९२ हजार रोपनी जग्गा गुठीमा

९२ हजार रोपनी जग्गा गुठीमा

दैलेख फागुन १८– दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रमा रहेका धुलेश्वर, नाभिस्थान, श्रीस्थान, पादुका, महादेव गुठी बाहेक पोखरा, दुधेमालिका, रनुखान, बालेश्वर, बाणनगंगा, मथुरामाई, हनुमान, मालिका, श्रीमष्टा र तियाडि लगायतका साना गुठी रहेका छन् । सो गुठीले जिल्लाका साबिकका २५ गाविसमा रहेका खेत ३६ हजार २ सय ३ दशमलव ६९ रोपनी र पाखो ५६ हजार ३ सय १४ दशमलव ४ रोपनी गरी जम्मा ९२ हजार ५ सय १७ रोपनीजग्गा गुठीमा रहेको छ । यि गुठी जग्गालाई रैकर बनाउन माग गरिएको छ । दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीको नेतृत्वमा गएको एक टोलिले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पुर्णाकुमारी सुवेदीलाई गुठी जग्गालाई रैकर बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । विगत लामो समय देखि दुल्लूका विभिन्न क्षेत्रमा रहेका गुठी जग्गाका कारण सर्वसाधारण नागरिकले सास्ती खेप्दैै आएका छन् ।

गुठी जग्गालाई रैकर बनाउन माग
नगरप्रमुख भण्डारी सहित प्रतिनिधि सभा सदस्य राजबहादुर बुढा, प्रदेश सभा सदस्य शुशिल थापा पुर्व सांसद विनोद कुमार शाह लगायत नगरपालिकाका वडा अध्यक्ष सहितको टोलिले सुवेदीलाई भेटि दैलेखमा भएको गुठी जग्गाको अवस्था, समस्या र समाधानका उपायका बारेमा जानकारी गराएको थियो । दुल्लू क्षेत्रको ७५ प्रतिशत भू–भाग गुठीका नाममा रहेकाले राजश्व संकलन, सर्वसाधारण नागरिक लालपूर्जा विहिन हुदाँ बैंकिङ कारोवार लगायतका समस्याहरु झेल्दै आएको नगरप्रमुख भण्डारीले बताउनुभयो । लालपूर्जा महन्तको नाममा हुदाँ जग्गा उपभोक्ताहरुले गुठिको तिरो महङ्गो तिर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
गुठी जग्गाको समस्या समाधानका लागि सभापती सुवेदीलाई नगरपालिकाको तर्फबाट भण्डारीले ज्ञापन पत्रबुझाएका थिए । फरक–फरक जिल्लाका समस्याहरु एउटै नभएकाले दुल्लू क्षेत्रको गुठी जग्गाको समस्यालाई तत्काल समाधान गर्न कृषि तथा प्राकृतिक स्रोत समिति मार्फत प्रक्रिया अघि बढाईने सुवेदीलेको भनाई थियो । परम्परागत काल देखि चलि आएकापर्व, पूजा आजा, धर्म संस्कृतिको रक्षा र मन्दिर सञ्चालन तथा व्यवस्थापन गर्न ऐनमा अक्षयकोष सम्बन्धि व्यवस्था गर्नुपर्ने सुवेदीको आग्रह थियो ।
त्यसैगरी भण्डारीको नेतृत्वमा गएको टोलिले भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीसँग जग्गाको समस्या समाधानका लागि छलफल गरेको थियो । सचिव मैनालीले समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो पहल भएको र मन्त्री परिषदबाट गुठी ऐन स्विकृत हुन लागेकाले अब कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले जनताको पक्षमा थप कार्य गर्नुपर्ने बताए । संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिले गुठी ऐन पारितका लागि फागुन २१ गते संसदमा पेश गर्न लागेको उहाँले जानकारी गराउनुभयो । कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिका सदस्य राज बहादुर बुढाले दैलेखको गुठी समस्या समाधानका लागि प्रतिनिधि सभाको संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने बताउनुभयो ।

प्रतिक्रिया