी आमाले पूरा गर्नुभो।वैशाख १४ गते बज्यैको किरीया सकियो। १५ गतेदेखि मेरो १२ कक्षाको परीक्षा सुरु भयो। त्यसबीचमा अर्की दिदीको पनि बिहे भयो।

म परीक्षा दिन जानुको अघिल्लो साँझ आमाले भन्नुभो, ‘अब केही समयपछि खोला खेतको रोपाँइ सुरु हुन्छ। अनि वर्षा लाग्छ। बज्यैको झैं घरको छानोको पनि आयू सकियो। हामीलाई ओत दिन नसके यो त हामीलाई हेरेर रोला! हामी कसलाई हेरेर रुने? कानका गहना बेचेर भएनि घर बनाऊँ छोरी।’

बिहान-बेलुका हामीसँग कम, धुँवासँग बढी साक्षात्कार गरेका कापीकिताब निस्सासिएर भाग्न तयार थिए। सुत्ने ठाउँ साँघुरो हुँदा खुट्टा सिधा गर्न नपाइने। भएको पिठो चामललाई छानोको पानीले नछाड्ने। यस्ता कुराले आमाको घर बनाउने कुरामा सहमत हुन बाध्य बनायो।आमाका गहना १४ हजारमा बेच्यौं। २–४ वटा बाख्रा बेच्यौं। घर बनाउने डकर्मी खोज्यौं। यो टुंगो भएपछि म परीक्षा केन्द्रतिर लागेँ।‘बीचमा हुने दुई-तीन दिनको बिदामा घर आउनू है। सबै लागेर ढुंगा बोक्नुपर्छ,’ जानेबेला आमाले भन्नुभो। आमा हामीलाई पनि जिम्मेवारी बाँड्न खोज्दै हुनुहुन्छ भन्ठानेँ। ‘हुन्छ’ भनी बाटो लागेँ।

त्यो बेला मेरा दुइटा परीक्षा सँगै भए। एउटा आमाले दिनुभएको जिम्मेवारीको, अर्को मेरो कक्षागत। कक्षागत परीक्षा चाँडै सकिएको थियो, तै म त्यसैमा फेल भएँ। घरको भने पास। त्यसपछि आमाले पूरा गर्दै आएका हरेक जिम्मेवारीमा मेरो सहयोगी भूमिका रह्यो।गाईगोठसहित तीन कोठाको घर बन्यो। छानो बिनाको। माटोको पिटुवा। त्यही दिन हो आमा खुट्टा तन्काएर सुत्नुभएको, जुन हामी हरेक दिन स्कुलमा व्यायाम गर्दा गर्थ्यौं। अभावमा रुझेको जीवन चिसो मौसममा खुम्चिएको जुका जस्तो हो, तै पनि त्यो दिन आमाको शरीर फुर्तिलो थियो।

स्वामित्व बिनाको जग्गामा आफैं जोतिएर उब्जाएको अन्न र केही पाठा बाख्राले म र दुई बहिनीलाई पढाउनुभो। उहाँको यो क्षमता उजागर गर्न सायद त्यही घटनाले सञ्जिवनी बुटीको काम गर्यो कि?हाम्रो हुर्किँदो उमेरसँगै आमाप्रतिको हाम्रो ढाडस बढेको थियो। बुबा र सौतेनी आमाको हेपाइमा अलि बाधा हुँदै थियो। उनीहरू अझै तिखो प्रहार गर्थे। छोराको घमण्डले सगरमाथाको यात्रा तय गर्थ्यो। अनि आमालाई ‘छोरा पाउन नसक्ने अपुतालीको के छ र? सबै छोरीको बिहेपछि घरको पाल्तु कुकुर्नी न हो। जति पौठेजोरी खेलेनी त्यही माटोसँग खेल्ने न हो,’ भन्दै पाताल छिराउने प्रयास गरे।

