संरक्षणको पर्खाइमा ठाटीकाँधका ऐतिहासिक पर्यटकीय क्षेत्र

संरक्षणको पर्खाइमा ठाटीकाँधका  ऐतिहासिक पर्यटकीय क्षेत्र

पंखबहादुर शाही, दैलेख
स्थानीय निर्वाचनका बेला विभिन्न राजनीतिक दलका प्रमुखहरुले मददाता आफ्नो पक्षमा तान्न निकै जोडबल गरे । निर्वाचनमा ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा निर्वाचित धिर बहादुर शाहीले विशाला बहाकोट विजारे हुँदै ठाटीकाँध गाउँपालिका बजार सम्म केबुलकारको सपना देखाए । त्यसबेला चुनावी अपिल मार्फत सार्वजनिक गरिएको केबलकार निर्माण दुई बर्ष बित्नै लाग्दा समेत कुनै सुरसार हुन सकेको छैन् । निर्वाचनमा स्थानीय नागरिकहरुले देखेको केबरकारको सपना पुरा हुने छाटगाँठ देखिएको छैन् । त्यति मात्र होइन् यहाँ रहेका पर्यटकीय स्थलको संरक्षण, प्रर्वद्धन र प्रचार प्रसारका लागि प्राप्त बजेट विनियोजन नभएको स्थानीयको भनाई छ ।
गाउँपालिकामा समृद्धिका आधार पर्यटकीय स्थल भनिएपनि पर्यटनका लागि बजेट विनियोजन नगरिनु, बजेट विनियोजनको रकम मन्दिर निर्माणमा खर्च गरिनु विडम्बना जस्तै भएको ठाटिकाँध गाउँपालिका स्थायीबासी महेन्द्र बहादुर रावतले बताउनुभयो । ठाटिकाँध गाउँपालिका विजारे चौर, ठुली छहरी, मालिका मन्दिर, भिमपाइला, मदानताल, नाके गुफा लगायतका पर्यटकीय स्थलहरु अहिले संरक्षणको पर्खाइमा छ । गत आर्थिक बर्ष ०७४/०७५ मा पर्यटन प्रर्वद्धनका लागि छुट्याएको बजेटले वडा ६ मा मन्दिर निर्माण गरिएको वडाअध्यक्ष मनबहादुर सिजापतिले बताउनुभयो । ‘मन्दिर पनि पर्यटकीय स्थल हो,’ अध्यक्ष सिजापतीले भन्नुभयो ।
गत बर्ष पर्यटकीय क्षेत्रको संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार सँगै पर्यटन प्रर्वद्धनको प्राप्त बजेट विनियोजन गर्न गाउँपालिका पछि प¥यो । यस बर्ष पछि उस्तै भयो । समुन्द्रसतहीबाट २ हजार ३ सय अग्लो पहाडको थुम्कोमा रहेको बिजारे चौर संरक्षण सँगै पर्यटकको पर्खाइमा छ । कर्णाली राजमार्गबाट दायाँ रामघाट सिँगासैन सडक खण्डको १९ किलोमिटरमा पर्ने पर्यटकीय स्थल बिजारे चौर पर्दछ । नजिकै रहेको ठुलीछहरीबाट २० मिनेटको उकालो हिडेपछि चौर भेटिन्छ । बिजारेमा बर्षेनी दुई पटक मेला लाग्दछ ।


जिल्लामा पर्यटन प्रवद्र्धनको लागि पञ्चबर्षिय पर्यटन गुरुयोजना बनाएपनि बिजारे चौरलाई समेटिएको देखिदैन् । चौर ठाँटीकाँध गाउँपालिका –२ मा रहेको छ । पर्यटकीय स्थलको केन्द्रविन्दुमा रहेको चौर एयरपोर्टको र प्याराग्लाइडिङको लागि उपयुक्त मानिन्छ । आर्थिक वर्ष २०७०/०७१ मा भने पर्यटन मन्त्रालयको ७ लाख लगानीमा चौरसम्म जाने बाटोको ट्रायाक खोलिएको छ । तर आर्थिक वर्ष २०७१/०७२ मा मर्मतको लागि बजेट विनियोजन नगरिएको त्यहाँका बुद्धिजिवी प्रेमबहादुर रामजालीले बताउनुभयो । ‘हामीले पटक–पटक बजेट विनियोजनका लागि नेपालगञ्ज धायौं, कर्मचारीले हुन्छ भने तर बजेट विनियोजन भएन्,’ रामजालीले भन्नुभयो । सो वडामा धेरैजसो मगर बस्ति रहेकोले होमस्टे सञ्चालनका उपयुक्त मानिन्छ । बस्ती नजिकै तामाखानी छ । तत्कालिन समयमा बुढापाकाहरुले खानीबाट निकालेर बनाएको तामाका भाँडाकुडा स्थानीयले प्रयोग गर्दै आएका छन् । पहिरोले तामाखानी पुरिएकाले अहिलेसम्म उत्खनन्को पहल समेत थाल्न नसकिएको स्थानीयबासी बताउँछन् ।
पश्चिम दैलेखका अधिकाँश विद्यालयकोे शैक्षिक भ्रमणकोे प्रमुख रोजाई चौर रहने गर्दछ । बिजारे नजिकै महत्वपुर्ण मानिने धौलापडा गुफा र ठुली छहरी झरना र भिम पाईला जहाँ आधा दर्जन भन्दा बढी भिमका गुफा भएकोले पर्यटकको लागि बिजारे चौरलाई पश्चिम दैलेखको महत्वपुर्ण स्थानको रुपमा लिने सकिन्छ ।
स्थानीय चुनाव भएको करिब दुई बर्ष बित्न लाग्दा पनि स्थानीय सरकार भने पर्यटकीय स्थलबारे सम्पर्क बिहीन जस्तै छ । गाउँपालिका अहिलेसम्म पर्यटकीय क्षेत्रको लागि प्राप्त बजेट र संरक्षणमा ध्यान दिन नसकिएको गाउँपालिका सुचना तथा सञ्चार प्रविधि अधिकृत हरि बहादुर शाहीले बताउनुभयो । हामी अहिले विकास निर्माणमा लागेका छौ, पर्यटकीय क्षेत्रमा स्थानीय सरकारले कम चासो दिएको छ,’ उहाँले भन्नुभयो ।


