कर्णालीमा नदी शिखर सम्मलेन

कर्णालीमा नदी शिखर सम्मलेन

दैलेख-कर्णाली प्रदेशको आठबिस नगरपालिका–१ राकम कर्णालीको दैलेखमा तेस्रो नदी शिखर सम्मेलन हुने भएको छ । मुलुककै स्वच्छ र बहाव धेरै भएको कर्णाली नदीमा तेस्रो नदी शिखर सम्मेलन हुन लागेको हो । कर्णालीका जलाधार क्षेत्रलाई विभिन्न प्रदूषणबाट बचाउन, नदीको दोहन रोक्न तथा जलीय प्रणालीको सुरक्षाका लागि सचेतना फैलाउन शिखर सम्मेलन आयोजना गर्न लागेको हो । पछिल्लो समय कर्णाली नदीमा भएको दोहनका कारण निम्तिएको जलीय समस्यालाई मध्यनजर गर्दै, नदी सुरक्षाका लागि नदी शिखर सम्मेलन आयोजना हुन लागेको हो ।

नदी शिखर सम्मेलन कर्णालीमा तीन दिनसम्म सञ्चालन हुनेछ भने बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्मेलनको उपचारिक उद्घाटन पश्चात दैलेखको आठबिस नगरपालिकाको राकम कर्णाली क्षेत्रमा चैत १५, १६ र १७ गतेसम्म शिखर सम्मेलन गरिने नेपाल नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले बताए ।
उनका अनुसार सुर्खेतमा प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि तथा आगन्तुक पाहुनालाई आउन जान सहज हुने भएकाले उद्घाटनको कार्यक्रम राखिएको छ । त्यसपछि दैलेखको राकम कर्णालीमा गएर तीन दिनसम्म नदी व्यवस्थापनका बारेमा छलफल हुने उनले बताए । सम्मेलनले कर्णालीका जलाधार क्षेत्रको सुरक्षा तथा उपयोगिताका बारेमा घोषणापत्र जारी गर्ने भएको छ ।
जलाधार व्यवस्थापनका लागि कर्णाली घोषणापत्र जारी गर्दै तीन दिने शिखर सम्मेलन सकिने कार्यकारी निर्देशक खनालले बताए । शिखर सम्मेलनमा विभिन्न आठवटा थिममा रहेर पाँच दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् भने, सम्मेलनमा स्वेदशी तथा विदेशी जलविज्ञ, वैज्ञानिक तथा स्थानीय जानकार व्यक्तिले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।
सम्मेलनमा २ सय बढीको सहभागिता रहने छ । यसअघि दुईवटा नदी शिखर सम्मेलन भइसकेका छन् । विगतका सम्मेलनले जारी गरेको घोषणा पत्रबाट भएका उपलब्धिका बारेमा पनि यो शिखर सम्मेलनमा समीक्षा गरिने भएको छ ।
विशेषगरी संघीयता कार्यान्वयनसँगै स्थानीय तहबाट नदीको एकोहोरो दोहन भइरहेको छ । यो शिखर सम्मेलनले यसलाई निकै महत्वका साथ लिनेछ । स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकनलगायतका अध्ययन बिना नै नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवाको एकोहोरो दोहन गर्न ठेक्कापट्टा लगाउँदा देशभरका अधिकांश खोला, नदीनाला जोखिममा पर्दै आइरहेका छन् । जसले गर्दा जलाधार क्षेत्रहरू अव्यवस्थित बन्दै गएको छ भने स्वच्छ पानी बग्ने नदीहरू प्रदुषित हुँदै गएका छन् ।
विश्वमै दुर्लभ मानिएका जलचर तथा पानीमा आश्रित जलपंक्षीको बासस्थान दिनप्रतिदिन नासिँदै गएको विभिन्न प्रारम्भिक अध्ययनले देखाएको माछा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमालय रिर्सोसेस फाउण्डेसन नेपालका टिमलिडर डाक्टर कमल अधिकारीले बताए । उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने शिखर सम्मेलनमा दुई सयभन्दा बढी सरोकारवाला व्यक्तिको सहभागिता रहनेछ ।
सम्मेलनले कर्णाली नदीको अवस्थालाई विशेष महत्वका साथ उठान गर्ने भएको छ । कर्णाली नदीको वर्तमान अवस्थाबारे आएको प्रतिवेदनलाई कर्णाली प्रदेश सरकारलाई बुझाइने छ । यो सम्मेलनले कर्णाली प्रदेश सरकालाई समेत जलाधार क्षेत्रको सुरक्षाका लागि नदी दोहन रोक्न कदम चाल्न सहज हुने विश्वास गरिएको छ । नदी दोहनका कारण कर्णाली नदीमा पाइने विभिन्न जलीय प्राणी पछिल्लो समय लोपोउन्मुख अवस्थामा पुगेका छन् ।
मुलुककै जलस्रोत धनी कर्णालीमा लगानी नहुँदा यहाँका सम्भावना ओझेलमा परेको अवस्था छ । नदी शिखर सम्मेलनले कर्णालीका जलाधार क्षेत्रमा लगानीका क्षेत्रलाई स्पष्ट पार्दै प्रदेश सरकारको ध्यान केन्द्रित गर्ने लक्ष्य छ । पानीमा लगानी गरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरो नदी शिखर सम्मेलनले देखाउने विज्ञहरूको विश्वास छ ।

प्रतिक्रिया