खानेपानी तथा सरसफाईको अवस्थामा सुधार ल्याइने

खानेपानी तथा सरसफाईको अवस्थामा सुधार ल्याइने

हिक्मत बहादुर नेपाली, दैलेख ।
दैलेखको नौमूले गाउँपालिका वडा नं। ३ द्धारीमा खानेपानी तथा सरसफाईको क्षेत्रमा सुधार ल्याइने भएको छ । कारियन रेडक्रसको सहयोगमा नेपाल रेक्रस सोसाइटी जिल्ला शाखा दैलेख मार्फत संचालन हुने सरसफाई, स्वच्छता तथा खानेपानी व्यवस्थापन परियोजनाले द्धारीका स्थानीय नागरिकहरुलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने भएको हो ।

आगामी तीन बर्ष सम्म संचालन हुने उक्त परियोजनाले समावेशी खानेपानी व्यवस्थापन तर्फ खानेपानीका आयोजना निर्माण र मर्मत सम्भार गर्नेछ । ‘परियोजना क्षेत्रको विस्तृत सर्वे गरेर कुन ठाउँका समुदायमा खानेपानीको समस्या छ, भन्ने बारे सम्भाव्यता अध्ययन गरिनेछ,’ परियोजना अधिकृत हिंरासिंह विश्वकर्माले भन्नुभयो ‘त्यसपछि मात्रै खानेपानी योजना संचालन हुनेछ,।’

विश्वकर्माका अनुसार परियोजनाले समावेशी सरसफाई तर्फ विद्यालय तथा समुदायमा शौचालय निर्माण, मर्मत सम्भार, जुठ्यान तथा गोठ व्यवस्थापन गर्नेछ । ‘यहाँ ९ वटा विद्यालय रहेको छ, परियोजना अधिकृत विश्वकर्माले भन्नुभयो ‘सरसफाईको अवस्था विश्लेषण गरि विद्यालयमा नयाँ शौचालय र भएकाहरुलाई मर्मत सम्भार र अति विपन्न घरपरिवारलाई शौचालय निर्माणमा सहयोग गर्ने परियोजनाको लक्ष हो ।’

उहाँका अनुसार लैगिक समावेशीकरण तर्फ महिला शसक्तिकरण र आयआर्जन र क्षमता अभिबृद्धिलाई समेटिएको छ । साथै सरसफाई अभियान, व्यवहार परिवर्तन र स्वास्थ्य शिविरहरु संचालन गरिनेछ । त्यसले सरसफाईको अवस्था सुधारमा महिलाहरुको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

परियोजनाले क्षमता अभिबृद्धि तर्फ तालिम तथा गोष्ठिको आयोजना गर्नेछ । विद्यालयहरुमा जुनियर रेडक्रस सर्कल बनाई तालिम तथा गोष्ठी संचालन गर्ने लक्ष लिइएको परियोजना अधिकृत विश्वकर्माले जानकारी दिनुभयो । परियोजनाले सरसफाई, स्वच्छता तथा खानेपानी व्यवस्थापनको क्षत्रेमा पहिलो बर्ष ८५ लाख ८ हजार ५ रुपैयाँ खर्च गर्ने विश्वकर्माले जानकारी दिनुभयो ।

सोहि परियोजना संचालनका लागि दैलेख सदरमुकाममा योजना तर्जुमा कार्यशाला सुरु भएको छ । दुई दिन सम्म चल्ने कार्यक्रममा नेपाल रेडक्रस, सामुदायिक विकास विभागका उप–निर्देशक तथा खानेपानी, सरसफाई तथा स्वच्छता महाशाखाका प्रमुख अमरमणी पौडेलले परियोजनाले स्थानीय समुदायका नागरिककोे बुझाईमा परिवर्तन ल्याउने बताउनुभयो । परियोजना निर्देशक बुुद्धिसागर श्रेष्ठले नेपाल रेडक्रस केन्द्रले ९० भन्दा बढि परियोजना संचालन गरेको बताउनुभयो । उहाँले दैलेखमा संचालन हुने परियोजनाले स्थानीय नागरिकहरुको सरसफाईमा सुधार ल्याउने र स्वच्छ खानेपानीको पहुँच पु¥याउने बताउनुभयो ।

कोरियन रेडक्रसका डेलिगेट सन्निले यो परियोजना सुरु गर्नका लागि ६ महिना लागेको बताउँदै ६ महिना पछि मात्रै परियोजना सुरु गर्न सफल भएको बताउनुभयो । कोरियामा खानेपानी सरसफाई स्वच्छता परियोजनाहरु नभएपनि नेपाल लगाएतका मुलुकमा संचालन गरेको दावी गर्नुहुँदै उहाँले नेपाली समाज सुधारको जिम्मेवारी आम नेपालीकै भएको धारणा राख्नुभयो । त्यसअघि कार्यशाला उद्घाटन गर्नुहुँदै दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटोले परियोजनाको तीन बर्षे अवधीमा गरिएका कामले समुदायमा सकारात्मक सुधार हुने अपेक्षा राख्नुभयो । उहाँले द्धारीका नागरिकहरुलाई शुद्ध खानेपानीमा पहुँच र सरसफाई अवस्था सुधार ल्याउन सहयोग पु¥याउने बताउनुभयो ।

नेपाल रेक्रस सोसाइटी जिल्ला शाखा दैलेखका सभापति खेमराज केसीले सदरमुकाम देखि टाढा रहेका ग्रामिण क्षेत्रहरु अझै पनि विकासबाट पछि परेको बताउनुभयो । रेडक्रसले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको स्मरण गर्नुहुँदै सभापति केसीले परियोजनाले स्वास्थ्य सरसफाई खानेपानीसँगै शिक्षामा पनि सहयोग गर्ने बताउनुभयो । रेडक्रस दैलेखका मन्त्री यामराज कटुवालले संचालन गर्नुभएको कार्यक्रममा उपसभापति भेष बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया