लालपुर्जा प्राप्तीको सहजिकरण गर्न पैरवी समिति

लालपुर्जा प्राप्तीको सहजिकरण गर्न पैरवी समिति

दैलेख– नारायण नगरपालिका –१ कुईकाना स्थित रातामाटेमा बसोबास गर्दै आएका लालपुर्जा विहिन सुकुम्बासी दलित बस्तीको समस्या समाधानका लागि पैरवी समिति गठन गरिएको छ । नारायण नगरपालिका वडा नंं. १ का वडाअध्यक्ष तिर्थंनारायण श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।

२०२८ साल देखि श्रीस्थान सामुदायिक वन उपभोक्ता समितिको क्षेत्राधिकारभित्र बसोबास गर्दै आएको भूस्वामित्व विहिन दलित समुदायको लालपुर्जा प्राप्तीका लागि पैरवी समिति गठन गरिएको हो । फियान नेपाल र स्थानीय खाद्य अधिकार संजाल नारायण नगरपालिका दैलेखद्धारा आयोजित रातमाटे भूमिहिन दलित बसतीो सवाला सम्बन्धि सरोकारवाला निकायको भूमिका र सवाल हस्तान्तरण कार्यक्रममा पैरवी समिति गठन गरिएको हो ।

नारायण नगरपालिका वडा नंं. १ का वडाअध्यक्ष तिर्थंनारायण श्रेष्ठको संयोजकत्वमा गठित समितिमा वडा सदस्य शान्ता रामजाली, वडा सदस्य रमेश केसी, स्थानीय खाद्य अधिकार संजालका यत्रराज थापा,पत्रकार विशाल सुनार, एभरेष्ट क्लबका उपाध्यक्ष दिपक केसी, श्रीस्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र बहादुर शारु, रातामाटे खाद्य अधिकार समुहका लिला नेपाली, र रामु नेपाली रहनुभएको छ ।

समितिले उक्त समुदायको लालपुर्जा प्राप्तीका लागि पैरवी गर्नेछ । समुदायको सवाल सम्बोधन गर्नका लागि नारायण नगरपालिका वडा नं. १ को वडा कार्यालयलाई हस्तान्तण गरिएको छ । कार्यक्रममा नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठले आफुले यस बिषयमा नगरसभा तथा नगरपालिकाका सबै महत्वपूर्ण बैठकहरुमा कुरा राखिरहेको बताउनुभयो । आफुले यस बिषयलाई गम्भिरतापूर्वक लिएको बताउदै श्रेष्ठले भन्नुभयो ‘सो वस्तिका नागरिकहरु ४७ बर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएका छन्, उनीहरुको बासस्थानको निश्चित व्यवस्थापन गर्ने दायित्व सरकारको नै हो ।’

सुकुम्बासी आयोग बन्ने र त्यहाँका नागरिकहरुको समस्या समाधान गर्न सहज हुनेमा उहाँको बिश्वास पनि छ । सो वस्तिमा रहेको खानेपानीको चरम समस्याका बिषयमा बोल्दै वडाअध्यक्ष श्रेष्ठले सहारे खानेपानीको काम जारी रहेको उल्लेख गर्दै बस्तीमा धारा जडानका लागि आफुले पहल गर्ने बताउनुभयो । लालपुर्जा विहिन सुकुम्बासी दलित बस्तीमा लालपुर्जा दिलाएरै छाड्ने उहाँको भनाई छ । सोहि अवसरमा फियान नेपालका क्षेत्रिय संयोजक सुरेश कुमार गौतमले दलित बस्तीको लालपुर्जा प्राप्तीका लागि सबैले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया