पीडितलाई वडाध्यक्षको धम्की !

पीडितलाई वडाध्यक्षको धम्की !

चैत १२, २०७५ सोमवार / अमर सुनार
दैलेख – यौन दुव्र्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका भैरबी गाउँपालिका–६ कुसापानीका ४९ वर्षीय शशीराम पुरीको बचाउ गर्दै आफूहरुलाई वडाध्यक्ष डिल्लीराम पुरीले धम्क्याएको पीडित पक्षले आरोप लगाएको छ ।
फागुन १९ गते घर नजिकै काउले डाँडाको खोल्सामा डालेघाँस काट्न मद्दतका लागि बोलाएर ४७ वर्षीया एक महिलालाई बलात्कारको उद्देश्यले जोरजुलुम गरेको विषयमा प्रहरी उजूरीका आधारमा फागुन २३ गते पक्राउ परेका आरोपितलाई जोगाउन वडाध्यक्षले प्रयत्न गरेको रमेश मगरले बताउनुभयो ।
वडाध्यक्ष पुरीले सुरुमा जिल्ला प्रहरी कार्यालयमा उजूरी आउन नदिन पनि दवाव दिएको र उजूरी दर्ता भइसकेपछि घरमा अनावश्यक तनाव दिने गरेको पीडित पक्षले बताएको छ ।
यही बिषयमा अहिले कोरियामा भएका आरोपितको जेठो छोरा रोज पुरीले यसको बदला लिने फेसबुकमा स्टाटस लेखेको समेत पीडित पक्षले जनाएको छ । रोजले फागुन २६ गते फेसबुकमा लेखेको स्टाटसमा ‘म फर्किएर आउदाँसम्म बाँचे, उल्टादिन गन्न मलाई नि आउँछ । बदला लिन्छु’ भनी खुला चुनौती दिएका छन् ।
‘बलात्कार भएको छैन, प्रयत्न मात्र गरेको रहेछ यसलाई यतै मिलाउन सकिन्छ भने मिलाऊँ भनेको चाहिं हो तर धम्क्याएको होइन’ वडाध्यक्ष पुरीले प्रतिक्रिया दिनुभयो ।
यसबारे सोध्दा जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले लिखित जानकारी आए कारवाही अगाडि बनाइने बताउनुभयो ।

प्रतिक्रिया