पर्यटकीय स्थल भिमपाईला देखि धमकोटसम्म गाउँपालिकाले ८० लाख बजेट विनियोजन गरेको गाउँपालिका निमित्त प्रशासकीय अधिकृत दिपेन्द्र शाहीले बताउनुभयो । बिजारेलाई सडकले छोएपनि त्यहाँको लागि भनेर कुनै बजेट छुट्याईएको छैन् । आर्थिक वर्ष ०७४/०७५ मा ५५ लाख बजेट सोही सडकमा थियो । तर काम पुरा नहुँदा काम अनुसारको बजेट भुक्तानी हुन नसकेको उपभोक्ता समिति अध्यक्ष तथा बुद्धिजिवी प्रेम रामजालीले बताउनुभयो ।
तत्कालिन समयदेखिनै सो ठाउँको प्रसार–प्रचार गर्न विभिन्न ठाउँमा आवाज उठाउँदा पनि वेवास्ता गरिएकोले ओझेलमा रहेको स्थानीय अमरबहादुर शाहीले बताउनुभयो । कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही, पुर्व जलश्रोत राज्यमन्त्री विनोद कुमार शाह, पुर्व सांसद रंगबहादुर शाही, ठाटिकाँध गाउँपालिका स्थानीय बासिन्दा हुन् । तर अहिले सम्म कसैको पनि त्यहाँ ध्यान जान नसकेको स्थानीयको भनाई छ ।
गाउँमा गठित युवाक्लबले पर्यटकीय स्थलको प्रसार –प्रचारकोे लागी २०७० मा चौरमै जिल्ला स्तरिय क्रिकेट खेलुकुद आयोजना गरेको थियो । चौरको लेकवेशी एकता क्लबले जिल्ला स्तरीय क्रिकेटको आयोजना गरि प्रचार प्रसार सघाऊ पु¥याएको थियो । पर्यटकीय स्थानमा धेरै जसो खेलाडीले चौरको रौनकतामा रमाएका थिए भने कतिले चौरको प्रशंसा गरेका वागेश्वरी क्लवका अध्यक्ष भक्तबहादुर रोकायले बताउनुभयो ।
चौरको शिरमा अग्लो डाडाँ बिच गाईगोरु बाँध्ने गोठ र विचमै एउटा पोखरीले चौरको सौन्र्दयतालाई झल्काएको छ । ताल (खाल) नजिकै गएर तालमा हेर्दा उत्तरका तीनचुले हिमालमा परेका हिउँको थुप्रोलाई देखेर मनमोहक हुन्छन् । कतिपय गाई गोठालाहरु भने तालमै हेरेर विभिन्न खाले टिकाटिप्पणी समेत गर्दछन् । कतिपयले तालमै हेरेर तालबाट हिमाल कहाँ छ भनेर बाजी थाप्ने समेत गरेको स्थानीयबासी तारा शाहीले बताउनुभयो ।
चौरबाट अन्य पर्यटकीय स्थल पनि नजिकै रहेका छन् । दैलेखमा रहेका दुईवटा झरना मध्ये ठुली छहरी झरना जिल्ला सदरमुकामबाट १७ कोष चौरबाट १ किलोमिटर मुनि खोचमा रहेको छ । झरना नजिकै धौलापडा गुफा पनि रहेको छ । दैलेख जिल्लामा रहेका चारवटा तालहरुमध्ये क्षेत्र –२ मा रहेको मदानताल, गौँथली झरनामा पैदल यात्रा गरि सो चौरबाट ३ घण्टा समय लाग्छ भने नागे गुफा, वेहुली लेक, तिनचुले हिमाल रहेका छन् ।
बिजारे देखि बझाङ जिल्लामा रहेका सैपाल हिमालको दृश्य देख्न पाइन्छ । पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले २०६६ साल देखि पटक पटक दैलेख महोत्सव गरिएपनि पश्चिमका पर्यटकीय स्थलहरु भने प्रचार – प्रसारबाट टाढा रहेका थिए । महोत्सवमा दैलेख जिल्लाका पर्यटकीय स्थलमा रहेका पंचदेवल, वेलासपुर मन्दिर, पञ्चकोशी तिर्थस्थल, दुल्लुको नेपाली भाषाको पहिलो शिलालेख, पाथरनाउली पौवा लगाएतका क्षेत्रलाई चिनाए पनि पश्चिम दैलेखको ठाँटीकाँध गाउँपालिकमा रहेका पर्यटकीय स्थल गुमनाम नै रहे । बिजारे, तामाखानी, ठाँटीकाँध गाउँपालिकाका विभिन्न वडामा रहेका पर्यटकीय क्षेत्रको विकास, प्रसार–प्रचार र प्रर्वद्धनमा वडा तहको एक्लो प्रयासले भने सम्भव छैन् ।

प्रतिक्रिया