संयोगले भनौं, सामाजिक संस्कारको कोर्रामा हुर्किएकी मैले दिदीहरू र आमाको सहमतिमा अन्तरजातीय बिहे गरेँ। मेरो बिहे उनीहरूका लागि २४० भोल्टको करेन्ट बन्यो। हाम्रोसामु ‘शिर ठाडो गर्ने हैसियत नभएको डुम’ सँग बिहे गरेकोले मलाई ‘त्यो मरी’ भनी घोषणा गरे। घरमा मेरो आगमनपछि बौलाहा भए। जथाभावी बोल्दै हिँडे। मलाई घरबाहिर बसाल्ने योजना बनाए। असफल भए। अनि आमा र बहिनीलाई समाजबाट अलग्याउने योजनामा समाजको पूरै शक्ति परिचालन भयो।राती-राती घर-घरमा बैठक बसे। सडे-गलेको विषाक्त मानसिकता सय डिग्रीको तापक्रममा उम्लिएको दूध झैं भुलुकभुलुक थियो। जातीय विविधताले प्रदान गरेको सौन्दर्यलाई पूरै अस्वीकार गरे। विविधता विभेद बन्यो। हरेक जातिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको उपहास भयो।

समाजको नियमबाहेक अरु केही थाहा नभएको भन्दै आमालाई बसाइबाट एक्ल्याउने कुरा फलाकिरहे। सामाजिक कुरितिको बिस्तारामा कुम्भकर्णको निद्रामा रहेकाहरूको बर्बराई चलिरह्यो। जातीय संकिर्णताको पर्खाल जोगाउन हारगुहार रोकिएको छैन। आमाले छोरा पाउन नसकेको र मैले अन्तरजातीय बिहे गरेको निहुँमा आमाछोरीलाई एउटै गोलीबाट दुई शिकार गर्न खोजियो।

यो सबै स्थिति र आमाले आजसम्म हामीप्रति गरेको लगानीले हामीलाई हाम्रो अस्तित्वतर्फ मोडायो। बिना गल्ती सामाजिक संस्कारको नाममा जिउँदै मर्नपरेका पलको याद दिलायो। बारी जोत्ने बेला आफूले पनि नजोतिदिने र जोत्न आउनेलाई नि खुट्टा काटिदिने भन्दै आमालाई जथाभावी गरेका गालीको स्मरण भयो। गाली सहन नसकेर डाँको छाडेर एकोहोरो रोइरहेकी आमालाई सान्तवना दिन म आफैंले हलो जोत्न परेको दिनका सम्झना भयो।

हत्केलामा अस्तित्व राखेर जिन्दगीको उकाली-ओराली अहोरात्र गरिरहने आमाका अनुहारमा परेका मुजा न्यायका लागि म्याराथनमा देखिए। आमाले कमाई खाएको जमिन पनि उहाँको नाममा नभएको। विकल्प कानुनी उपचार थियो।ढोका नजिकको सरकार। जनताबाट निर्वाचित जनप्रतिनिधि। भनेको काम छिनमै हुने। अझ भनौं सिंहदरबार घर–घरमा। यति धेरै नामको उपमायुक्त कार्यालयले हामीहरू सम्पत्तिका अंशियार भएको सिफारिस गरिदिन आनाकानी गर्यो। बुबालाई बोलाएर हामीबीच छलफल गरायो।

छलफलमा ‘यिनीहरू डाका हुन्। मेरो सम्पत्ति बेचेर भाग्न खोजेका छन्। यस्लाई बुढिएर मर्ने बेला तरुनी भएर पोइल जान मन लागेको छ। लालपूर्जा नामको कागजको खोस्टा चाटेर खान्छौ? जग्गा चाहिएको हो भने मेरी आमाको काजकिरीया, पालनपोषण म गर्छु भनी वकिलसँग कागज गरा, अनि दिन्छु’ भन्दै रिसले दाह्रा किटिरहे।

