विभेदको मारमा दलित

विभेदको मारमा दलित

५४ औँ अन्तराष्ट्रिय रंगभेद तथा जातिभेद उन्मूलन दिवसको अबसरमा दैलेख सदरमुकाममा निकालिएको ¥याली । तस्विर ः हिक्मत बहादुर नेपाली, दैलेख ।

हिक्मत बहादुर नेपाली
दैलेख, ८ चैत –
‘तिमीहरुको जागिर खाने जात होइन्, पढेर के गर्छौ, भन्द्र ग्र्रैहदलितहरु हेप्छन् । गुराँस गाउँपालिकाका युवा सुरेन्द्र नेपालीले आफुले भोगेको पीडा सम्झदै भने ‘दलित भनेर हेपिने कहिलेसम्म ।’ ५४ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातिभेद उन्मूलन दिवसको अबसरमा दैलेखमा आयोजित विचार विमर्शमा उनले भने ‘नेपालमा दलितको नाममा हेपिएकै थियाै, भारत लगाएतका खाडी मुलुकमा जाँदा पनि हेपिन छुटेन ।’
दैलेख नारायण नगरपालिकाका तुलाराम नेपालीको व्यथा पनि उस्तै छ । उनि भन्छन् ‘मेलापात होस् या खेताला बनेर रोपाईमा जाँदा दुई हात थापेर पानी खानुपर्छ ।’ ‘कुकुर बरु छुत भयो हामी दलितहरु अछुतको दर्जामा छौ,’ बर्षौ देखिको पिडा सम्झदै उनले भने । जिल्ला सदरमुकामको नारायण नगरपालिकाकी सृजना सुनारले आफ्ना पीडा सुनाउँदै भनिन ‘गाउँको स्कुलमा खाजा पकाउने जागिर खुल्यो, दलित भए एसएलसी पास चाहिन्छ भनियो, तर अहिले ८ कक्षा पास गरेकी ग्रैहदलितलाई जागरि दिइएको छ ।’ उनि जस्तै सोहि नगरपालिकाकी देवीसरा नेपालीले आफुले भर्खरै भागेको विभेद सम्झँदै भनिन ‘पानी छोएको भन्दै ग्रैह दलितले गाली गलौच गरे, प्रहरीलाई खबर गरेँ, प्रहरीले पनि वेवास्था ग¥यो ।’ उनिहरुजस्तै विचारविमर्शमा सहभागि दलित अगुवाहरुले कथित माथिल्लो जातका समुदायहरुको परम्परागत जातीय विभेदको सोच कायमै रहेकोले आफुहरू जातीय विभेदको मारमा परेको गुनासो गरेका छन् ।

५४ औँ अन्तराष्ट्रिय रंगभेद तथा जातिभेद उन्मूलन दिवसको दैलेख सदरमुकाममा आयोजित विचार विमर्शमा जातिय विभेदका विषयमा पश्न राख्नै एक महिला। तस्विर ः हिक्मत बहादुर नेपाली, दैलेख, रासस ।


विचार विमर्शमा कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाले दलित माथी हुने विभेद सामान्य मात्रामा कमी आएको भएपनि यसलाई समाप्त गर्नुपर्ने बताउनुभएको छ । ‘जातिय विभेद गर्नुहुँदैन भनेर संवैधानिक व्यवस्था छ,’ प्रदेश सभा सदस्य थापाले भन्नुभयो ‘जनप्रतिनीधि, सम्पूर्ण नागरिक मिलेर छुवाछुत र विभेद अन्त्यको बाटो खोज्नुपर्छ ।’ जातिय विभेद अन्त्यका लागि हरेक नागरिकलाई सचेत बनाउनुपर्ने उहाँको धारणा छ । ‘दलित हौ, हेपिएका छौ, भनेर नबस्नुस्, आफ्नो अधिकारको खोजी गर्नुहोस्,’ उहाँले भन्नुभयो ‘जातिय विभेद गर्नेलाई कानुनी छुट छैन् ।’ परम्पराबादी सोच र चिन्तनबाट अघि बढ्यो भने समाज परिवर्तन सम्भव नभएको उहाँको दाबी छ ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले मुलुकमा राजनीतिक क्रान्ति सकिएको बताउँदै अब हुँदा खाने र हुने खाने वर्गविचको खाडल पुर्नुपर्ने धारणा राख्नुभयो । दैलेखको चिया पसलमा दलित माथी भएको विभेद, दलितको मृत्यु हुँदा शंख बजाउन नदिएको घटनालाई सम्झदै जिसस प्रमुख थापाले ती घटना विरुद्ध भएका थुप्रै आन्दोलनले हालको परिवर्तन सम्भव भएको उहाँको जिकिर छ ।
नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले दलित अधिकारको लागि भएका थुप्रै आन्दोलनको प्राप्त उपलब्धी संस्थागत गर्न जरुरी रहेको बताउनुभयो । जातिय विभेद अन्त्यका लागि स्थानीय सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताउँदै प्रमुख खड्काले भन्नुभयो ‘दलित समुदायले विभिन्न पेशा व्यवसाय संचालन गर्नुहोस्, सेवा सुविधा राज्यले दिन्छ ।’ नारायण नगरपालिका दैलेखको आयोजना र स्थानीय तह दलित जनप्रतिनीधि मञ्च दैलेखको समन्वयमा आयोजित उक्त कार्यक्रममा नागरिक समाज दैलेखका अध्यक्ष खड्ग बहादुर सिजापतीले जातिय विभेद अन्त्य नभएसम्म नेपाली समाज रुपान्तरण हुन नसक्ने धारणा राख्नुभयो । कसैले कसैमाथी कुनै पनि बाहानामा विभेद गर्न नपाउने उहाँको भनाई थियो ।

५४ औँ अन्तराष्ट्रिय रंगभेद तथा जातिभेद उन्मूलन दिवसको दैलेख सदरमुकाममा आयोजित विचार विमर्शमा सहभागी दलित समुदायका नागरिकहरु । तस्विर – हिक्मत बहादुर नेपाली, दैलेख ।


दिवसका अबसरमा दैलेखका ११ वटै स्थानीय तहहरुमा जातिय भेदभाव तथा छुवाछुत समस्या समाधानका विषयक विचार विमर्श गरिएको छ । दैलेखमा पहिलो पटक स्थानीय तहनै आयोजक भएर दिवस मनाइएको स्थानीय तह दलित जनप्रतिनिधि मञ्चका जिल्ला संयोजक दिनेश बिकले बताउनुभयो । स्थानीय तहमा भएका कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्यहरुले सम्बोधन गर्नुभएको अधिकारकर्मी पत्रकार अमर सुनारले बताउनुभयो । उहाँका अनुसार गुराँस गाउँपालिकामा कर्णाली प्रदेश सभा सदस्य मीनासिंह रखाल, भैरबी गाउँपालिकामा हिमबहादुर शाही, भगवतीमाई गाउँपालिकामा धर्मराज रेग्मी, दुल्लू नगरपालिकामा सुशील थापाले कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो । बाँकी स्थानीय तहमा दलित अधिकारकर्मी र राजनीतिक दलका दलित भातृसंगठनका नेताहरु पुग्नुभएको थियो ।

प्रतिक्रिया