उक्त कुरा बोलिरहँदा बज्यैलाई बुबाले गरेको व्यवहार खुब याद आयो। कानुन कार्यान्वयन गराउने निकायमा बिराजमान महोदय कानुनभन्दा व्यवहारिक कुरा गर्नमा व्यस्त। त्यो पनि बुबाको पक्षमा।

‘घरबाट निकालेका त छैनन् नि! दुइटा बिहे सबैले गर्छन्। मिलेर बसेको राम्रो। आखिर गाउँको सम्पत्ति कति नै हुन्छ र? भोलि अरुले बाउसँग मुद्दा लडेर अंश लगे भनेर कुरा काट्छन्,’ जस्ता वाक्य फलाकिरहे।

सरकारी प्रतिनिधि भएर त्यति भनिरहँदा कुर्सीको उपहास भयो कि भएन? त्यसको हेक्का राख्ने फुर्सद सायद महोदयलाई भएन। अघिल्लो दिन आफ्नो क्षेत्र-अधिकारभित्र नपर्ने भन्दै गाउँपालिका पठाउने वडा कार्यालय, त्यसको भोलिपल्ट मन्त्रालयको परिपत्र र त्यसले निर्धारण गर्दिएको वडाको क्षेत्र-अधिकारको फोटोकपी टेबलमा राखेपछि सिफारिस दिन बाध्य भयो।

अदालतले कमजोर आर्थिक अवस्था हुनेलाई कानुनी सहायताको लागि वैतनिक वकिल व्यवस्था गरेको छ। त्यो सहयोगको लागि वडाको सिफारिस चाहिन्छ। निवेदन गर्दा वडाले दिन मानेन। ‘मुद्दा लड्नेले आफ्नै खर्चमा लडे भैगो नि’ भन्ने जवाफ पाइयो।

हामी सबै कुराको चाँजोपाँजो मिलाई अदालत आउने तयारीका साथ साँझको खाना खाएर सुतेका थियौं। रातको १० बजे हाम्रो घरमा आएका पाहुनालाई लिएर बुबाको घरबाट हाम्रो गाली-बेइज्जती सुरु भयो। त्यसको १० मिनेटपछि हामी सुतिरहेको घरको ढोका फोडेर आमालाई ‘खुँडाले काटेर मारिदिन्छु’ भन्दै कुट्न थाले। त्यसको प्रतिरोध गर्दा सबैमाथि कुटपिट भयो।

भोलिपल्ट प्रहरी कार्यालयमा निवेदन दियौं। पर्सिका दिन छलफल भयो। तर बुबाको दादागिरी अलिकति कम भएन। न्यायका लागि वकिल कहाँ पुग्यौं। वकिलहरू ‘बुबाको नाममा मुद्दा!’ भन्दै अचम्म मान्छन्। जिल्ला समन्वय समितिका प्रतिनिधि न्यायको कम बुबासँग अलग्गिएर बाँच्दा हुने कठिनाई बढी दोहोर्याउँछन्।

हामी छोरी मान्छेले जीवनमा जे आउँछ चुपचाप सहनुपर्ने हो? समाजमा अघि सरेर कुरा गर्न नसुहाउने हो? ‘ठूलो स्वरले बोले राम्रो नहुने’ जस्ता अनेक कुरा भन्दै तालिमप्राप्त पृत्तिसत्तात्मक सामाजिक संरचनाले चारैतिरबाट सांघातिक हमला हुन्छ। यो छिचोल्दै कसरी न्यायको ढोकासम्म पुग्न सक्छन् महिलाहरू? सम्पत्ति, सामाजिक र सांस्कृतिक अधिकारबाट उपेक्षित महिलाका लागि अधिकार उपभोग फलामको चिउरा चपाउनु जस्तै नभए के हो? संकुचित सांस्कृतिकस्तरको जगमा ठडिएको समाजको कुन कुनामा छ अधिकार? कहाँ छ त्यो लेखिएको कागज? के त्यसले आत्महत्या गरिसक्यो ? setopati .

प्रतिक्रिया